काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गए पनि नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भइरहेको भए पनि उपभोक्तालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निगमले हाल कायम मूल्यमा समायोजन नगरेको जनाएको छ ।
निगमले सोमबार (कात्तिक ३० गते) जारी गरेको विज्ञप्तिअनुसार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त भएको छ । उक्त मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्न सक्ने अवस्था रहे पनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै सञ्चालक समितिको कात्तिक ३० गतेको निर्णयअनुसार साविककै खुद्रा बिक्री मूल्य कायम राखिएको हो ।
निगमले पेट्रोलियम पदार्थको मूल्य देशभरका डिपो तथा कार्यालयबाट १५ किलोमिटर दूरीसम्मका लागि तीन वर्गमा विभाजन गरी निर्धारण गरेको छ । जसअनुसार पहिलो वर्गमा पर्ने स्थानमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, डिजेल तथा मट्टितेल १९७ रुपैयाँ ५० पैसा कायम छ । दोस्रो वर्गमा पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ १० पैसा र डिजेल तथा मट्टितेल पनि सोही मूल्यमा बिक्री हुनेछ । त्यसैगरी, तेस्रो वर्गमा पेट्रोल प्रतिलिटर २०० रुपैयाँ १० पैसा र डिजेल तथा मट्टितेलको मूल्य पनि प्रतिलिटर २०० रुपैयाँ १० पैसा कायम गरिएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा पनि उपभोक्तालाई साविककै मूल्यमा बिक्री गर्दा आर्थिक भार थपिँदै गएको जनाएको छ । यसरी मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा हालको अवस्थामा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भइरहँदा पनि उपभोक्तालाई तत्काल मूल्यवृद्धिको भार नथोपर्ने निगमको निर्णयले उपभोक्तालाई राहत दिए पनि त्यसको आर्थिक भार भने निगमले बेहोर्नुपर्ने देखिएको छ ।