काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको मन्त्रिपरिषद्मा सामेल हुने ३ जना मन्त्रीहरूको नाम टुङ्गो लगाएकी छन् । जसअनुसार कानुनसहित गृह मन्त्रालयको जिम्मेवारीमा ओमप्रकाश अर्याल, अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिने निर्णय भएको हो ।
यसमध्ये अर्याल काठमाडौँ महानगरपालिकाको कानुनी सल्लाहकारका रूपमा कार्यरत कानुन व्यावसायी हुन् । अर्थविद्का रूपमा परिचित खनाल तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेट निर्माणमा कुरा नमिल्दा अर्थ सचिव पदबाट राजीनामा दिई सरकारी सेवाबाट बाहिरिएका थिए ।
घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व-कार्यकारी निर्देशक हुन् । दुई कार्यकाल प्राधिकरणको नेतृत्व सम्हालेका उनलाई लोडसेडिङ अन्त्य गरेको जस दिने गरिन्छ ।
प्रधानमन्त्री कार्कीले सरकारमा सामेल हुने मन्त्रीहरूको नाम आइतबार राती नै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको स्रोतले जानकारी दिएको छन् । राष्ट्रपति कार्यालयमा सोमबार तीनै जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउने तयारी गरिएको बताइएको छ ।