वर्तमान अवस्था
नेपाल प्राकृतिक स्रोत, विशेषगरी जलस्रोतको धनी राष्ट्र हो । पछिल्ला वर्षहरूमा नेपालको जलविद्युत् क्षेत्रले अभूतपूर्व प्रगति हासिल गरेको छ । देशमा उत्पादित विद्युत्ले आन्तरिक मागलाई पूरा गरेर छिमेकी मुलुकहरूमा निर्यात हुने चरणसम्म पुग्नु राष्ट्रिय अर्थतन्त्र, औद्योगिक विस्तार तथा ऊर्जा सुरक्षाका लागि एउटा ऐतिहासिक कोशेढुङ्गा हो ।
राष्ट्रिय गौरवका ठूला आयोजनादेखि निजी क्षेत्रको सक्रिय लगानीले देशको ऊर्जा क्षेत्रमा एउटा नयाँ तरङ्ग ल्याएको छ तर यो सफलताको चमकधमक र उत्पादित मेगावाटको तथ्याङ्क पछाडि एउटा यस्तो पाटो लुकेको छ, जसलाई राज्य र आम समाजले विरलै मात्र नियाल्ने गर्दछ ।
जलविद्युत् आयोजनाहरू केवल कङ्क्रिटका संरचना, टर्बाइन, र प्रसारण लाइन मात्र होइनन् । ती संरचनाहरूलाई आकार दिने, तिनको चौबीसै घण्टा रेखदेख गर्ने, मर्मतसम्भार गर्ने र देशलाई अन्धकारबाट जोगाएर उज्यालो छर्ने वास्तविक संवाहक भनेका हाम्रा युवा इन्जिनियर, प्राविधिक, अपरेटर, मेकानिक, इलेक्ट्रिसियन, सुपरभाइजर तथा अन्य प्राविधिक कर्मचारीहरू हुन् ।
आज नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू अत्यन्तै दुर्गम, विकट र कठिन भौगोलिक क्षेत्रमा अवस्थित छन् । यस्ता ठाउँहरूमा कार्यरत युवा जनशक्तिले आफ्नो उर्वर उमेर, सीप र श्रम देश निर्माणमा खन्याइरहेका छन् तर सेवा-सुविधाको अनिश्चितता, व्यक्तिगत जीवनको असन्तुलन र भविष्यको अन्योलताका कारण आज तिनै दक्ष बाैद्धिक युवा प्राविधिकहरू बिस्तारै देश छाडेर विदेश पलायन (ब्रेन ड्रेन) हुन बाध्य भइरहेका छन् । यो लेख तिनै युवा प्राविधिकहरूले भोग्नुपरेका गम्भीर समस्याहरू, दुर्गम क्षेत्रको जीवनको यथार्थ र उनीहरूको व्यक्तिगत जीवनमा परेको गहिरो असरका विषयमा केन्द्रित छ ।
मुख्य समस्या
नेपालमा प्राविधिक शिक्षा (सिभिल, मेकानिकल, इलेक्ट्रिकल, हाइड्रोपावर, अटोमेसन, इन्स्ट्रुमेन्टेसन र सूचना प्रविधि) हासिल गरेपछि देशमै केही गरौँ भन्ने दृढ इच्छाशक्ति र ठूलो सपना बोकेर युवाहरू जलविद्युत् क्षेत्रमा प्रवेश गर्दछन् । उनीहरूमा आफ्नै माटोमा बग्ने पानीबाट बिजुली निकालेर देशलाई समृद्ध बनाउने जोश हुन्छ तर कार्यक्षेत्रमा पाइला टेक्ने बित्तिकै उनीहरूले सोचेको आदर्श र भोगेको यथार्थबीच ठूलो खाडल देखा पर्दछ ।
१. सरकारी र निजी सुविधामा विभेद
नेपालको जलविद्युत् उत्पादनमा निजी क्षेत्रको हिस्सा ठूलो र महत्त्वपूर्ण बन्दै गएको छ । यद्यपि, सरकारी निकाय (नेपाल विद्युत् प्राधिकरण) मा कार्यरत कर्मचारीहरू र निजी क्षेत्रका आयोजनाहरूमा कार्यरत प्राविधिकहरूबीच सेवा, सुविधा, र सामाजिक सुरक्षाको क्षेत्रमा ठूलो विभेद छ । सरकारी क्षेत्रमा निश्चित सेवा सर्त, स्वास्थ्य बीमा, उपदान, सञ्चयकोष र भविष्य सुरक्षित हुने ग्यारेन्टी हुन्छ तर निजी क्षेत्रका धेरैजसो आयोजनाहरूमा श्रमको उचित मूल्याङ्कन हुँदैन । न्यूनतम पारिश्रमिकमा अत्यधिक काम लिनु, महँगी बमोजिम तलब वृद्धि नहुनु, र चाडपर्व वा बोनसको व्यवस्था नहुँदा युवाहरूमा तीव्र निराशा पैदा हुने गरेको छ ।
२. अवसर र अनिश्चितता
जलविद्युत् आयोजनामा काम गर्ने प्राविधिकहरूका लागि कार्यस्थलमै नयाँ प्रविधि सिक्ने, क्षमता अभिवृद्धि गर्ने र तालिम पाउने अवसरहरू अत्यन्तै सीमित छन् । वर्षौँसम्म एउटै पदमा, एउटै किसिमको काममा सीमित हुनुपर्दा उनीहरूको व्यावसायिक वृद्धि रोकिन्छ । निजी कम्पनीहरूमा स्पष्ट करियर विकास योजना (करिअर ग्रोथ पाथ) हुँदैन । कुन पदबाट सेवा सुरु गरेको व्यक्ति कति वर्षमा कुन तहमा पुग्छ भन्ने कुराको कुनै सुनिश्चितता नहुँदा युवाहरू आफ्नो भविष्य अन्धकार देख्छन् ।
'जलविद्युत् विकासको वास्तविक सफलता केवल उत्पादन भएको मेगावाटको सङ्ख्यामा मात्र होइन, बरु त्यो मेगावाटलाई सम्भव बनाउने मानिसहरूको जीवनस्तर र उनीहरूको कार्यसन्तुष्टिमा मापन गरिनुपर्छ ।'
३. जोखिमको न्यून मूल्याङ्कन
जलविद्युत् क्षेत्र आफैँमा एक संवेदनशील र जोखिमपूर्ण क्षेत्र हो । उच्च भोल्टेजका उपकरण, भूमिगत सुरुङ, भिरालो भूगोल, बाढीपहिरोको जोखिम र ठूला मेसिनरीहरूसँग चौबीसै घण्टा जुध्नुपर्ने हुन्छ तर धेरैजसो आयोजनाहरूमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको व्यावसायिक स्वास्थ्य र सुरक्षा (अकुपेशनल हेल्थ एन्ड सेफ्टी–ओएचएस) को उचित प्रबन्ध हुँदैन । कार्यस्थलमा भवितव्य दुर्घटना भएमा उपचार र परिवारको सुरक्षाका लागि पर्याप्त बीमा वा सामाजिक सुरक्षाको अभाव छ । जोखिम बढी तर सुरक्षा र कदर कम हुने भएपछि युवाहरू यस क्षेत्रमा लामो समय टिकिरहन सक्दैनन् ।
४. दुर्गमको जीवन
जलविद्युत् आयोजनाहरू प्रायः सहर र सुविधायुक्त ठाउँभन्दा धेरै टाढा, हिमालको फेदी, विकट खोँच वा नदी किनारमा हुन्छन् । यस्तो ठाउँमा बस्दा युवा प्राविधिकहरूले निकै कठिन व्यक्तिगत र सामाजिक जीवन बिताउनुपर्ने हुन्छ ।
५. आधारभूत पूर्वाधारको अभाव
आयोजना स्थलहरूमा राम्रो सडक सञ्जाल, यातायातको साधन, स्तरीय स्वास्थ्य चौकी र गुणस्तरीय सञ्चार (इन्टरनेट र मोबाइल नेटवर्क) को ठूलो अभाव हुन्छ । बिरामी पर्दा सामान्य सिटामोल वा प्राथमिक उपचार पाउन पनि घण्टौँ हिँड्नुपर्ने वा गाडी कुदाउनुपर्ने अवस्था छ । सञ्चार सुविधा कमजोर हुँदा हप्तौँसम्म परिवारसँग राम्ररी कुरा गर्न नपाउने परिस्थिति बन्दछ, जसले उनीहरूलाई आधुनिक संसारबाट अलग्गिएको महसुस गराउँछ ।
६. पारिवारिक तथा सामाजिक दूरी
जलविद्युत् क्षेत्रका कर्मचारीहरूले चाडपर्व, विवाह, व्रतबन्ध, वा पारिवारिक सङ्कटका बेला पनि कार्यस्थल छाड्न पाउँदैनन् । २४सै घण्टा उत्पादन निरन्तर राख्नुपर्ने दबाबका कारण उनीहरूले वर्षौँसम्म आफ्ना बुबाआमा, श्रीमती, र छोराछोरीसँग टाढा बस्नुपर्छ । आफ्ना साना नानीबाबुहरू हुर्किएको, बुबाआमा बिरामी परेको बेला उपस्थित हुन नपाउँदा उनीहरूमा एउटा गहिरो मानसिक चोट र अपराधबोध पैदा हुन्छ । बिस्तारै उनीहरूको सामाजिक सम्बन्धहरू टुट्दै जान्छन् र उनीहरू समाजबाट एक्लिँदै जान्छन् ।
७. मानसिक स्वास्थ्य
एउटै सीमित घेराभित्र, उही मानिसहरूसँग, उही प्रकृतिको काम वर्षौँसम्म गर्दा कार्यस्थलमा अत्यधिक एकाङ्कीपन र दिक्दारीपन पैदा हुन्छ । मनोरञ्जनका साधनहरूको अभाव र परिवारसँगको दूरीले गर्दा युवा प्राविधिकहरूमा मानसिक तनाव, चिन्ता र डिप्रेसन जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्याहरू देखिन थालेका छन् । कार्यस्थलमा मानसिक स्वास्थ्यलाई सहयोग गर्ने वा काउन्सिलिङ गर्ने कुनै संयन्त्र नहुँदा धेरै युवाहरू भित्रभित्रै गुम्सिएर बस्न बाध्य छन् ।
८. शिक्षा र परिवार व्यवस्थापनको चुनौती
विवाहित युवा प्राविधिकहरूका लागि दुर्गममा परिवार राख्ने कुनै वातावरण हुँदैन । न त्यहाँ बालबच्चा पढाउने राम्रो विद्यालय हुन्छ, न त परिवारका लागि उपयुक्त आवास र स्वास्थ्य सुविधा । परिणामस्वरुप, उनीहरूले दोहोरो खर्च गरेर परिवारलाई सहरमा राख्नुपर्ने हुन्छ, जसले आर्थिक भार थप्नुका साथै दाम्पत्य जीवन र पारिवारिक सुखमा ठूलो खलल पुर्याउँछ ।
पलायनकाे बाध्यता
नेपालका युवा प्राविधिकहरूमा देशप्रेम र राष्ट्रभक्तिको भावना कमजोर छैन । उनीहरू देशभित्रै पसिना बगाउन चाहन्छन् र नेपालको जलस्रोतको माध्यमबाट देशलाई समृद्ध बनाउने सपना देख्छन् तर जब श्रमको उचित मूल्य र सुरक्षित भविष्यकाे प्रत्याभूति पाउँदैनन् अनि दुर्गममा हाडछाला घोटेर पनि समाज र कम्पनीबाट सम्मान पाउँदैनन्, तब उनीहरूको मन परिवर्तन हुन थाल्छ ।
विदेश (जस्तै; युरोप, अमेरिका, अस्ट्रेलिया वा खाडी मुलुकहरू) मा प्राविधिक जनशक्तिको सीपको कदर, उच्च पारिश्रमिक, स्पष्ट कार्य समय, व्यक्तिगत जीवनको सम्मान, गुणस्तरीय स्वास्थ्य र सामाजिक सुरक्षाको ग्यारेन्टी हुन्छ । जब नेपालमा कार्यरत प्राविधिकले आफ्ना सहपाठीहरू विदेश गएर गुणस्तरीय जीवन बिताइरहेको र आफ्नो भविष्य सुनिश्चित गरिरहेको देख्छन्, तब उनीहरूमा देशमा बसिरहनुको औचित्यमाथि प्रश्न उठ्दछ । तसर्थ, युवा प्राविधिकहरूको विदेश पलायन रहर होइन, यहाँको प्रणाली र उपेक्षाले सिर्जना गरेको एउटा गम्भीर बाध्यता हो ।
युवालाई स्वदेशमै टिकाउने रणनीति
नेपालको जलविद्युत् क्षेत्रलाई दीर्घकालीन रूपमा सफल, दिगो र समृद्ध बनाउने हो भने मेगावाट बढाउने दौडसँगसँगै मानव संसाधनको विकास र उनीहरूको जीवनस्तर सुधारमा तत्काल कदम चाल्नुपर्छ । यसका लागि निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ:
निष्कर्ष
देशलाई उज्यालो बनाउने जनशक्तिको जीवन अन्धकारमा राखेर देश कहिल्यै समृद्ध हुन सक्दैन । नेपालको जलविद्युत् क्षेत्रको विकासमा युवा प्राविधिकहरूको रगत र पसिना मिसिएको छ । उनीहरूमा देशमै बसेर काम गर्ने तीव्र इच्छा हुँदाहुँदै पनि प्रणालीगत कमजोरी र उपेक्षाका कारण उनीहरू विदेश पलायन हुन बाध्य छन् ।
यदि समयमै यी दक्ष युवाहरूको आवाज सुनिएन र उनीहरूको व्यक्तिगत तथा व्यावसायिक जीवनमा सुधार ल्याइएन भने आगामी दिनमा नेपालका जलविद्युत् आयोजनाहरू चलाउने दक्ष जनशक्तिको ठूलो अभाव हुनेछ । जलविद्युत्को सफलता केवल मेगावाटमा होइन, त्यसलाई सम्भव बनाउने मानिसहरूको जीवनस्तरमा पनि मापन गरिनु पर्छ । तसर्थ, राज्य, विद्युत् प्राधिकरण र निजी लगानीकर्ताहरू मिलेर युवा प्राविधिक अनुकूल नीति र वातावरण निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो ।