काठमाडौँ । वाटर इनर्जी सोलुसन लिमिटेडले निर्माण गरिरहेको ८.३ मेगावाटको देउमाई खोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९४ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
बाँकी काम तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समयमै निर्माण सम्पन्न गरी आगामी असोज ३१ गतेभित्र व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा फैलिएको यो आयोजना इलाम जिल्लाका महत्वपूर्ण निजी क्षेत्रका जलविद्युत आयोजनामध्ये एक हो । आयोजनाको हेडवर्क्स देउमाई नगरपालिका–२ र फाकफोकथुम गाउँपालिका–६ को पुङफुङ क्षेत्रमा निर्माण गरिएको छ भने विद्युतगृह (पावरहाउस) देउमाई नगरपालिका–५ र फाकफोकथुमको दोभान क्षेत्रमा अवस्थित छ ।
आयोजनामा ८.२ किलोमिटर लामो पेनस्टक पाइप जडान गरिएको छ । हाल करिब १,५०० मिटर पाइप जडान गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । आयोजनाको नेट हेड ४३२ मिटर रहेको छ भने आंशिक-जलाशय अवधि करिब चार घण्टा रहेको छ, जसले उच्च मागको समयमा थप विद्युत् उत्पादन गर्न सहयोग पुर्याउने अपेक्षा छ ।
कम्पनीका अनुसार इलेक्ट्रो–मेकानिकल उपकरण जडान अन्तिम चरणमा पुगेको छ । मेसिन जडानसँगै परीक्षणका लागि आवश्यक अन्य प्राविधिक काम पनि समानान्तर रूपमा अघि बढिरहेका छन् ।
उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । विद्युत प्रवाहका लागि आवश्यक गोदक सबस्टेसन पनि सम्पन्न हुने चरणमा पुगेकाले आयोजना सञ्चालनका लागि आवश्यक पूर्वाधार लगभग तयार भइसकेको कम्पनीले जनाएको छ ।
करिब १ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा १ अर्ब १५ करोड रुपैयाँ बैंक ऋण तथा ४८ करोड रुपैयाँ स्वपुँजी लगानी गरिएको छ । आयोजनाको प्रमुख वित्तीय साझेदार हिमालयन बैंक रहेको छ ।
निर्माण कार्य विभिन्न अनुभवी निर्माण कम्पनीहरूले गरिरहेका छन् । सिभिल निर्माण माई भगवती विश्वशान्ति/कार्की जेभीले, हाइड्रोमेकानिकल कार्य भक्तपुरस्थित माँशक्ति इन्जिनियरिङले, इलेक्ट्रोमेकानिकल उपकरण जडान अष्ट्रियाको जेपड हाइड्रोले तथा प्रसारण लाइन निर्माण रत्न बीएसले गरिरहेका छन् ।
कम्पनीका सञ्चालक सन्तोषकुमार कटवालले आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न सबै निर्माण कार्य तीव्र गतिमा सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार निर्माण सामग्री, उपकरण जडान र प्रसारण पूर्वाधारको काम सन्तोषजनक रूपमा अघि बढेकाले असोजभित्रै राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाह गर्ने लक्ष्य पूरा हुनेछ ।
आयोजना सञ्चालनमा आएपछि इलाम क्षेत्रको जलस्रोतको उपयोग बढ्नुका साथै राष्ट्रिय विद्युत प्रणालीमा वार्षिक रूपमा उल्लेख्य स्वच्छ ऊर्जा थपिने अपेक्षा गरिएको छ । यसबाट स्थानीयस्तरमा रोजगारी, पूर्वाधार विकास तथा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।