काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आगामी निर्वाचनले नेपालको ऊर्जा क्षेत्रमा नयाँ तरङ्ग पैदा गरेको छ । जलविद्युत र नवीकरणीय ऊर्जाको क्षेत्रमा निजी क्षेत्रको साझा मञ्चका रूपमा रहेको इपानमा यसपटकको नेतृत्व परिवर्तनलाई निकै चासोका साथ हेरिएको छ ।
वर्तमान अध्यक्ष गणेश कार्कीको कार्यकाल सफलताका साथ अगाडि बढिरहँदा अबको नयाँ नेतृत्व र विशेषतः वरिष्ठ उपाध्यक्ष पदका लागि भइरहेको रस्साकस्सीले निर्वाचनलाई थप रोचक बनाएको छ । इपानको वर्तमान विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।
उक्त व्यवस्थाले अध्यक्षका लागि हुने सम्भावित विवादलाई केही हदसम्म मत्थर पारे पनि ‘वरिष्ठ उपाध्यक्ष’का लागि भने दाबेदारहरूको सूची बन्दै गएको छ । विधानअनुसार डाँगीपछिको अर्को एक कार्यकालसम्म मात्र वरिष्ठ उपाध्यक्षको व्यवस्था रहने र त्यसपछि यो प्रावधान हट्ने भएकाले यसपटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति नै संस्थाको आगामी बागडोर सम्हाल्ने अन्तिम ‘वरिष्ठ’ पदाधिकारी हुने छ ।
यही रणनीतिक महत्त्वका कारण यसपटक उत्तम भ्लोन लामा, प्रकाश दुलाल, हिमप्रसाद पाठक र भरतबहादुर खत्री जस्ता ऊर्जा क्षेत्रका दिग्गजहरू चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
वरिष्ठ उपाध्यक्षका बलिया दाबेदार उत्तमले यसपटक संस्थाको आधुनिकीकरण र एकतालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । उनले इपानलाई केही व्यक्तिको घेराबाट निकालेर सबै ऊर्जा उद्यमीहरूको ‘साझा घर’ बनाउने प्रण गरेका छन् ।
‘इपान एउटा जीवन्त संस्था हो र यसले सबैको अपनत्व महसुस गराउनुपर्छ । विगतमा केही साथीहरू विमति राखेर बाहिरिनुभयो,’ उनले ऊर्जा खबरसँग भने, ‘म निर्वाचित भएर आउँदा उहाँहरूलाई पनि सँगै लिएर हिँड्ने र एउटै मञ्चमा ल्याउने प्रयास गर्ने छु ।’
लामाका अनुसार इपान एक्लैले यो क्षेत्रका जटिल समस्याहरू, नीतिगत अवरोधहरू र प्राविधिक खोज–अनुसन्धानका काम गर्न सक्दैन । त्यसैले, विभिन्न ऊर्जा सम्बद्ध संस्थाहरू फरक भए पनि सबैको लक्ष्य एउटै भएकाले सहकार्य र एकता नै आजको आवश्यकता रहेको उनको निष्कर्ष छ । उनले इपानलाई सभ्य, सुसंस्कृत र उन्नत लोकतन्त्र सुहाउँदो संस्था बनाउन सबैको हातेमालो हुनुपर्नेमा जोड दिएका छन् ।
यो पनि पढ्नुहाेस्ः इपानमा चुनावी सरगर्मी बढ्याे, अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन नपाउने
यसैगरी, वरिष्ठ उपाध्यक्षकै दौडमा रहेका प्रकाश दुलाल, हिमप्रसाद पाठक र भरतबहादुर खत्रीले पनि आ–आफ्नो अनुभव र भिजन प्रस्तुत गरिरहेका छन् । उनीहरूले पनि नीतिगत स्थिरता, बैंकको ब्याजदर, विद्युत् खरिद सम्झौता (पिपिए) खुलाउने विषय र ऊर्जा व्यापारलाई प्राथमिकतामा राखेका छन् ।
दुलालले पनि हिजो संस्था एउटा क्लबको रूपमा सञ्चालन भएकोले रूपान्तरणको मुद्दामा जोड दिएका छन् । ‘म नै वरिष्ठ उपाध्यक्ष भएर आउनुपर्छ भन्ने छैन, मेरा मुद्दा कसैले बोक्छ भने म साथ दिन्छु,’ उनले भने, ‘तथापि, मुद्दा छोडेर म कसैसँग सम्झौता गर्दिनँ ।’
समय, परिवेश, संस्थाको भविष्य, सक्रियता, नीतिगत रूपान्तरण, कूटनीति र कार्यकुशलताको दृष्टिले अहिलेसम्म उत्तम नै वरिष्ठ उपाध्यक्षको बलियो दाबेदार देखिन्छन् । यद्यपि, निर्वाचनले कसलाई सो पदमा पदमा पुर्याउँछ त्यो समयले नै बताउला ।
अर्कोतर्फ, उपाध्यक्षमा सुसन कर्माचार्यको सक्रियता र महासचिवमा चार्टर्ड एकाउन्टेन्ट टि.एन. आचार्य र मिथुन चक्रवर्ती पौडेलबीचको सम्भावित प्रतिस्पर्धाले इपानको कार्यसमितिमा युवा र अनुभवी दुवै पक्षको सन्तुलन हुने संकेत देखिएको छ ।
अन्ततः इपानको यो निर्वाचन केवल व्यक्तिको छनोट मात्र नभई नेपालको ऊर्जा क्षेत्रलाई आगामी दशकमा कसरी डोर्याउने भन्ने दिशानिर्देश पनि हो । सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई सफल पार्न निजी क्षेत्रको नेतृत्व कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्तर पनि यो निर्वाचनले दिन सक्छ ।
वरिष्ठ उपाध्यक्षका आकाङ्क्षीहरूले जसरी ‘सबैको साझा इपान’को नारा अघि सारेका छन्, त्यसले भविष्यमा ऊर्जा उद्यमीबीच थप बलियो एकता कायम हुने अपेक्षा गरिएको छ ।