काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । संस्थाको शुक्रबार सम्पन्न २४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष मोहनकुमार डाँगीसहितका पदाधिकारी तथा सदस्यहरूले आइतबार एक विशेष समारोहका बीच शपथ ग्रहण गरेका हुन् ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत चिरञ्जीवी खतिवडाले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरे । निवर्तमान अध्यक्ष गणेश कार्कीले खादा लगाएर नयाँ नेतृत्वलाई स्वागत गरे ।
शपथ ग्रहण लगत्तै निवर्तमान कार्यसमितिका पदाधिकारीहरूले नवगठित कार्यसमितिका सम्बन्धित पदाधिकारीहरूलाई संस्थाको लेटरप्याड हस्तान्तरण गरी औपचारिक रूपमा पदभार हस्तान्तरण गरे । संस्थाको विधानअनुसार डाँगी स्वतः अध्यक्षमा चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भए ।
नवगठित कार्यसमितिको उपाध्यक्षहरू उत्तरकुमार श्रेष्ठ, नरेन्द्र वल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, बलराम खतिवडा र प्रकाश दुलाल रहेका छन् । त्यसैगरी, महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) र उपमहासचिवमा कविता पोखरेल रहेका छन् ।
सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई, सुमन जोशी, कृष्णप्रसाद घिमिरे र दीपक पौडेल रहेका छन् । कोषाध्यक्षमा शङ्कर बस्याल छन् ।
कार्यसमिति सदस्यहरूमा जगतबहादुर पोखरेल, अनुप आचार्य, कदम केसी, वर्णन लामिछाने, नारायण कँडेल, मिलन खड्का, जगदीश शिवाकोटी, ज्योति गैरे, प्रतिमा ज्ञवाली, सङ्गीता धमला, सोमनाथ कँडेल, इन्दिरा पन्त, सन्तोषराज नेपाल, नारायण खनाल र बाबुराम थापा रहेका छन् ।
कार्यक्रममा निर्वाचनलाई निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने निर्वाचन अधिकृतहरू प्रवीण खरेल र रविनकुमार ढुङ्गाना तथा इपान सचिवालयका कर्मचारीहरूलाई समेत उनीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरियो ।
करिब ७ सय कम्पनी सदस्य रहेको इपानको यो अधिवेशनले निजी क्षेत्रका ऊर्जा उद्यमीहरूमा नयाँ उत्साह थपेको वक्ताहरूले बताएका छन् ।
पदभार ग्रहणपछि आयोजित समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले संस्थापक अध्यक्ष प्रभाकर राणासहित पूर्व अध्यक्ष तथा पदाधिकारीहरूको योगदानको स्मरण गर्दै संस्थालाई थप व्यवस्थित बनाउन ११ सदस्यीय सल्लाहकार समिति र ७ वटा विषयगत समिति गठन गर्ने घोषणा गरे ।
यस्तै, निवर्तमान अध्यक्ष गणेश कार्कीले आफ्नो कार्यकालमा पिपिए, आरसिओडी, वन क्षेत्रको जग्गा प्रयोग र कन्टिन्जेन्सी लगायतका जटिल समस्याहरू समाधानको चरणमा पुगेको जानकारी दिँदै आफ्नो कार्यकाललाई सफल बनाउन अहोरात्र खटिने सबैलाई धन्यवाद दिए र नयाँ नेतृत्वले सबैलाई समेटेर लैजाने विश्वास व्यक्त गरे ।
समारोहमा इपानका पूर्व अध्यक्ष कृष्ण आचार्यले विक्रम संवत् २०६८ सालमा निर्धारण गरिएको पिपिए दर हालसम्म पनि पुनरावलोकन नभएको तर विद्युत् प्राधिकरणले भने आफ्ना ग्राहकका लागि तीन पटकसम्म महसुल बढाइसकेको तर्फ ध्यानाकर्षण गराए ।
उनले ऊर्जा उद्यमीहरूमा सामूहिक सौदाबाजीभन्दा व्यक्तिगत सौदाबाजीमा लाग्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई तत्काल त्याग्नुपर्नेमा जोड दिए ।
संस्थाको इतिहास स्मरण गर्दै पूर्व अध्यक्ष खड्गबहादुर विष्टले इपान स्थापना र लोगो निर्माण गर्दाका क्षणहरू साझा गरे भने पूर्व अध्यक्ष सन्दीप शाहले ७ जना सदस्यबाट सुरु भएको संस्था आज ७०० को सङ्ख्यामा पुग्नुले यो क्षेत्रको तीव्र विस्तारलाई पुष्टि गर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले आफ्नो पहिलो चुनावी अनुभव सुनाउँदै सुधारका नयाँ योजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न आफू अध्यक्षको बलियो सारथि बन्ने र यो जिम्मेवारीलाई केवल एउटा पद नभएर ऊर्जा विकासको महत्त्वपूर्ण यात्राका रूपमा अगाडि बढाउने सङ्कल्प व्यक्त गरे ।
यसैगरी, कार्यसमितिका उपाध्यक्ष बलराम खतिवडाले चुनावका क्रममा केही असहमति र मतभेद भए तापनि अब ती सबैलाई थाती राखेर सम्पूर्ण ऊर्जा उद्यमीहरू एकढिक्का भई अघि बढ्ने प्रतिबद्धता जनाए ।