काठमाडौँ । नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय संयन्त्र (संयुक्त कार्य समूह–जेडब्लुजी) को १३औँ बैठकमा द्विदेशीय ऊर्जा सहकार्य तथा व्यापार सहज बनाउन अन्तरदेशीय प्रसारण पूर्वाधारहरूको अध्ययन तथा निर्माण कार्यलाई गति दिने सहमति भएकाे छ । मंगलबार पोखरामा सम्पन्न बैठकले यसअघि भारतको नयाँदिल्लीमा सम्पन्न १२औँ बैठकका निर्णयहरुको समीक्षण गर्दै यस्तो सहमति भएको हो ।
बैठकमा चमेलिया–जौलजीबी २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को प्राविधिक पक्षबारे अध्ययन गरी अन्तिम रूप दिएर उक्त लाइन निर्माणकार्य अघि बढाउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहप्रवक्ता शालिग्राम भण्डारीले जानकारी दिए ।
बैठकमा ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भइरहेको विद्युत् आयात–निर्यात क्षमतालाई ८०० मेगावाटबाट बढाएर १००० मेगावाट पुर्याउने अघिल्लो बैठकको सहमतिबारे समीक्षा गर्दै कन्डक्टरलगायत उपकरण सुदृढीकरण गरी यसको क्षमता अझ बनाउनेबारे समेत अध्ययन गर्ने सहमति भएको उनले बताए ।
सहप्रवक्ता भण्डारीका अनुसार संयुक्त लगानी ढाँचामा दुवै देशमा विशेष प्रयोजन कम्पनी (एसपिभी) स्थापना गरी निर्माण गर्ने भनिएकाे इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माण अघि बढाउने सहमति पनि भएको छ । अघिल्लो बैठककै सहमति अनुसार यी लाइन निर्माण गर्न दुवै देशमा कम्पनी स्थापना गर्ने कार्य भइसकेको छ ।
थप विद्युत् निर्यातका लागि नयाँ प्रसारण पूर्वाधारको विकास गर्ने र नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको स्वीकृति प्रक्रियालाई अझ बढी सहज र सरलीकृत गर्ने विषयमा अघिल्लो बैठकले तय गरेकाे मार्गचित्रकै आधारमा अहिले पोखरा बैठकमा आगामी दिशा तय गर्ने गरी बैठकमा छलफल भएको उनले बताए ।
बैठकमा दुई देशबीचको सीमापार विद्युत् प्रसारण पूर्वाधारको सुदृढीकरण, विस्तार, विद्युत् व्यापारमा सहजीकरण तथा विगतका द्विपक्षीय सहमति र समझदारीहरूको कार्यान्वयन समीक्षाका विषयमा समेत छलफल भएको थियो ।
उनका अनुसार मंगलबार सम्पन्न सहसचिव स्तरीय बैठकका निष्कर्ष, सहमति तथा सिफारिसहरूलाई बुधबार बस्न लागेको द्विदेशीय सचिव स्तरीय संयन्त्र अर्थात् संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ । उक्त सचिव स्तरीय बैठकमा जेडब्लुजीका सिफारिसमाथि अन्तिम छलफल गरी निर्णयहरूलाई औपचारिकता दिइनेछ ।
बुधबारको जेएससी बैठकको नेतृत्व नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले गर्ने कार्यक्रम छ । यसअघि मंगलबार सम्पन्न सहसचिव स्तरीय बैठकमा नेपाली प्रतिनिधि टोलीको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गरेका थिए । भारतीय टोलीको नेतृत्व भने भारतको विद्युत् मन्त्रालयका विद्युत् प्रसारण हेर्ने सहसचिव पंकज कुमारले गरेका थिए ।