काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने कार्यलाई औपचारिकरूपमा अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले 'नेपाल राजपत्र'मा सूचना प्रकाशित गर्दै 'पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२' जारी गरेको हो ।
स्वदेशी कच्चा पदार्थमा आधारित भई इथानोल उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्ने, मुलुकभित्र रोजगारी सिर्जना गर्ने र पेट्रोलियम पदार्थको आयातलाई न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ यो आदेश जारी गरिएको मन्त्रालयले जनाएको छ ।
राजपत्र अनुसार अब नेपालमा बिक्री हुने पेट्रोलमा निश्चित प्रतिशत इथानोल मिसाउन कानुनी बाटो खुलेको छ । यसले विशेषतः उखु खेती गर्ने किसान र चिनी उद्योगलाई आफ्नो उत्पादनको विविधीकरण गर्न र अतिरिक्त आम्दानी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस सन्दर्भमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले यसलाई ऊर्जा क्षेत्रको महत्त्वपूर्ण उपलब्धि बताएका छन् । 'यो क्षण निगमको पेट्रोलमा इथानोल मिसावट गर्ने कार्य कार्यान्वयन गर्ने यात्रामा अर्को एउटा कोशेढुङ्गा साबित भएको छ,' उनले भने, 'यसले स्वदेशी स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्नेछ भने जीवाष्म इन्धन माथिको परनिर्भरता घटाउन मद्दत गर्ने छ ।'
लामो समयदेखि चर्चामा रहेको इथानोल मिसावटको योजना कार्यान्वयनमा आएपछि नेपालको ठूलो रकम बाहिरिनबाट जोगिने विश्वास गरिएको छ । निगमले अब प्राविधिक तयारी पूरा गरी छिट्टै पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्ने तयारी थालेको जनाएको छ ।
यसअघि २०६० सालमै सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति लिए पनि विभिन्न व्यावहारिक कठिनाइका कारण यो कार्यान्वयन हुन सकेको थिएन । राजपत्रमा नै आइसकेपछि ती बाधा अड्चन फुकेको देखिन्छ ।
