images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
स्थानीयबासी र सरकारी निकायका गतिविधि सधैं शंकास्पद

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पूरा भएको ७ महिना बितिसक्दा पनि ठेकेदार आयोजनास्थलबाट फर्कन पाएको छैन । काम पूरा भएपछि आयोजनाको संरचना बनाउन ल्याएका मेसिन, उपकरणहरू फिर्ता लैजान नपाएपछि आयोजनास्थलमै आफ्ना सामग्रीको सुरक्षाका लागि ठेकेदारका प्रतिनिधि कुरिरहेका छन् ।

आयोजनामा ४ वटा अन्तर्राष्ट्रिय ठेकेदारले काम गरेका थिए । जसमा सिभिलतर्फ चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रो मेकानिकाल र प्रसारण लाइनमा भारतीय कम्पनीहरू टेक्सम्याको एण्ड रेलवे इन्टरनेशनल र केइसी इन्टरनेशनलका साथै इलेक्ट्रिक तथा इलोक्ट्रोनिक्सको काम अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रो संलग्न थिए । आयोजनाको सुपरीवेक्षण मूल्याङ्नमा जर्मन र नर्वेको ल्याह्मेर÷नरकन्सल्टले परामर्शदाताको रूपमा काम गरेका थिए ।

एउटा ठाउँमा ठेक्का लिएर काम सकेका ठेकेदारले अर्कोमा आफ्ना भएका यन्त्र, उपकरण र औजार लैजानुपर्छ । तामाकोसीमा सबैभन्दा बढी काम सिनो हाइड्रोले गर्यो, र औजार, उपकरण पनि उसकै छ । जसले तनहुँमा १४० मेगावाटको माथिल्लो सेती, रसुवामा २१६ मेगावाटको त्रिशूली र ७८ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको पनि ठेक्का पाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का पनि सिनो हाइड्रोकै हो । ती आयोजनामा काम गर्न माथिल्लो तामाकोसीबाटै आफ्ना गाडी, औजार र उपकरण लैजानुपर्नेमा ७ महिनादेखि रोकिँदा नयाँ ठेक्का पाएको ठाउँमा राम्रोसँग काम गर्न नपाएको सिनो हाइड्रोका म्यानेजर झाङले गुनासो गरे ।

परामर्शदाताको सिफारिस, आयोजनाको पत्र र जिल्ला सुरक्षा समितिको बैठक समेतको निर्णयपछि आयोजनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा ३ दिन लगाएर सामान लोड गरिएको थियो । सामान बोकेर पाएर निस्केका ८ वटा ट्रकहरू नेपाली सेनाको गेटपास भए पनि ५३ दिन सिंगटीसम्म रोकिए ।

ती सामान गन्तव्यमा पुर्याउन नसकेपछि पुनः आयोजनास्थल फर्काए तर फर्केको कारण खोज्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुर नेतृत्वमा छानबिन समिति बनाएर त्यसको प्रतिवेदनपछि सामान आयोजनास्थलमा झारियो । प्रतिवेदन अहिलेसम्म गोप्य छ ।

स्थानीयले अवैध सामान भनेर ट्रक सिंगटीमा रोकेपछि १५ दिनपछि ट्रक प्रहरीकै सहयोगमा फर्काए । तर, प्रतिवेदनमा न सामान अवैध छ भनेर कसैलाई कारबाही गरियो न त सामान गन्तव्यमा पुग्न दिइयो । अहिले सिनो हाइड्रोले ५३ दिनसम्मको ट्रक भाडा बापत ३१ लाख ५४ हजार रुपैयाँ माथिल्लो तामाकोसीलाई दाबी गरेको छ । यो सानो दाबी हो तर सामान लैजान नपाउँदा अरू आयोजनाको क्षति करोडौंको हुने सिनो हाइड्रोका इन्जिनियर बालकृष्ण निरौलाले बताए ।

सिनो हाइड्रो कर्पोरेशनको ब्यूरो ६ को ठेकेदारले आफ्नो सामान स्थानीयका ८ वटा ट्रक कात्तिक ८ गतेदेखि १० गतेसम्म लोड गराएर सशस्त्र प्रहरी, नेपाल प्रहरीले सामान र कागज जाँचबुझ गरेर नेपाली सेनाको चेकपोष्टबाट गेट पास पाएर निस्किएका थिए । सोही दिन १० किलोमिटर टाढा भोर्लेमा स्थानीयको नाममा रोकियो । ३ दिनपछि प्रहरीले स्कटिङ गरेर सिंगटी बजार पुर्याए पनि त्यहाँ पनि स्थानीयको नाममा रोकिएपछि ट्रक अघि बढ्न सकेनन् ।

भोर्लेमा रोकिएका ८ वटा ट्रक मध्ये २ वटा राजमार्गबाट  गौरीशंकर गाउँपालिका ६ गुरुम्फीमा स्थानीयले जबरजस्ती पु¥याए । त्यहाँ प्रहरीकै उपस्थितिमा अनलोड भयो । ती सामान पुनः लोड गरेर २ दिनपछि सिंगटी ल्याए । सिनो हाइड्रोले आयोजना निर्माणका सिलसिलामा ल्याएर काम सकिएपछि फर्काउन लागेको इलेक्ट्रिकल प्यानल, ट्रान्सफरमर, स्टिल पाइप, र आल्मुनियम पाइप थिए ।

गत साउनमा पनि तामाकोसीमा काम सकिएपछि यहाँका उपकरण तनहुँ र रसुवा लैजान खोजेको छ । तर, ३ महिनादेखि आफ्ना उपकरण लैजान नपाएपछि उसले जिल्ला प्रशासन कार्यालय पटक पटक धाएर पत्रसमेत लेख्यो । प्रशासनले सामान रोकेपछि गृह मन्त्रालयसमेत गुहार्यो ।

गृह मन्त्रालयले साउन १३ गते तत्काल ठेकेदारका सामान लैजान दिनु भन्ने परिपत्र गरेपछि ३ दिनमै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सर्वपक्षयी बैठक राखे । बैठकले कानुनबमोजिम सामान लैजान दिने निर्णय भयो । बैठकको निर्णयलगत्तै लामाबगरबाट लोड भएका अस्थायी पुल बोकेका २ वटा टेलर फेरि ७ दिनसम्म माथिको आदेश भन्दै प्रहरीबाटै रोकिए ।

तामाकोसीका प्रमुख प्राविधिक अधिकृत बिमल गुरुङका अनुसार आयोजना र ठेकेदारबीचको सम्झौता अनुसार निर्माणका लागि ल्याएका सामान प्रयोग भएर बाँकी रहेका बिग्रेका र स्क्राफ भएका आयोजनाकै हुने र ति कवाडी पछि आयोजनाले बोलपत्रमार्फत लिलामी गर्छ । तर, आएका सामान प्रयोग नगरी स्क्राफ नभएका सामान, गाडी, उपकरण र मेसिन ठेकेदारकै हुने उल्लेख छ ।

तामाकोसीको कवाडीमा राजनैतिक दलका नेता कार्यकर्तादेखि स्थानीयसम्मले आँखा लगाएका छन् । एक वर्ष अघि तामाकोसी नदी सरसफाइ गरेर कवाडी उठाउने अनुमति नदिँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी सरुवा भए । त्यसपछि आएका वासुदेव घिमिरेको पालामा बैशाखमा एन्ड्रिज हाइड्रोले अन्यत्र लैजाँदै गरेका फलामे बिमका ३ वटा ट्रक जबरजस्ती स्थानीयले भोर्लेमा रोकेर झारे । ती सामान अहिलेसम्म अलपत्र छन् ।

असोजमा घिमिरे सरुवा भएपछि आएका टेकराज निरौला पनि आफ्नो पालामा कुनै जोखिम नलिने र आफ्नो अबको १५ दिने जागिरे दिन कसरी सहजै कटाउने भन्नेमा मात्र लागेका छन् । ठेकेदारले आफ्नो सामान लैजाने प्रक्रियामा प्रशासन सहयोगी नबनेको गुरुङको भनाइ छ ।

परामर्शदाताकै सिफारिसमा आयोजनाको पत्र अनुसार भएका सामान २ प्रहरी संगठनका प्रतिनिधिकै उपस्थितिमा लोड भएर गेट पास लिएका ट्रकको सुरक्षा दिएर गन्तव्यमा पठाउन नसक्नु र पुनः छानबिनको नाटक भएको उनले आरोप लगाए । प्रमुख जिल्ला अधिकारी निरौलाले भने रसुवा लैजान लागेको सामान सिंगटीमा रोकेको जानकारी आफूलाई नआएको दाबी गरे । पुनः फर्काएरपछि छानबिन समिति बनाउँदा समेत रोक्ने व्यक्ति र समूहको बारेमा कसैले उजुरी नगरेको उनको भनाइ छ ।

सिनो हाइड्रोले सामान लैजान खोज्दा आयोजनाले पटक–पटक प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, स्थानीय सरकारसमेतलाई गुहार मागेको छ । भदौदेखि असोजसम्म केही उपकरण बाहिर गए पनि कात्तिकदेखि रोकिएपछि ठेकेदारले लैजाने आँट गरेको छैन । कहाँ कुन प्रयोजनका लागि सामान लैजाने भनेर गन्तव्यस्थान समेत तोके पनि ठेकेदारलाई रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit