विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । देशमा राजनीतिक आन्दोलन चलिरहँदा आयोजनाका बाह्रबिसे नगरपालिकामा निर्माण भएको आयोजनाका कर्मचारीले नियमित काम गरी परीक्षण सफल पारेका हुन् । नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको आयोजनाले १५ दिन अघिदेखि परीक्षण थालेको थियो ।

आयोजनाको प्रवर्द्धक मध्य–भोटेकोसी जलविद्युत् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले आयोजनाको ३ वटै युनिटको परीक्षण सफल भएको ऊर्जा खबरलाई जानकारी दिए । आयोजनामा ३४ मेगावाट क्षमताका ३ वटा युनिट छन् । 

‘आन्दोलनको अघिल्लो दिन म साइड गएको थिएँ’ शिवाकोटीले भने, ‘आयोजनाको हामीले विभिन्न चरणको परीक्षण गर्दै थियौँ, देशभर आन्दोलन चलिरहे आयोजनाको काममा कुनै अवरोध नआएकोले आयोजनाका परीक्षणहरू पूरा गरेका छौँ ।’ 

उनका अनुसार आयोजना, बाह्रबिसे सबस्टेसन, खिम्ती–बाह्रबिसे प्रसारण लाइनलगायत सबै पूर्वाधार र उपकरणको परीक्षण सफल भएको छ । आइतबार कार्यालय खुलेपछि प्राधिकरण, न्यू खिम्ती सबस्टेसन, बाह्रबिसे सब स्टेसनसँग समन्वय बैठकपछि नियमित उत्पादन सुरु गर्ने तयारी रहेको उनले बताए ।

३ वटै युनिटको सफल परीक्षण गरेर ग्रिड समेतको परीक्षणपछि अब आयोजनाको १५ दिनको परीक्षण उत्पादन सुरु हुने छ । परीक्षण उत्पादनका क्रममा १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएपछि व्यावसायिक उत्पादन सुरु हुनेछ । आयोजनाको विद्युत् खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने बाह्रबिसे–३ पतालीमा रहेको बाह्रबिसे सबस्टेसनमा जडान गरी राष्ट्रिय ग्रिडमा प्रवाह गरिने छ । 

खिम्ती–बाह्रबिसे ४०० केभी ४० किलोमिटर र चाकु–बाह्रबिसे २२० केभी ४ किलोमिटर प्रसारण लाइनको परीक्षण समेत सफल भइसकेको छ । बाह्रबिसे–काठमाडौँ ४०० केभी प्रसारण लाइन र लप्सीफेदी सबस्टेसन पूरा नभएका कारण बाह्रबिसे–खिम्तीबाट न्यू खिम्ती ग्रिड हुँदै खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमाफत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न लागिएको हो । 

तामाकोसी–बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन आयोजनाले ४००÷२२० केभी सबस्टेसन समेत निर्माण गरेको छ । बाह्रबिसे सबस्टेसनका इन्जिनियर सुरज बराइलीले सबै परीक्षण पूरा भएकाले अब परीक्षण उत्पादनको पर्खाइमा रहेको जानकारी दिए । 

न्यू खिम्ती ग्रिड प्रमुख मनोजकुमार साहले खिम्ती–ढल्केबर प्रसारण लाइनबाट अहिले ८०० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको र थप १०२ मेगावाट पनि यसैबाट प्रवाह हुने बताए । अहिलेकै अवस्थामा १ हजार २०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनको क्षमता भएको उनले बताए ।

आयोजनाको निर्माण २०७० सालबाट सुरु भएको थियो । २०७३ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि ९ वर्ष ढिलो गरी आयोजना पूरा भएको हो । आयोजना सुरु भएपछि २०७१ को जुरे पहिरो, २०७२ वैशाख १२ गतेको भूकम्प, त्यही वर्षको असोजदेखि भारतले लगानीको ५ महिना लामो नाकाबन्दी, बाढी, पहिरो, कोरोना महामारीका कारण लगाइएको ‘लकडाउन’ लगायत विविध कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो । ढिलाइ हुँदा आयोजनाको निर्माण लागत २० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

आयोजनाको लट १ को सिभिल र हाइड्रोमेकानिकलको ठेक्का चिनियाँ कम्पनी ग्याङ्सी हाइड्रोइलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोसँग इपिसी मोडेलमा २०७० पुस १७ गते सम्झौता भएको हो । आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको ठेक्का सम्झौता एन्ड्रिज हाइड्रो प्रालि भारतसँग २०७१ असार २६ गते भएको थियो । त्यसैगरी आयोजनाको विद्युत्‌गृहदेखि बाह्रबिसे सबस्टेसनसम्म ४ किमी २२० केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माणका लागि ऊर्जा एसी जेभीसँग २०७५ साउन ११ गते ठेक्का सम्झौता भएको थियो । लट १ र २ को ठेक्का ढिला भएकाले लट ३ को ठेक्का सम्झौतासमेत ढिलो भएको थियो ।  

चीनको सीमा भोटेकोसी गाउँपालिका चाकुमा बाँध तथा बाह्रबिसे नगरपालिकाको जम्बुमा विद्युत्‌गृह रहेको आयोजनाको सुरुङ ७.५ किमी रहेको छ । गत वर्ष सुरुङमा पानी पठाएपछि चुहिएकाले मर्मत गरिएको थियो । सुरुङमा पानी चुहिएकै कारण मर्मतमै एक वर्ष धकेलियो ।

नदी प्रवाहमा आधारित (आरओआर) उक्त आयोजना सुरु गर्ने समयमा १२ अर्ब ३३ करोड २८ लाख लागत अनुमान गरिएको थियो । तोकिएको समयमा आयोजना पूरा गरेर विद्युत् उत्पादन गर्न नसक्दा प्रवर्द्धक कम्पनीले दैनिक ५० लाख रुपैयाँभन्दा बढी ऋणको ब्याज मात्र तिरिरहेको छ । लगानी बढेकाले प्रतिमेगावाट विद्युत् उत्पादन लागत २१ करोड नाघ्ने अनुमान गरेको छ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गरी विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । वार्षिक ५४ करोड २२ लाख विद्युत् उत्पादन हुने लक्ष्य रहेको आयोजनाबाट वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ ।

प्रवर्द्धक कम्पनीमा ५१ प्रतिशत संस्थापक सेयरधनी मध्ये चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रो पावर लिमिटेडको १–१ प्रतिशत प्रतिशत सेयर स्वामित्व छ । 

त्यस्तै, ४९ प्रतिशत साधारण सेयर मध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर लगानी छ । कम्पनीमा साधारण लगानीकर्ता १० लाख ७५ हजार जना रहेका छन् । कम्पनीको सेयर पुँजी ६ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३