काठमाडौँ । भारतले पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द–सोनिपत मार्गमा हरियो झण्डा देखाएर रेलको उद्घाटन गरेका छन् ।
१० वटा डिब्बा (कोच) भएको यो रेल विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल हो । उद्घाटनपछि प्रधानमन्त्रीले सम्बोधन गर्दै भने, 'विश्वका अन्य भागमा तीन वा चार डिब्बाका मात्र हाइड्रोजन रेलहरू छन्, जबकि भारतले १० डिब्बाको हाइड्रोजन रेल सुरु गरेर विश्वभर आफ्नो पहिचान बनाएको छ । यो ३,२०० हर्स पावरको हाइड्रोजन रेल हो।'
'भारतको यो हाइड्रोजन रेल धुवाँरहित मात्र छैन, बरु 'मेक इन इन्डिया'को एक सफल उदाहरण पनि हो,' उनले भने, 'यसलाई भारतीय इन्जिनियरहरूले डिजाइन गरेका हुन् र एउटा भारतीय कम्पनीले निर्माण गरेको हो।'
यो हाइड्रोजन-सञ्चालित रेलले ८९ किलोमिटर लामो जिन्द-सोनिपत मार्ग करिब दुई घण्टामा तय गर्नेछ र यस क्रममा १२ वटा मध्यवर्ती स्टेशनहरूमा रोकिने छ ।
ऐतिहासिक प्रसङ्ग जोड्दै मोदीले भने, 'भारतमा पहिलो रेल बम्बे (मुम्बई) देखि ठाणेसम्म चलेको थियो। त्यसैगरी, जब-जब हाइड्रोजन रेलको इतिहासको चर्चा हुनेछ, हरियाणाका जिन्द र सोनिपतको नाम पनि सम्झिइने छ ।'
प्रधानमन्त्रीले सन् १९२५ देखि २०१४ को बीचमा देशको रेलवे नेटवर्कको ३० प्रतिशतमात्र विद्युतीकरण भएको र बाँकी ७० प्रतिशत डिजेलमा निर्भर रहेको बताए ।
विगत १२ वर्षमा भारतीय रेलवेको ९९ प्रतिशत विद्युतीकरण भइसकेको छ । हरियाणामा त रेलवे नेटवर्क पूर्ण रूपमा विद्युतीकृत भएको छ । यसैले गर्दा युद्ध र तेल संकटका बाबजुद भारतीय रेलवे बिना कुनै अवरोध सञ्चालन भइरहेको पनि मोदीले दाबी गरे ।