विद्युत अपडेट

  • प्राधिकरण : ९१४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १७४६६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४८४७७ मे.वा.घन्टा
  • आयात : १२९ मे.वा.घन्टा
  • निर्यात : २१६२१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२१२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३१४ मे.वा.
२०८३ साउन १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को नयाँ कार्यसमिति चयन भएको एक महिना नाघ्यो । शपथ तथा पदभार ग्रहण गरेर पदअनुसार जिम्मेवारी तोकिइसकेको छ । विज्ञ तथा सल्लाहकार समिति समेत बनिसक्यो । यहाँ जेठका आखिरी दिनमा सकिएको इपान साधारणसभा, अधिवेशन र निर्वाचन गतिविधि नियाल्नु वान्छनीय ठानेको छु । केही सन्दर्भ तात्तातै बाहिर ल्याउनु जरुरी थियो तर धुरीमा बाफ नउड्दै किन विषयको बिर्को खोल्नु लाग्यो । अब त बाफ धुरीमा बिलाइसक्यो । ताता वाक–वचन चिसिइसके । त्यसको धेरथोर त विश्लेषण गरुँ न ! यो दृष्टि इपानको भविष्योन्मुख नयाँ प्रस्थानविन्दु एवम् रूपान्तरण मोडमा सहयोगसिद्ध पनि हुन सक्छ ।

इपानले जेठ २९ गते बिहान ८ बजे दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा २४औँ वार्षिक साधारणसभा सुरु गर्‍यो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ उपस्थित भए । सम्बन्धित क्षेत्रका विज्ञ, उद्यमी, नीति–निर्माता, सरकारी कर्मचारी, स्वनामधन्य व्यक्ति एवम् पत्रकारको बाक्लो उपस्थिति रह्यो । उद्घाटन सत्रको औपचारिकता पूरा भयो । उद्यमीले आफ्ना धारणा, गुनासा, आक्रोस र केही घोचपेच सुनाए । यी सामान्य तथा नियमित कर्मकाण्डीय विधि भए, जसको त्यति सान्दर्भिकता छैन ।

औपचारिकता सकिएसँगै घामले करिब मध्यान्हको घेरो पार गरे । भोजनकर्म सकियो । आ–आफ्ना दैनिकीतिर दगुर्नुपर्नेहरू दगुरे । कार्यालय समय छोप्नुपर्ने हतारिए । योजनाका फाइल पल्टाउनुपर्ने, त्यहाँ हस्ताक्षर खोप्नुपर्ने भ्याइनभ्याइ देखिए । म पनि कार्यालयतिर गुडेँ । समाचार बनाउनु, सञ्जालका भित्तामा टाँस्नु समयको माग छ । डिजिडल दुनियाँको लहरोमा वनतरुल नबनी सुखै छैन । भागदौड, लम्कीझम्की, उडान, अवतरण र बहाब नछोपी दुई छाक दालभात र डुकु जुट्दैन । म केही घन्टा यही उडानतिर हराएँ ।

अपरान्ह ३ बज्यो । निर्वाचन हुने भनिएको थियो । राजनीतिक वा जुनसुकै होस्, चुनाव भन्ने वित्तिकै तामझाम, गुट, फुट, हर्ष, उल्लास, आक्रोस, आपत्ति, आरोपप्रत्यारोप अनेक उपमा जडिएर आउँछन् । इपान आजमात्र होइन, हिजैदेखि गुट–गुटमा विभक्त हुँदै आएको थियो । यसको विश्लेष्य विशेषणको चित्र कस्तो देखिन्छ ? म बडो उत्सुकताका साथ हेरिरहेको थिएँ ।

चरित्र चिरफार

मैले पत्रकारितामा कलम चलाएको करिब २ दशक पुगेछ । केही राजनीतिक एवम् संस्थागत र साङ्‌गठनिक क्षेत्रका निर्वाचनको प्रत्यक्षदर्शी बनियो । ती मध्ये नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्शका चुनावी चलचित्र हेरियो । त्यहाँ मधुशालीय द्रब्य नृत्य छ्याङ्‌गै हुन्थे । नजिकै नटाँसिए पनि एउटा कुइनेटाको आँखीझ्यालबाट मैले नियालेकै हुँ ।

त्यसो त नेपाल पत्रकार महासंघ तथा विभिन्न राजनीतिक पार्टीप्रति आस्थावान ‘प्रेस संस्था’को चुनावको ‘लाजनीति देखिएकै र अनुभव गरिएकै हो । आर्थिक क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरूको संस्था ‘नेपाल आर्थिक पत्रकार समाज (सेजन)’ को चुनावमै खेल, तेल र झेलमय कृत्यको साक्षी पनि बसियो । ती दृश्य एकछिन आए र गए । तिनले मनमा कुनै छाप छोडेनन्; जसलाई आवधिक राजनीतिक चुनावै भने गलत हुँदैन ।

खासमा चुनावी रङ्‌गमञ्चमा हुने यस्तै हो ।

ऊर्जा क्षेत्रमै केन्द्रित रहेर कलम घोट्न थालेको १७ वर्ष नाघेछ । पेशा र ऊर्जाको अक्षरमार्गमा घोडाको टाप कसेर बत्तिएको उमेर वर्षले जेठो–कान्छो मात्र छ । मैले पत्रकारिताका धेरै घाम यही क्षेत्रमा खपेँछु; जहाँ धेरै सिकेँ, पढेँ, जानेँ । दकस नमानी लेख्न सक्ने भएँ । एकबारको जुनीमा यो मेरा लागि भगीरथ प्रयत्न र प्राप्ति भयो । तथापि, जान्न र सिक्नपर्ने कुरा धरतीमा ३ मनुष्यजुनी पाए पनि सकिँदैन होला ।

ऊर्जा क्षेत्रमा बिताएका यिनै घामछायाले मलाई अचेल सन्तुष्टि दिने गर्छ । म प्रशस्त आलोचित हुने गरेको छु । केही प्रशंसाका हलुङ्‌गे फूल पाएको छु । यसैमा चित्त बुझाइरहेको छु । मलाई यहाँ भन्दा माथि उडेर हिमाल छुनु छैन । सगर नाप्नु छैन । गइराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने मोती नटिपी नफर्क भन्दै प्रकाश श्रेष्ठले गाएझैँ मलाई समुद्रको गहिराइ भेट्नु छैन । मात्र जिन्दगीको देउरालीमा घामपानी तापेर सुविस्ताले दैनिकी बिताउन पाए पुग्यो ।

झण्डै दुई दशक आयु ‘ऊर्जा पत्रकारिता’ भनेर एकोहोरो दगुरेको दगुर्‍यै भएँ । भोक, तिर्खा, थकाइ केही भनिनँ । दिनभरि करोड, अर्ब र खर्बका खबर लेखेँ । कुनै रात काँचो चाउचाउ फाँक मारेर सुतेँ । एक बोतल पानीले टन्न पानीआन्द्रो फुलाएर निदाएँ । यसरी हिँडेका, बिताएका वा सुतेका दिनको हिसाब छैन । सायद समयले मात्र त्यसको बहिखाता सुरक्षित राख्दो हो । एक किसिमले भन्दा म ‘ऊर्जा पत्रकार’भन्दा ज्यादा लेखनदास भएँ कि ! मेरो लेखनी दुर्व्यसन पनि भयो होला । यही कारण मैले यो क्षेत्र, यसमा लागेका मान्छे, लगानीकर्ता, नीति निर्मातालाई नजिकबाट नियाल्ने गरेको छु ।

यही नियाल्ने क्रमको पछिल्लो झाँकी बन्यो – इपान निर्वाचन डबली ।

नयाँ कार्यसमिति चयनको बजारहल्ला वा खासखुस डेढ–दुई महिनादेखि सुरु भएकै हो । त्यो स्वभाविक थियो र हुनुपर्छ । विगतमा सहमतिमै पदाधिकारी चुनिन्थे । कार्यसमिति मनोनित हुन्थे । विरोधी खेमा खासै सुनिँदैनथ्यो । हुनत, २२औँ र २३औँ साधारणसभाका क्रममा हुनुपर्ने र नहुनुपर्ने सबै हर्कत भएकै हुन् । क्षेत्रगत र संस्थागत सुधारको मुद्दा उठाउने खेमा पेलिएर झन्डै तेल बनेकै हो । अझ २३औँ निर्वाचनमा त अनेक तिकडम र माकुरीजाल बुनिए । ‘बाहुबली’ हर्कत देखियो ।

सुधार र रूपान्तरणको मुद्दा उठाउने केही अनुहार अन्तिम घडीमा संस्थापनकै जुवामा नारिए । आवाज उठाउने केही हुद्दाहरूमात्र पाखा पारिए । जसरी बर्खाको भेलमा बगेर आएका चेपागाँडा भेल रोकिएपछि किनारमा फ्याँकिन्छन् ।

सुधार र रूपान्तरणको मुद्दा उठाउने केही अनुहार अन्तिम घडीमा संस्थापनकै जुवामा नारिए । आवाज उठाउने केही हुद्दाहरूमात्र पाखा पारिए । जसरी बर्खाको भेलमा बगेर आएका चेपागाँडा भेल रोकिएपछि किनारमा फ्याँकिन्छन् । जोरजुवामा नारिएकाले आफ्नै खेत जोते, रोपे र फलाउनुपर्ने जिनिस फलाए । पर फ्याँकिएका जन असन्तुष्ट रहिरहे । नयाँ बाटो खन्ने जोस त निकाले तर एउटा घोडेटोसम्म कोतर्न नसकी सेलाए ।

करिब ३ वर्षबीचमा सुशासन र सुधारका मुद्दा हराए । ती द्रब्य, स्वार्थ र व्यक्तिवादमा चेपिएर सुके । जब नयाँ कार्यसमिति चयन, साधारणसभा र नेतृत्व परिवर्तनको समय आयो, तब मरणासन्न ‘मुद्दाहरू’ मसानबाट जर्‍याकजुरुक उठे । तिनले ढोल पिटे । टोल जगाए । ‘जेनजी आन्दोलन’को हवाला दिँदै हरेक साँझ आरती गरे । अघिल्लो चुनावमा इतर खेमाले जुन सुधारवादी आवाज बोलेका थिए, यसपालि संस्थापनभित्रै ऐँजेरु पलायो । उसैले त्यो मुद्दा बोकेको स्वाङ गर्‍यो । यसरी अन्तिमकालमा संस्थापन पक्ष दुई चिरा पर्‍यो ।

‘भानुभक्त पोखरेल प्रतिवेदन’ अध्यक्षले कार्यान्वयन नगरेको, इपान महासंघमा लैजान नचाहेको, पदाधिकारीले विधान लुकाएको जस्ता आरोपको ओइरो लाग्यो । आन्दोलनकर्ता मनुवाहरू तिनै थिए, जो अघिल्लो पटक साविककै विधानमा टेकेर संस्थापन र विरोधीको सन्धिपुल फड्केर ‘जोरजुवा’मा नारिएका थिए । अघिल्लोकाल रूपान्तरणकारी देखिएको विधान, यसपालि यथास्थितिवादी देखियो । अनुकूल हुँदा अग्रगामी देखिएको बाटो प्रतिकूलतामा पश्चगामी ठहरियो । मौसमी जनहरू प्रक्रियागत, कानुनी र प्राविधिक जटिलता बुझेर बुझपचाए ।

संस्थापन पक्षले सुधारवादीलाई पेलेको, हेपेको, चेपेको भन्ने अभिव्यक्ति आए । सिन्डिकेट गरेर ‘जेनजीयन’ पुस्ता हिँड्ने बाटो बन्द गरेको हुर्कौला स्वर सुनिए । हो, देशमा शासन र आसन फेरिएर कहाँ पुगिसक्यो । पुरानै झल्लरी हल्लाएर हल्लिनुको तुक थिएन । इपान हिजो जस्ता दुईचार जनाको ‘चिया चौतारी’ होइन । आज विशाल मैदानमा फैलिएको छ । त्यहाँ डन्डीबियोदेखि कुस्ती, हक्की, जुडो, कराँते, उस्सु, बक्सिङ, रेस्लिङ र गल्फ खेल्नेहरू उदाइसके ।

ती सबै अटाउने इपान ‘बन्नुपर्छ’ भन्ने धारणा आउनु पक्कै पराधुनिक चेतना झुल्किनु हो । बिहानीको प्रसव घामले क्षितिजको दिशा निर्देश गर्न सक्छ । यसमा विमति हुनै सक्दैन र हुनु हुँदैन । तथापि, मेरो घोइरो दिमागले कताकता यी अनेक रङका खेलाडीमा कुटिल शकुनीचालको लेपन टाँसिएको अनुभूत गरिरह्यो । यस्तो परिलक्षित हुनु मेरै दृष्टिदोष र मस्तिष्क भ्रम होला ।

खराब चस्माका कारण वा चुरो कुरो अर्कै थियो – उल्लिखित आधारबाट मैले उदारवादी पखेटा लाएर उड्न खोज्नेमा दाग देखेँ । तिनलाई त्यही दृष्टिमा राखेर नियालीरहेँ । यद्यपि, मेरा पाइला सधैँ नवीनपथ, नवीनचेतना र सुधारका पक्षमा हिँडिरहे । त्यो मेरो पेशायात्रामा पूर्णविराम नलाग्दासम्म कायमै रहनेछ ।

नीति र नैतिकता

उल्लिखित परिवेश साँघुर्‍याउँदै २९ गते साँझको निर्वाचन मौसमसँग जोडौँ ।

बन्दसत्रमा कलमजिवीको प्रवेश निषेध थियो । तथापि, भित्रका हल्ला फुल फुटेर निस्केका कुखुराका चल्लाजस्तै फुत्तफुत्त बाहिर आइरहे । कोलाहल, तीता–मीठा र गुलिया कुरा सबैतिर छाइरह्यो । एकाएक २७ सदस्यीय कार्यसमिति ३७ पुर्‍याउने सूचना आयो । यो पत्रकारिताका लागि तातो खबर थियो । उपाध्यक्ष र सचिव दुई–दुई तथा सदस्य पाँच जना थपिने भएछन् । यति भएपछि सुधारवादी र्‍याप गाउँदै तातिएकाहरू चिसिएछन् । आखिर तिनले चिसै पानीले नुहाए भनेको सुन्दा चमत्कारै भने लागेन । मेरो मन्द मनले यत्ति भन्यो– उद्यमी महाशयहरू जेनजीयन रूपान्तरण, पारदर्शीता, सुधारका आवाज पनि आखिर ‘पदकै ठेक्का’मा पुगेर पूर्णविराम लागे हगी ?

उचालिनुसम्म उचालिएर थेचारिनु थियो त ‘मिलिजुली गरौँ, पद थपौँ, बाँडौँ खाऊँ’ भनेको भए भइहाल्थ्यो ! त्यत्रो रडाको किन गर्नु परेको ? आखिर निर्वाचनलगत्तै विधान संशोधन गरी नयाँ अवधारणा अनुसार इपान रूपान्तरणमा लैजाने मुद्दा त जेठ २५ गते कार्यसमितिको बैठकमै टुङ्‌गिएको रहेछ । मिलिसकेको मुद्दा उचालेर ‘दिउँसै पानीमा रामलीला’ किन देखाएको ?

कस्तो अचम्म र उदेकलाग्दो अवस्था– एकातिर निर्वाचन तयारी र मैदानमा उत्रिएका अनुहारले मत माग्दै थिए । अर्कोतिर, सहमति र सहकार्यबारे वार्ता भइरहेको थियो । अझ अर्को खेमा निर्वाचनै सार्ने तर्कका तर्कनामा व्यस्त देखिन्थ्यो । यो भन्दा अझ आचार्यजनक विषय त ‘सहमतिमै पदाधिकारी चयन गर्नुपर्छ’ भनेर त्यसको समन्वय गर्दै घोक हाल्ने पूर्व–अध्यक्ष नै आ–आफ्ना स्वार्थका प्यादामा अडान राखेको समेत देखियो ।

धिक्कार लाग्यो– जीवनभरि उद्यमशीलताको हलोले व्यवसायको खेत जोतेको यही दिन देख्न रहेछ । यसरी छलफल, कुराकानी, वार्ता, संवाद चलिरहे । कार्यसमिति चयनमा सहमतीय पद्धतिले मुख्य भूमिका खेल्ने देखियो । त्यसको पूर्वतयारी स्वरूप दुई सदस्यीय, त्रिसदस्यीय, चौसदस्यीय वार्ता चलिरह्यो । होटेलका कुनाकानी, छेउ, कुइँनेटो, आसन, मञ्च, गल्छेडो सबैतिर खासखुस भइरह्यो । कुन पद कसलाई बाँड्ने । कुन भर्‍याङ चढेर को कहाँ पुग्ने ? यस्ता खोसाखोस र लुछाचुँडी हर्कत देखिए ।

साँझ छिप्पिँदै गयो । होटेलभित्रको मधुरो उज्यालो चहकिँदै गयो । साँझ राततिर ढल्किँदै गयो । निर्वाचन समितिले ८ बजेदेखि ११ बजेसम्म निर्वाचन घोषणा गरेको थियो तर त्यसतर्फ कसैको ध्यान थिएन । निर्वाचनको रटान भइरहे पनि पद बाँडफाँटको सहमतीय मुद्दा बलियो थियो । मत हाल्ने समय पर्खेका उद्यमीहरू निवास फर्किन थाले । क्रमशः ८, ९, १० बज्यो । अधिकांश पदमा सहमति भएको सुनियो । यसबाट अनुमान गर्न बल पुग्यो– संस्थापन पक्ष नै निर्वाचन गराउन तयार छैन । लोकतान्त्रिक मञ्चमा लोकतान्त्रिक पद्धति ठहरै पर्‍यो ।

साङ्‌गठनिक जग बलियो र व्यावसायिक प्रतिष्ठा बढ्थ्यो भने निर्वाचन भनेर ‘कुम ठोक्नु’ जायज थिएन । काम गर्ने, परिणाम देखाउने र समृद्धिको हिस्सेदारी खोज्ने वर्ग चुनावी मैदानमा उत्रिएर ‘गोरु–जुधाई’ गर्नु शोभनीय हुँदैन ।

हुनत, यस्तो सङ्‌गठनले प्रजातान्त्रिक प्रणाली अपनाएर निर्वाचन जिते पनि संसद प्रवेश गर्ने होइन । नीति, नियम र कानुनको मस्यौदा लेख्न सक्दैन । विधि–पद्धत्ति र आपसी सहमतिमा कार्यसमिति चयन गर्दा बिग्रिने केही थिएन । त्यसले साङ्‌गठनिक जग बलियो र व्यावसायिक प्रतिष्ठा बढ्थ्यो भने निर्वाचन भनेर ‘कुम ठोक्नु’ जायज थिएन । काम गर्ने, परिणाम देखाउने र समृद्धिको हिस्सेदारी खोज्ने वर्ग चुनावी मैदानमा उत्रिएर ‘गोरु–जुधाई’ गर्नु शोभनीय हुँदैन ।

जे–जस्तो होस्, पदाधिकारी र कार्यसमितिमा पदीय भाग मिलेको सुनियो । एउटा कुरो भने बटारिएछ । ‘निर्वाचन हुनुपर्छ’ भन्दै अडिग कोषाध्यक्षका एक उम्मेदवार चोइटिएर हिँडेछन् । उनको अंशमा चित्तबुझ्दो पद परेन वा उनी साँच्चै सुधारवादी निर्वाचन पक्षधर थिए ? त्यो उनै जानुन् । ‘हात्ती छिरेर पुच्छर अड्किए’पछि केही उद्यमी पुच्छर खोज्न उडे । कोही फोन घुमाउँदै फनफनिए । कति अनुहार त मधुशालाको सुगन्ध बोकेर एकखुट्टे नाच नाच्न थाले ।

जसो गर्दा पनि अड्किएको पुच्छर फेला नपरेको सूचना आयो । अन्ततः कोषाध्यक्षमा मात्र निर्वाचन भयो । विजयी हुनुपर्ने भए । सिसाको भित्तामा उपविजेता आफ्ना प्रतिस्पर्धीसँग कुम जोडेर खिस्स हाँसेको देखियो । अब सिङ्‌गो कार्यसमिति मिल्नुपर्ने र मिलाउने लठारो सकियो । निर्वाचन समितिले पूर्ववत नामहरू भट्ट्यायो । अध्यक्षदेखि सदस्यसम्म चयनित अनुहार मञ्चमा उभिए । माला लगाए, अबिर घसे र विजयको उन्मुक्त हाँसो हाँसे । यति कामको मेलो सकिँदा घडीको सुई रातको १२ अङ्‌कबाट अझै पल्तिर पुगेको थियो ।

गिँजा तन्काउँदै फोटो खिच्दा, बधाई साटासाट गर्दा, त्यसलाई तात्तातै सञ्जालको किलामा झुन्ड्याउँदासम्म घडीको सुइ १ मा उक्लिसकेको थियो । घडी र पलाको विन्यास गर्दा यो ३० गतेको शिशुकाल थियो । २९ गते मरेर ३० गते जन्मिनु र भगीरथ प्रयत्नले परिणाम दिनु सुखद नै मानियो । यतिञ्जेल थकित र गलित केही थान पत्रकार साथीहरू सफलताको खबर लेख्न हौसिए । त्यो साइबरीय भित्तामा टाँसिँदै गयो । म शीत मिसिएको हावामा नुहाउँदै गुँड फर्किएँ । अखबारीय धन्ना सकेर ल्यापटप घोप्ट्याएँ । मन यी १९ घन्टामा घोरिरह्यो– उद्यमीहरूले कम्तीमा नैतिकताको कन्दनी जोगाए । यतिबेला सुदूर गाउँतिर पहिलोचोटी भाले बास्ने बेला भइसकेको थियो । म ३ बजेको शिरानी हालेर भक्लक्क ढलेँ ।

यात्राको दिशा

जसरी ऊर्जा उद्यमीका चारित्रिक विशेषता केलाइयो, उनीहरू ठ्याक्कै त्यही हुन् त ? नेपालमा अन्य व्यवसायमा समेत यस्तै हुन्छ ? वा, विश्वभर उद्यमी–व्यवसायीको चरित्र यस्तै हो ? विश्व–उदाहरण पेश गर्न लामै अनुसन्धानको खाँचो पर्ला तर नेपाली व्यवसायीका विशेषता करिब यिनै र यस्तै पाइन्छन् । तथापि, ऊर्जा अन्यको तुलनामा भिन्न प्रकृतिको उद्यम हो । आज सिङ्‌गो देशको व्यवसायमा जति लगानी भएको छ, त्यो भन्दा ज्यादा एउटै ‘ऊर्जा’ क्षेत्रमा भएको देखिन्छ । इपानकै आँकडाले ऊर्जा तथा जलविद्युत्मा रु. १५ खर्बभन्दा बढीको लगानी भइसकेको छ । यति ठूलो परिमाणको पुँजी अरू कुन क्षेत्रमा गयो होला ?

उनीहरूले हिँडेर आएको बाटो र उपलब्धि हेरौँ– त्यो अत्यन्त प्रशंसनीय र नतिजामुखी छ । तीन दशकभन्दा लामो अवधिदेखि लगानीकर्ताले राज्यको खर्बौँ रुपैयाँको भार आफ्नो काँधमा उठाएका छन् । सरकारले पर्याप्त लगानी गर्न नसकेको परिस्थितिमा कयौँ खोलानाला र भीरपहरासँग जुधेर देश अन्धकारमुक्त गरे भन्दा अत्योक्ति हुँदैन । देश विद्युत् निर्यातकर्ताको सूची चढ्नुमा समेत निजी क्षेत्रको विशेष योगदान छ । यस्तो ऐतिहासिक योगदान र विरासत भए पनि समग्र ऊर्जा व्यवसायी एक ढिक्का नहुनु चिन्ताजनक छ । तिनको मानसिकता र सोचाइको दायरा फराकिलो हुनै सकेको छैन ।

कति आफ्नै कारणले निराशा, अन्योल र चेपुवामा छन् । देशले अङ्‌गिकार गरेको खुला र उदार अर्थ–व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी राज्य संयन्त्रबाट भइरहेको निरन्तरको उपेक्षा, नीतिगत अस्थिरता र कर्मचारीतन्त्रीय अवरोधले यो क्षेत्र बाहिर जति चम्किलो छ, भित्रभित्रै त्यति नै प्रताडित छ । यो सङ्‌कटको कारण खोज्दै जाँदा राज्यको उदासीनता मात्र छैन । निजी क्षेत्रभित्रै मौलाएको आन्तरिक फुट, अस्वस्थ प्रतिस्पर्धा र कमजोर साङ्‌गठनिक एकता उत्तिकै जिम्मेवार देखिन्छ । हिजो इपान कमजोर भएकैले सरकार र यसका विभिन्न अङ्‌गले निजी क्षेत्रको घोडा चढे । हेप्ने र पेल्ने नीति लिँदै आए । यसका ज्वलन्त उदाहरण इतिहासका पाना र व्यवसायीका मानसपटलमा सुरक्षित छन् ।

सरकारले ऊर्जा क्षेत्रलाई प्रोत्साहन गर्न विगतमा प्रतिमेगावाट ५० लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने घोषणा गर्‍यो । यो सुन्दा जति आकर्षक र व्यवसायमैत्री थियो, व्यवहारमा त्यति नै ठूलो धोका भयो । कयौँ प्रवर्द्धकले यही सहुलियत पाइने आशमा आयोजनाको वित्तीय व्यवस्थापन गरे । दुःखसाथ निर्माण पूरा गरे । सरकारले भने नीतिगत प्रतिबद्धताबाट हात झिक्यो । ‘यो सहुलियत रोकिनु मात्रको अर्थ थिएन, राज्यले निजी क्षेत्रसँग गरेको साझेदारीमाथिको घात थियो’ भनेर इपानले बुझ्ने कि नबुझ्ने ?

सङ्‌कटमा सरकारले निजी क्षेत्रलाई बचाउन अनेकौँ सहुलियत र राहतका प्याकेज घोषणा गर्‍यो । ती कागजका पानामै सीमित रहे । सङ्‌कट टरेपछि पूर्णतः बिर्सिइयो । निजी क्षेत्र आफ्नो भाग्य–भरोसामै छटपटिइरह्यो ।

विगतमा देशले भोगेको विनाशकारी भूकम्प र त्यसलगत्तै सिर्जित अघोषित नाकाबन्दीले विद्युत् क्षेत्र सबैभन्दा बढी प्राताडित भयो । निर्माण सामग्री ढुवानीमा समस्या, महँगी र कामदार अभावले लागत र समय बढ्न गयो । यस सङ्‌कटमा सरकारले निजी क्षेत्रलाई बचाउन अनेकौँ सहुलियत र राहतका प्याकेज घोषणा गर्‍यो । ती कागजका पानामै सीमित रहे । सङ्‌कट टरेपछि पूर्णतः बिर्सिइयो । निजी क्षेत्र आफ्नो भाग्य–भरोसामै छटपटिइरह्यो ।

देशको जलविद्युत् विकासको थालनी साना (विशेषतः १० मेगावाटभन्दा साना) आयोजनाको भूमिका अतुलनीय छ । आज ती चरम आर्थिक र प्राविधिक सङ्‌कटमा छन् । प्रसारण लाइन अभावमा उत्पादित बिजुली खेर जानु वा कन्टिन्जेन्सीले थला पर्नु, बैंकको ब्याज बढ्नु, रोयल्टी तथा करको बोझले ‘रुग्ण’ छन् । समस्या समाधान गरिदिन अनुरोध गरे । दबाब दिए । आन्दोलन नै गरे । ‘विद्युत्गृह बन्द गरिदिन्छौँ, साँचो बुझ सरकार’ भनेर धम्क्याए । आंशिक समस्या समाधान भए पनि ती तङ्‌ग्रिएकै छैनन् ।

त्यस्ता आयोजनामा सरकारमात्र होइन, इपानको समेत दृष्टि परेन । आफैँ उभिएको भुइँ, आफैँले निर्माण गरेको जग र आफैँ हिँडेर आएको बाटो बिर्सिएजस्तो देखियो । आज जो–जो प्रवर्द्धकले ठूला आयोजना निर्माण गर्ने हिम्मत गरेका छन् । ती प्रशंसनीय छन् तर आफ्नै इतिहास भेट्न खोज्नु वा बेवास्ता गर्नु कृतघ्नताको पराकाष्ठा मान्नुपर्छ । साना–ठूलाको भेद देखाउनु, सुकिलोमुकिलो भएपछि गरिब र झुत्रेझाम्रेलाई घृणा गर्नु पक्कै व्यावसायिक धर्म होइन । यो साङ्‌गठनिक एकताको बाधक हुन्छ । आफ्नै चिहान खनिरहेजस्तो हुन्छ ।

मुद्दामा बहस

राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो मूल्य निजी क्षेत्रले चुकाउनु परिरहेको छ । सरकार परिवर्तन हुँदैपिच्छे वा राजनीतिक दलका नेताले मन्त्रालय सम्हाल्नासाथ निजी क्षेत्रलाई सहजीकरण होइन, नियन्त्रण गर्ने बुद्धि पलाउँछ । नयाँ मन्त्रीको पहिलो वक्तव्य आउँछ– निजी क्षेत्रले झोलामा खोला राखेकाले अनुमतिपत्र (लाइसेन्स) खारेज गरिदिन्छु । अनुमतिपत्र खारेजीको हतियार देखाएर व्यवसायीलाई सधैँ रक्षात्मक कित्तामा पुर्‍याइन्छ । उनीहरू आफ्नो हक–अधिकारका लागि आवाज उठाउनुको साटो लगानी जोगाउने चिन्तामा सङ्‌कुचित हुन पुग्छन् ।

देश खुला र उदार अर्थ व्यवस्थामा प्रवेश गरेको तीन दशकभन्दा बढी भइसक्यो । सिद्धान्ततः सरकारले जलविद्युत् उत्पादन, प्रसारण र बजार विस्तारमा निजी क्षेत्रलाई अगाडि सार्ने, उससँग सहकार्य गर्ने र सार्वजनिक–निजी साझेदारी (पिपिपी) को मोडलमा काम गर्ने पर्याप्त नीतिगत दस्ताबेज लेखिए । नीति, नियम र कानुन एकातिर छन् । सरकारको नियन्त्रणमुखी व्यवहार र कार्यशैली ठ्याक्कै उल्टो छ । कागजमा सहजीकरण लेखिन्छ । कदम–कदममा प्रशासनिक अड्चन, फाइल रोकेर नियन्त्रण गरिन्छ ।

प्रसारण लाइन निर्माण निजी क्षेत्रलाई दिने भनिए पनि विद्युत् प्राधिकरणको एकाधिकार कायमै छ । विद्युत् व्यापार/बजार आन्तरिक तथा बाह्य व्यापारको अनुमति दिने विषय कागजमै छ । सरकारको केन्द्रीकृत र नियन्त्रणमुखी सोच फेरिएन । आधुनिक आर्थिक सोच कहिल्यै आत्मसात् गर्न सकेन । विद्युत् क्षेत्र सुधार्न होइन, निजी क्षेत्रलाई तर्साएर, धम्क्याएर स्वार्थ अनुकूल असुली गर्ने परिपक्व प्रपञ्च रचिन्छ ।

विद्युत् खरिद सम्झौता (पिपिए) रोकिएको वर्षौँ भयो । सेयरको प्राथमिक निष्कासन (आइपिओ) र हकप्रद सेयर निष्कासनको समस्या उस्तै छ । इपानले यहाँनिर साँझा आवाज बोल्नुपर्ने हो कि होइन ? त्यसो गर्न नसक्नु साङ्‌गठनिक संरचना कमजोर भएरै होइन ?

राज्यले निजी क्षेत्रलाई दशकौँदेखि पेल्दै आउनुमा जति सरकार दोषी छ, त्योभन्दा कम ऊ आफू पनि छैन । आन्तरिक कमजोरी र आत्मघाती प्रवृत्ति डरलाग्दो गरी जकडिएको छ । उद्यमीहरू आज आफैँ–आफैँमा लडिरहेका छन् । कुरा अर्ब, खर्ब भन्दा साना गर्दैनन्, सोच र प्रवृत्ति झिँगाको पित्तजत्रो छ ।

राज्यले निजी क्षेत्रलाई दशकौँदेखि पेल्दै आउनुमा जति सरकार दोषी छ, त्योभन्दा कम ऊ आफू पनि छैन । आन्तरिक कमजोरी र आत्मघाती प्रवृत्ति डरलाग्दो गरी जकडिएको छ । उद्यमीहरू आज आफैँ–आफैँमा लडिरहेका छन् । कुरा अर्ब, खर्ब भन्दा साना गर्दैनन्, सोच र प्रवृत्ति झिँगाको पित्तजत्रो छ । इपान वा निजी क्षेत्रका मुद्दा स्थापित गर्न आजसम्म को–कसले कस्तो भूमिका खेले ? यो पूर्णतः बिर्सिइएको छ । ऊ यहाँसम्म आइपुग्नुमा नितान्तः आफ्नै बल, पौरख र मुढे शैलीमात्र कारक मान्छ । ऊ आफ्नो सिर्जनात्मक आलोचना पचाउन सक्दैन ।

कुनै व्यक्ति वा संस्थाले ९९ गुण लगायो र काम गर्दै गर्दा एउटै मात्र त्रुटी हुन गयो भने ऊ दन्तबजानमा उत्रिहाल्छ । त्यो पक्षको घाँटी थिचेर पाताल पुर्‍याउन कम्मर कस्छ । ‘म व्यवसायी हुँ, संयमित हुनुपर्छ, आलोचना मेरै सुधारका लागि हुन सक्छन्, तिनको समीक्षा गर्नुपर्छ’ भन्ने पक्षमा इपान वा निजी क्षेत्र कहिल्यै तयार देखिँदैन । ‘खर्बौँ खर्बको भारी बोकेर हिँडिरहेको छु’ भन्ने दम्भ पाल्छ तर शालीनता, भद्रता र सौम्यता विरलै देख्न र सुन्न पाइन्छ । यी चारित्रिक, नैतिक र व्यावसायिक निष्ठाका मुद्दा स्थापित गर्नुपर्ने समय आएको होइन ?

बजारमा स्वस्थ र व्यावसायिक प्रतिस्पर्धा हुनुपर्नेमा निकृष्ट चालबाजी चल्छन् । एक व्यवसायीले अर्कोलाई कमजोर बनाउने, कसको आयोजनाको पिपिए रोकिदिने वा आफ्नो मात्र अगाडि बढाउने खेल देखिएकै हो । कसको अनुमतिपत्र खारेज गराउन सरकारी अधिकारी उचाल्ने जस्ता निकृष्ट आत्मघाती लोकवञ्चनाबाट निजी क्षेत्र मुक्त हुनुपर्छ । फाइदा हेरेर प्रतिस्पर्धीलाई पछार्ने र व्यक्तिगत स्वार्थमा शक्तिकेन्द्रको चाकडी गर्ने नियत सुध्रिनुपर्छ । अब सामूहिक मुद्दामा एकजुट भएर एक–अर्काको अस्तित्व र व्यावसायिक मर्यादा स्वीकार्न सक्नुपर्छ । आपसी वैमनस्यताले निजी क्षेत्र समाज तथा सरकारको नजरमा सधैँ अविश्वसनीय र कमजोर रहन्छ । जब आफैँ विभाजित भइन्छ, तब सरकार शासन गर्न हौसिन्छ । उनीहरूका माग रद्दीको टोकरीमा फ्याँकिदिन सजिलो हुन्छ ।

दिशानिर्देश

उठाउनुपर्ने र लड्नुपर्ने मुद्दाहरू दर्जनौँ छन् । ती मुद्दा तबमात्र स्थापित हुन्छन्, जब इपानको आफ्नै साङ्‌गठनिक जग बलियो हुन्छ । इपानले सरकार वा नीतिगत तहमा आफ्ना माग दृढतासाथ राख्नुअघि घरभित्रको विवाद र अन्योल सल्टाउनुपर्छ । हालको सबैभन्दा टड्कारो र समाधान गरिहाल्नुपर्ने मुद्दा कार्यसमितिको वैधानिकता हो । तत्काल कानुनी र विधानसम्मत तवरले टुङ्‌गो लगाएर ‘हामी एक छौँ’ भन्ने सन्देश दिनुपर्छ ।

संस्थाभित्रै कानुनी वा प्रक्रियागत अस्पष्टता रहँदासम्म साङ्‌गठनिक जग हलिइरहन्छ । राज्यका निकायले झनै कमजोर कडी मानिरहन्छन् । एकढिक्का र पारदर्शी भएपछि सरकारसँग लड्ने, भिड्ने वा रचनात्मक सहकार्य वा साझेदारीको बाटो फराकिलो हुन्छ । सदस्यहरूका लागि आचारसंहिता नै निर्माण होस्, जसले आन्तरिक अस्वस्थ प्रतिस्पर्धा, एक–अर्काविरुद्धका कुकृत्य निरुत्साहित हुन सकून् ।

दोस्रो चरणमा राज्यसँगको लडाइँ र नीतिगत पैरवीको खाँचो छ ।

इपानले गम्भीर र निर्मम समीक्षा गरोस्– हामीले तय गरेको बाटो सही छ वा गलत ? अनुमतिपत्र लिएर आयोजनाबाट विद्युत् उत्पादन हुँदासम्मका उपलब्धिमा राज्यको सहकार्य, साझेदारी, पेलाइ वा हेपाई के रह्यो ? निर्माण क्रममा आफ्ना बलमिच्याइँ वा कमीकमजोरी कहाँ रहे ? यी प्रश्नको उत्तर आफैँभित्र खोजौँ । यो सङ्‌कटपूर्ण अवस्थाबाट पार पाउन र ‘ऊर्जा’लाई देशको आर्थिक समृद्धिसँग जोड्ने कार्यशैलीमा व्यापक रणनीतिक सुधार अपरिहार्य छ ।

कानुन निर्माणमार्फत सहजीकरण गर्नुपर्ने र उत्पादन, प्रसारण तथा बजार विस्तारको जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्ने माग प्रमुख बनोस् । रुग्णको पुनरुत्थानः १० मेगावाट साना र सङ्‌कटग्रस्त आयोजना बचाउन विशेष आर्थिक प्याकेज, बैंकको ब्याजदरमा सहुलियत र रोयल्टी मिनाहाको रणनीतिक अभियान चालियोस् । राजनीतिक परिवर्तनसँगै ‘अनुमतिपत्र खारेजीको पटके त्रास’ निमिट्यान्न पार्ने अस्त्र चलोस् ।

अतः साङ्‌गठनिक एकता, पारदर्शिता र पारस्परिक सम्मानको विधि अनिवार्य सर्त हुनुपर्छ । निजी क्षेत्र एक ढिक्का हुन सके निरंकुश वा उपेक्षाकारी सरकार झुक्न र सहकार्यको हात बढाउन बाध्य हुनेछ । ऊर्जा विकासको साँचो सरकारको खल्तीमा होइन, निजी क्षेत्रकै आन्तरिक एकतामा छ । समृद्ध उद्यमशीलताका लागि मम भनौँ र प्रगतितर्फ लम्कियौँ । आगामी निर्वाचनहरू यसरी केलाउने दिन नआओस् । अस्तु !

प्रतिक्रिया दिनुहोस

लक्ष्मण वियोगी

जलस्रोत, ऊर्जा तथा समसामयिक आर्थिक क्षेत्रमा केन्द्रित रहेर कलम चलाउने वियोगी सम्पादक हुन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३