काठमाडौँ । सुख्खा मौसम (हिउँद) सुरु भएसँगै जलविद्युत् उत्पादन घट्ने र चाडपर्वपछि उद्योगधन्दा सञ्चालनमा आएसँगै आन्तरिक विद्युत् माग बढ्ने भएपछि नेपालले बंगलादेशतर्फ गर्दै आएको ४० मेगावाट विद्युत् निर्यात बन्द गरेको छ । मौसमी सम्झौताअनुसार नोभेम्बर १५ सम्म मात्रै निर्यात गर्न पाउने अवधि समाप्त हुनुका साथै अब आन्तरिक माग धान्नुपर्ने अवस्था आउने भएपछि यस वर्षका लागि निर्यात रोकिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार चाडपर्वका कारण उद्योगहरू बन्द हुँदा नेपालमा विद्युत् माग ४०० देखि ५०० मेगावाटसम्म घटेको थियो । यही अवस्थालाई ध्यानमा राखेर बंगलादेशमा विद्युत् निर्यात गर्ने समय निर्धारण गरिएको थियो । तर, चाडपर्व सकिएसँगै उद्योग तथा व्यावसायिक गतिविधि पुनः सञ्चालनमा आउने, हिउँदमा आन्तरिक माग बढ्ने र जलविद्युत् उत्पादनमा कमी आउने भएकाले माग धान्न कठिन हुने अवस्था देखिएको उनले बताए ।
उनका अनुसार अब नेपालले विद्युत् निर्यातभन्दा आन्तरिक माग व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेछ । माग बढ्दै जाँदा निर्यात गर्न सक्ने अतिरिक्त विद्युत् उपलब्ध नहुने भएकाले आगामी दिनमा भारतबाट विद्युत् आयात गर्नुपर्ने छ ।
बंगलादेशतर्फको विद्युत् निर्यात भने आगामी वर्षायाम सुरु भएपछि मात्रै पुनः सञ्चालन हुने छ ।प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच २०२४ अक्टोबर ३ मा ५ वर्षका लागि विद्युत् बिक्री सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार नेपालले प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ६ महिना दैनिक ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्दै आएको छ । भारतको प्रसारण सञ्जाल प्रयोग गरी उक्त विद्युत् बंगलादेश पुर्याउने व्यवस्था छ ।
यसअघि गत अगस्ट २६ मा आएको विनाशकारी भोटेकोसी बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि बंगलादेशमा हुँदै आएको विद्युत् निर्यात अवरुद्ध भएको थियो । सुरुमा बंगलादेशलाई विद्युत् आपूर्ति गर्न स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेपछि प्राधिकरणले निर्यात रोकेको थियो । त्यसपछि भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) बाट वैकल्पिक जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् निर्यात गर्ने अनुमति लिएर अक्टोबर २३ देखि पुनः निर्यात सुरु गरिएको थियो ।
चाडपर्वको बिदापछि उद्योग तथा व्यावसायिक गतिविधि नियमित हुन थालेसँगै शुक्रबारदेखि नेपालको विद्युत् माग बढेर करिब २ हजार ५०० मेगावाट पुग्ने अनुमान गरिएको छ । सोमबारसम्म प्राधिकरणको प्रणालीमा विद्युत् माग करिब १ हजार ८०० देखि १ हजार ९०० मेगावाट रहेको थियो ।
आन्तरिक माग बढ्ने र उत्पादन घट्ने अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले भारततर्फ हुँदै आएको विद्युत् निर्यातसमेत क्रमशः रोक्ने तयारी गरेको छ । आवश्यकताअनुसार भारतबाट विद्युत् आयात गरेर आन्तरिक माग व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ ।
नेपालले हाल भारतमा अधिकतम १ हजार १७९ मेगावाट विद्युत् निर्यात गर्न अनुमति पाएको छ । गत सेप्टेम्बरको मध्यदेखि अक्टोबरको मध्यसम्मको एक महिनामा प्राधिकरणले विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ९६ करोड रुपैयाँ बढी हो ।
यसरी वर्षायाममा बचत हुने विद्युत् भारत हुँदै बंगलादेशसम्म बिक्री गरेर आम्दानी गर्दै आएको नेपालले सुख्खा मौसम सुरु भएसँगै पुनः विद्युत् आयात गर्नुपर्ने मौसमी चक्र दोहोरिने देखिएको छ ।