काठमाडौँ । दूधकोसी हाइड्रोपावर नेपाल प्रालिले विकास गर्न लागेको ७० मेगावाटको दूधकोसी–२ (जलेश्वर) जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा एभरेष्ट बैंक र सानीमा बैंक गरी ३ वटा बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन पूरा गरिएको हो । यससम्बन्धी सम्झौता पत्रमा आइतबार (२०८२ असोज ५ गते) हस्ताक्षर भएको प्रवर्द्धक कम्पनीका अध्यक्ष कदम केसीले जानकारी दिए ।
सम्झौता अनुसार आयोजनामा बैंकहरूले कुल १० अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । त्यस्तै, बाँकी ४ अर्ब ५० करोड रुपैयाँ प्रवर्द्धकले स्वपुँजी लगानी गर्ने छन् । कुल १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र प्रवर्द्धकहरूको स्वपुँजी ३० प्रतिशत रहने भएको हो ।
सोलुखुम्बुको थुलुङ दूधकोकी गाउँपालिकामा प्रस्ताव गरिएको छ । आंशिक जलाशय (पिआरओआर) प्रकृतिको यो आयोजनामा ६ घण्टासम्म पानी जम्मा गरेर पिक आवरमा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन गरिएको छ ।
आयोजना को निर्माण २०८२ कात्तिक महिनाबाट सुरु गरी ४ वर्षमा पूरा गर्ने प्रवर्द्धक लक्ष्य छ । अध्यक्ष केसीको नेतृत्वमा रहेको प्रवर्द्धक समूहमा प्रमुख लगानीकर्ता अभिज्ञा मल्ल, विक्रम गौतम, अरुण अग्रवाल, किरण मल्ल र हिमाल भट्टराई रहेका छन् ।
प्रमुख संस्थागत लगानीकर्तामा आयु मलुन हाइड्रोपावर लिमिटेड, टिम भेन्चर, सारथि इक्विटी फण्डसहितका संस्था रहेका छन् ।