जनकपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेस प्रदेशको जनकपुर पुगेर त्यहाँको विद्युत् र सिँचाइ सेवाको अवस्था बारेमा जानकारी लिएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाइ विभागका महानिर्देशक मित्र बरालसहितको टोली लिएर पुगेका उनले सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
प्रदेशभरिका विद्युत् र सिँचाइ सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न पनि मन्त्री खड्काले निर्देशन दिए । प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशको तुलनामा उच्च रहेको र यस समस्यालाई तत्काल रोक्नका लागि आवश्यक कदम उठाउनुपर्ने उनले बताए । 'नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत् आपूर्ति गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्र्नुको विकल्प छैन,' उनले भने ।
मधेशका विभिन्न क्षेत्रमा पटक-पटक बिजुली जाने जनगुनासोको समाधान गर्न २४ घण्टा आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप काम गर्र्नुपर्नेमा उनले जोड दिए । कार्यप्रणालीमा सुधार गर्ने र राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन तथा दायित्व पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने मन्त्रालयको नीति रहेको उनले सुनाए । आफ्नो जिम्मेवारी र दायित्वलाई प्राथमिकताकासाथ पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
विद्युत् र सिँचाइ क्षेत्रमा सुधार आवश्यक रहेको हुँदा यस कामलाई प्रोत्साहित गर्दै जनताको जीवनस्तर उकास्न प्राधिकरण प्रतिबद्ध रहेको प्रदेश प्रमुख यादवले बताए ।