म अर्थात्
एउटा अर्को उत्तरआधुनिक
अभागी युवा श्रवणकुमारको
असामयिक अप्रत्याशित मृत्युको
अकल्पनीय शोकको घडीमा
अन्धाअन्धी वृद्ध बाबु–आमाको
अभागी अदृश्य आँखाहरूको
नाकेडाँडाको भिरालो बाटो हुँदै
अविरल सम्झनाको पीँधमा
एकोहोरो टोलाउँदै बसिरहेको
बाल्यकालीन स्मृतिलाई चिहाउँदै
साउने झरी बनेर झरेसँगै
भू–माफिया र दलालहरूको
गिद्दे नजर मैमाथि परेसँगै
हेलिएर नैतिकताको आचरणले
सधैँका लागि जीवन–सागर तरेससँगै
बाँकी रहेको मानवीय ईमानले नै
मसँग पटक–पटक बेइमानी गरेसँगै
सोच्दै नसोचिएका मान्छेहरू समेत
दुनियाँको नजरबाट कसिङ्गर भै झरेसँगै
दायाँबायाँ, तलमाथि जरैदेखि खनीखोस्री
मलाई पूरै रित्याएर आफ्नै भुँडी भरेसँगै
अमानवीय ध्याउन्नमा मानवता मरेसँगै
विवेकशील स्वभावले आफ्नो बसाइँ सरेसँगै
नयाँ सिसिफसको पुरानै नियति बेहोर्दै
अहिलेसम्म पनि उसैगरी जसोतसो
आँधीखोला उकालोमै बगिरहेछु !
उहिल्यैदेखि
अविरल बग्ने क्रममा
सधैँ–सधैँका लागि
छेकिएपछि सीमा ओरालोको
देखिएपछि मान्छेहरूको
सुन्दर अनुहारभित्रको
घिनलाग्दो कुरूप चरित्र
भावीद्वारा मेरै फराकिलो निधारमा
लेखिएपछि दुर्भाग्यको महाभारत
आफू बग्ने धर्मको मूल मर्मलाई
मर्न नदिएर अहिलेसम्म अकालमै
असङ्ख्य अभागी आँखाहरूको आँसु
अर्थात्, म आँधीखोला उकालोमै बगिरहेछु !
समाहित भएर मभित्रै
सधैँ सँगै बग्ने बहानामा
चुपचाप आएर मिसिएका छन्
असङ्ख्य खहरे र भेलहरू
र, सधैँका लागि छोडेर गएका छन्
मेरा पृथक पाइलैपिच्छे भीषण पहिरोसँगै
छिचोलेर कहिल्यै नसकिने गेग्र्यानको थुप्रो !
आँधीखोले ओरालोको
साच्चिँकै सजिलो मूलबाटो छेकेर
तार्सेभीरको टोपी खस्ने उकालोमा
आफू हिँड्ने वैकल्पिक बाटो बनाउँदै
चालेर आजीवन पृथक पाइलाहरू
मलाई एक्लो वृहस्पतिको रूपमा
सधैँभरिका लागि सबैको अगाडि
ध्रुवसत्य– झुटो प्रमाणित गराउँदै
आजीवन एक्लै हिँड्न बाध्य बनाउने
सदैव स्पष्ट देखिने गहुँगोरो अनुहारका
अदृश्य उ‘कालो’ मन भएका
कपटीहरूको कपटपूर्ण व्यवहारकै कारण
म अर्थात् आँधीखोला
उकालै–उकालो बगिरहेको छु !
ओरालोलाई चटक्कै बिर्सिएर
त्यसपछि सधैँ–सधैँका लागि
उकालोको अफ्ठ्यारो बाटो हुँदै
अविरल एक्लै बग्नुपर्दाको
अकल्पनीय अप्रत्याशित पीडा
सहनै नसकिने परिस्थितिमा पनि
सहनुको असह्य पीडा
अहिलेसम्म मलाई जत्ति
अरू कसलाई परेको होला ?
अविरल दुई आँखाको बाटो हुँदै
अरू कुन खोला झरेको होला ?
मसँगै बगिरहेको अविरल आँसुको अर्थ
अरू कुन खोलाले पो बुझेको होला ?
अहिलेसम्म आफू एक्लै बसेर एकान्तमा
हरेक पल कुन खोला रुझेको होला ?
चालेर पृथक पाइलाहरू
आफू हिँड्ने वैकल्पिक बाटो
बनाउने अलिकति पनि ठाउँ
बाँकी नरहेको अवस्थामा
आइपुगेपछि बाध्यतामै सही
असङ्ख्य सूर्यहरूको असीमित अँध्यारोमा
स्वयम् आफुभित्रको सीमित उज्यालो बालेर
आँधीमुहानदेखि डहरैडहरको छेउ हुँदै
देउरालीको साँघुरो बाटोमा एक्लै हिँडेर
एउटा अर्को अन्त्यहीन आँसुको शृङ्खला
आँधीखोला उकालै–उकालो बगिरहेछु !
– करादीखोला, स्याङ्जा
यो कविता २०८१ साल पुसमा प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाको ७औँ अङ्कबाट साभार गरिएको हो ।