काठमाडौँ । नेपाली सेना र विभिन्न आयोजनाका प्रतिनिधिहरू सम्मिलित संयुक्त उद्धार टोलीले माथिल्लो त्रिशूली-१ को अडिट-३ सुरूङबाट थप ७ वटा शव बाहिर निकालेको छ । योसहित शुक्रबार फेला पारेर निकालिएको शवकाे सङ्ख्या १३ पुगेको छ ।
सुरुङभित्र छडको जालीमा अल्झिएको अवस्थामा शुक्रबार दिउँसाे १२:०५ बजेको ६ वटा शव फेला पारेर निकालिएको थियो । सो क्षेत्रमा हाल पनि खोजी कार्य निरन्तर भइरहेको नेपाली सेनाले जानकारी दिएको छ ।
यसैगरी, माथिल्लो त्रिशूली–३ 'ए' को सुरुङ तथा विद्युत्गृह क्षेत्रमा आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले खोजी कार्यलाई अगाडि बढाइरहेको छ । उता, माथिल्लो त्रिशूली–३ 'बी' मा नेपाली सेनासहितको टोलीले तीन वटा एक्सकाभेटर र लोडरको प्रयोग गरी विद्युत्गृह रहेको स्थानमा उत्खनन गरे पनि हालसम्म कुनै वस्तु वा व्यक्ति फेला पर्न नसकेको जनाएको छ ।
भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीपछि जलविद्युत् केन्द्र तथा आयोजनाहरूबाट हराइरहेका कर्मचारी तथा कामदारकाे खाेजी कार्य जारी रहेको छ ।