विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय रुस र युक्रेनबीच चलिरहेको युद्धको असर नेपालको विद्युत आपूर्तिमा समेत देखिन सुरु भएको छ । रुस–युक्रेन युद्धका कारण आयातित कोइलाको भाउ महँगो हुँदा नेपालले भारतबाट किन्ने विद्युतसमेत आकासिएको छ ।

भारतले नेपाललाई आयातित कोइलाबाट सञ्चालन हुने विद्युतगृहबाट उत्पादित विद्युतमात्र निर्यात गर्दै आएको छ । यसो हुँदा, आयातित कोइला महँगो भएपछि उत्पादित र बिक्री हुने विद्युत पनि स्वभाविकरूपमा महँगो हुने नै भयो । यही कारण, नेपालले सस्तोमा किनिरहेको “आदानप्रदान र विद्युत खरिद बिक्री सम्झौता (पिपिए)” अनुसारको विद्युत दिन नसक्ने भन्दै भारतले कटौती गरेको विद्युत प्राधिकरण भार प्रेषण (एलडिसी) केन्द्रले जानकारी दिएको छ ।

भारतले सस्तो विद्युत कटौती गरेको र महँगो किन्न नसकेको हुँदा हिजो (चैत ८ गते) देखि देशका प्रमुख उद्योगहरूमा विद्युत कटौती (लोडसेडिङ) सुरु भएको प्राधिकरणका एक उच्च अधिकारीले ऊर्जा खबरलाई जानकारी दिए । ‘प्रणालीमा अहिले करिब ५०० मेगावाट विद्युत अभाव छ र भारतबाट पनि ल्याउन सकिएको छैन,’ ती अधिकारीले भने, ‘यसो हुँदा देशैभरिका उद्योगमा लाइन काट्न सुरु गरिएको छ ।’

एलडिसी प्रमुख तथा प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार अहिले देशको दैनिक उच्च माग झन्डै १६०० मेगावाट रहेकोमा ८०० मेगावाटमात्र स्वदेशी उत्पादन (निजी क्षेत्र करिब ३०० मेगावाट) बाट आपूर्ति भइरहेको छ । उनकै भनाइलाई आधार मान्ने हो भने अहिले पनि उच्च मागको आधा (५० प्रतिशत) विद्युत भारतबाट किन्नुपर्ने देखिन्छ । यसैमाथि, किनिरहेको विद्युत नै भारतले कटौती गरेपछि आपूर्तिको अवस्था भयावह रहेको त्यतिकै पुष्टि हुन्छ ।

एलडिसीका अनुसार हिजो (चैत ८ गते) को उच्च माग १५४० मेगावाट रेकर्ड भएकोमा ऊर्जा माग ३०५४७ मेगावाट घन्टा रेकर्ड भएको छ । जसमा भारतबाट ९५७१ मेगावाट घन्टा आयात भएको देखिएको छ । एक्सचेन्ज बजारमा प्रतियुनिट भारु २.५० देखि ३ सम्म रहेको बिजुलीको मूल्य भारु २० पुग्दा भारतमै समेत ठूलो खैलाबैला मच्चिएको भारतीय समाचार स्रोतहरूले बताएका छन् ।

नेपालले किनिरहेको सस्तो विद्युत नपाएपछि अब प्रत्येक १५–१५ मिनेटमा मूल्य परिवर्तन भइरहने र दिनको ९६ पटकसम्म मूल्य निर्धारण हुने ‘भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स)’बाट किन्नुको विकल्प हुँदैन । अहिले भारतीय एक्सचेन्ज बजारमा बिजुलीको मूल्य प्रतियुनिट भारु २० रुपैयाँ (३२ रुपैयाँ) सम्म पुगेको पनि भट्टराईले बताए ।

‘अब राज्यले कि महँगोमा किन्ने निर्णय गर्नुपर्यो, अन्यथा गार्हस्थमा असर नपरे पनि औद्योगिक क्षेत्रमा आपूर्तिको समस्या हुनेछ,’ उनले बुधबार ऊर्जा खबरसँग भने, ‘हामीसँग किन्नुको विकल्प छैन । नत्र औद्योगिक क्षेत्रहरू कम क्षमतामा सञ्चालन गर्नुपर्यो ।’

अहिले देशभरिका उद्योगहरूमा विद्युत कटौती सुरु भइसकेको हो भन्ने ऊर्जा खबरको प्रश्नमा भट्टराईले भने, ‘लोड काटेको होइन, घटाएको हो ।’ घटाएको भन्नुको अर्थ ‘कम आपूर्ति हुनु वा लोडसेडिङ भएको’ भन्ने स्पष्टै बुझिन्छ । रुस–युक्रेन युद्ध चलिरहेको अवस्थामा देशभित्रको विद्युत आपूर्तिको समस्या अझ विकराल हुँदै जाने उनको संकेत छ ।

भारत सरकारले एक्सचेन्ज बजारमा प्रतियुनिट भारु २० भन्दा बढी दर आह्वान गर्न नपाउने गरी सिलिङ तोकिदिएको हुँदा अहिले बिजुलीको मूल्य यही बिन्दुमा रोकिएको छ । खुला छोडिएको अवस्थामा प्रतियुनिट मूल्य ५० भारुसम्म पुग्ने एलडिसीको आकलन छ ।

एलडिसीले पूर्वमा विराटनगर, वीरगन्ज, हेटौंडा, भैरहवा, पोखरा, नेपालगन्जलगायत मुख्य–मुख्य औद्योगिक कोरिडोरमा हिजो (चैत ८ गते) राति ८ बजेबाट विद्युत काट्न निर्देशन दिएको छ । मोरङ उद्योग वाणिज्य संघको महानिर्देशक चुडामणि भट्टराईले तत्काल असर नदेखिएको बताए । ‘मेरो फ्याक्ट्रीमा काटिएको छैन, अन्य केही ठाउँमा काटिएको भन्ने खबर आएको छ,’ उनले भने, ‘भारतले विद्युत पूर्णरूपमा काटेकै हो भने त अवस्था डरलाग्दो हुने भयो ।’

उता लुम्बिनी प्रादेशिक कार्यालयअन्तर्गत भैरहवा, परासी कृष्णनगर, नयाँ मिल, अमुवा लगायत ठाउँमा रहेका उद्योगहरूमा हिजो रातिदेखि नै विद्युत काटिएको छ । प्रादेशिक कार्यालयका एक इन्जिनियरका अनुसार ‘१ मेगावाटभन्दा बढी विद्युत खपत गर्ने उद्योगको लाइन काट्नू’ भनेर एलडिसीले निर्देशन दिएको छ ।

सस्तो बिजुली गुमाएका कारणहरू

नेपालले १३२ केभी प्रसारण लाइनमार्फत बिहार राज्यबाट प्रतियुनिट भारु ६.१८ (९.८८ रुपैयाँ) र ३३ केभीबाट प्रतियुनिट भारु ६.५८ (१०.५३ रुपैयाँ) मा बिजुली किनिरहेको थियो । यस्तै, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनबाट प्रतियुनिट भारु ४.१२ र टनकपुरबाट भारु ४.१६ मा किनिरहेको किन्ने गरेको छ ।

उक्त दुई प्रावधानबाहेक भारतीय एक्सचेन्ज बजारबाट सबैभन्दा ठूलो परिमाणमा किन्ने गरिएको छ । पछिल्लो समय एक्सचेन्ज बजारमार्फत ढल्केबर–मुजफ्फरपुरबाट ३५० मेगावाट र टनकपुरबाट ७० मेगावाटसहित ४२० मेगावाट किन्ने गरिएको थियो । भारतीय एक्जचेन्ज बजारको मूल्य आकासिँदा यो परिमाणको विद्युत ल्याउन नसकिएको प्राधिकरणले जनाएको छ ।

भारतको एक्सचेन्ज बजारमा उच्च माग हुँदा प्रतियुनिट भारु २० र औसत प्रतियुनिट भारु ११.२३ (१७.९६८ रुपैयाँ) पुगेको छ । साथै, प्रसारण शुल्क र चुहावटसमेत जोड्दा नेपालसम्म बिजुली आइपुग्दा थप भारु १.५० थपिने देखिन्छ । प्रतियुनिट २१.५० भारु (३४.४० रुपैयाँ) को बिजुली किनेर नेपालले धान्न सक्ने अवस्था भने देखिँदैन ।

यसरी महँगोमा किनिहाले पनि ग्राहकलाई दोब्बरभन्दा सस्तो (हालको बिक्री मूल्य ९.८० रुपैयाँ) मा बेच्नुपर्दा प्राधिकरण यतिकैमा टाट पल्टिने देखिन्छ । यही कारण औसत ६–७ रुपैयाँमा किनिरहेको नेपालले दोब्बरभन्दा बढी मूल्यको बिजुली किन्नबाट पछाडि हटेको प्रस्ट देखिन्छ ।

भारतमै ऊर्जा संकटको खतरा

आयातित कोइलाको मूल्य आकासिएको (स्काई रकेटेड) हुँदा भारतमै पनि ऊर्जा संकट निम्तिने ठूलो खतरा उत्पन्न भइरहेको भारतीय पत्रिका फाइनान्सियल एक्सप्रेस लगायत समाचार स्रोतहरूले बताइरहेका छन् । भारतमा गत वर्षको तुलनामा कोभिड–१९ घटेको, उद्योग–धन्दा पूर्ण रूपमा सञ्चालन भएको, जलविद्युतमा आधारित विद्युतगृहबाट कम विद्युत उत्पादन भएको, कोइलायुक्त विद्युतगृहमा कोइलाको असर देखिएको जस्ता कारणले भारतसमेत संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको पनि भारतीय समाचार स्रोतहरूको भनाइ छ ।

भारतमा गत वर्षको तुलनामा यस वर्ष गर्मी अत्याधिक बढेकाले पनि त्यहाँको विद्युत माग २५ प्रतिशतसम्म वृद्धि भएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । एकातिर भारतमै विद्युत अभाव भइरहेको समयमा नेपालमा निर्यात हुने सस्तो बिजुली कटौती गर्नु उसको राष्ट्रिय हितको दृष्टिकोणले उचित नै देखिन्छ ।

अर्कोतिर, नेपालले बिहार राज्यबाट आदानप्रदान प्रणालीमा किन्ने विद्युत विहारमै ठूलो संकट उत्पन्न भएकोले कटौती भएको प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ । बिहारमा केही सोलार प्लान्ट रहे पनि उसले राज्यलाई आवश्यक सम्पूर्ण विद्युत अरूबाट किनेर आपूर्ति गर्ने गरेको छ । अरू राज्यबाट किनेको परिमाणमा आफूले केही प्रतिशत कमिसन लिएर बिहारले नेपाललाई बेच्ने गरेको छ । अहिले, बिहारको अवस्था नेपालको जस्तै नाजुक रहेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit