काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को नयाँ कार्यसमितिको पहिलो बैठकले संस्थाको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश कार्की र एशोसिएट सदस्यमा पूर्व उपाध्यक्ष रामप्रसाद आचार्यलाई मनोनित गर्ने निर्णय गरेको छ । मोहनकुमार डाँगीको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको शुक्रबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।
गत जेठ २९ गते सम्पन्न २४ औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पद हस्तान्तरण र शपथ ग्रहण जेठ ३१ गते भएको थियो । बैठकमा नवनिर्वाचित अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरूलाई एकताबद्ध बनाउँदै ऊर्जा क्षेत्रका जल्दाबल्दा मुद्दाहरूलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यसका लागि विभिन्न समितिहरू र विज्ञ–विशेषज्ञहरूको समूह बनाएर सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू योजनाबद्ध रूपमा अग्रसर हुने उनले स्पष्ट पारे । साथै बैठकले इपानका संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शमशेर जंगबहादुर राणासहित संस्थापकहरूको योगदानको स्मरण गरेको छ ।