काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान तथा नेपाल सरकारको लगानीमा निर्माण हुने ३१५ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन मध्ये लट–२ र ३ मा पर्ने दुई ओटा खण्ड निर्माणका लागि बिहीबार ठेक्का सम्झौता भएको छ । प्रसारण लाइन अन्तर्गत लट–२ मा पर्ने रातमाटे–न्यू दमौली ९० किलोमिटर प्रसारण लाइन निर्माणका लागि एन्जेलिक–स्किप्पर जेभीसँग ७ करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता भएको हो ।
त्यस्तै, लट–३ अन्तर्गत पर्ने न्यू दमौली–न्यू बुटवल ९० किलोमिटर प्रसारण लाइन निर्माण गर्न नेपाली निर्माण कम्पनी वाइबा–सालासार जेभीसँग ७ करोड ७० लाख ३० हजार डलरमा सम्झौता भएको हो ।
दुवै खण्ड गरी कुल १५ करोड ४५ लाख १० हजार अमेरिकी डलरमा १८० किलोमिटर लाइन निर्माण गरिने भएको हो । सम्झौता पत्रमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दुवै खण्डका प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण र सञ्चालनलगायतका काम ठेकेदार कम्पनीले ४२ महिनाभित्र पूरा गर्नुपर्ने छ ।
यी दुई खण्डका प्रसारण लाइनका निर्माणका लागि गत मंसिर र फागुनमा बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाइएको थियो । प्रक्रियामा छनोटमा परेका कम्पनीसँग सम्झौता गरिएको हो ।
सम्झौता कार्यक्रममा एमसिए–नेपालका अध्यक्ष घनश्याम उपाध्यायले नेपालको बढ्दो विद्युत् निर्यातले विद्युत्को थप उत्पादन तथा प्रसारण पूर्वाधारको विस्तार अपरिहार्य बनेको बताए । देशको आर्थिक विकासका लागि ऊर्जा विकास महत्त्वपूर्ण भएको भन्दै उनले यो सम्झौता मात्रै नभई समयमै गुणस्तरीय प्रसारण पूर्वाधार निर्मायाको प्रतिबद्धता समेत भएको बताए ।
उपस्थित एमसिसीका कार्यवाहक उपाध्यक्ष जाने विङ्गलले सम्झौतामा हस्ताक्षर गरी एमसिसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनःपुष्टि गरेको बताए । उनले भने, ‘नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआबद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।’
कार्यक्रममा अमेरिकी राजदूतावासका कार्यवाहक दूत ज्यासन मिक्सले प्रसारण लाइन परियोजनाको विकासले नेपालको विद्युत् ग्रिडलाई स्थायित्व प्रदान गर्दै आर्थिक विकासमा सघाउने बताए । यस्तो सहकार्य रातारात सम्भव नहुने भन्दै लामो प्रयासपछि सहकार्यमा अघि बढेको प्रसारण लाइन परियोजना निर्माणको सम्झौताले आफूलाई खुसी तुल्याएको बताए ।
एमसिए नेपालका कार्यकारी निर्देशक विष्टले एमसिसी कम्प्याक्टलाई अघि बढाउन अमेरिकी सरकारबाट निरन्तर सहयोग प्राप्त भइरहेकोले आजको उपलब्धि प्राप्त भएको बताए । परियोजनाको सफल कार्यान्वयनका लागि एमसिए नेपाल केन्द्रित भएको पनि उनले बताए ।
कार्यक्रममा ठेकदार कम्पनी एन्जेलिक–स्किप्परका प्रतिनिधि सुरेश कान्तले ४२ महिनाको म्याद रहेको यो ठेक्का अनुसारको प्रसारण लाइन निर्माण समयमै सक्ने प्रतिबद्धता व्यक्त गरे । उनले ६ महिनाभित्र ठेक्का प्रक्रिया पूरा हुनु पनि खुसीको विषय भएको सुनाए ।
अर्को ठेकेदार कम्पनी वाइबा–सालासारका प्रतिनिधि एमडी लामाले हालसम्म आफूहरूले सबैजसो निर्माण ठेक्का समयमै पूरा गरेको बताउँदै यो आयोजना पनि समयमै सक्ने प्रतिबद्धता जनाए । उनले नेपालको भन्सार ऐनलाई परिमार्जित गरी सहज बनाउन सके यस्ता परियोजना निर्माणका लागि सामान तथा उपकरण समयमै ल्याउन सकिने र समयमै पूरा गर्न सकिने पनि बताए ।
नेपाल सरकारले नेपालको लगानी १३ करोड अमेरिकी डलर लगानी र एमसिसिको ५५ करोड अमेरिकी डलर अनुदानमा निर्माण हुने परियोजना कार्यान्वयनका लागि विकास समिति ऐन, २०६३ अन्तर्गत २०७५ साल वैशाख ५ गते एमसिए–नेपाल स्थापना गरेको थियो ।
११७ किलोमिटर खण्डको ठेक्का सम्झौता दुई साताभित्र
परियोजना अन्तर्गत बन्ने कूल ३१५ किलोमिटर प्रसारण लाइन मध्ये १८ किलोमिटर लामो न्यू–बुटवल–भारतीय सीमासम्मको प्रसारण लाइन बनाउन २०८० भदौ १४ गते भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । १ करोड २३ लाख ६० हजार अमेरिकी डलरमा उक्त ठेक्का लागेको थियो ।
त्यस्तै परियोजना अन्तर्गत बन्ने ३ वटा सबस्टेसन निर्माणको समेत ठेक्का सम्झौता भइसकेको छ । यी सबस्टेसन ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस) प्रविधिमा आधारित हुने छन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा रातमाटे सबस्टेसन, तनहुँमा नयाँ दमौली सबस्टेसन र नवलपरासी पश्चिमको भुमहीमा नयाँ बुटवल सबस्टेसन निर्माण गरिनेछ । निर्माणाधीन प्रसारण लाइन काठमाडौँको लप्सीफेदी र मकवानपुर जिल्लाको नयाँ हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणका विद्यमान सबस्टेसनहरूसम्म जोडिने छन् ।
आयोजना अन्तर्गत अब लप्सिफेदी–हेटौँडा ११७ किलोमिटर लामो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता हुन बाँकी छ । यो खण्डको ठेक्का समेत अबको करिब २ साताभित्र गरिसक्ने गरी तयारी अघि बढेको एमसिए नेपालका कार्यकारी निर्देशक विष्टले जानकारी दिए ।