काठमाडौँ । विद्युत् आयोजनाको निर्धारित व्यावसायिक विद्युत् उत्पादन मिति (आरसिओडी) थप गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच गम्भीर छलफल हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठकै उपस्थितिमा बुधबार छलफल गर्न लागिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
अपरान्ह साढे ४ बजेका लागि तय गरिएको छलफलमा आरिसिओडी थप नहुँदा समस्यामा परेका विद्युत् आयोजनाहरूको समस्याको तत्काल समाधान गर्ने विषयमा छलफल हुने बताइएको छ । ‘सम्भवतः आजै केही आयोजनाको आरसिओडी थपको निर्णयसमेत हुने हुन सक्छ,’ सचिवालयका एक सदस्यले भने ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) सहित निजी क्षेत्रका ऊर्जा उद्यममीहरूले विभिन्न कारणले आरसिओडीको म्याद गुज्रिएका आयोजनाको म्याद थप गरी समस्या समाधान गर्न माग गर्दै आएका छन् ।