विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बैशाख सुरु भए यता उपत्यकासहित देशभर विद्युत आपूर्ति अनियमित हुने क्रम बढेको छ । लामो समयपछि वर्षा हुँदा वितरण प्रणालीमा आएको समस्याले अनियमित हुन पुगेको विद्युत आपूर्ति फेरि नियमित हुन नसकेको हो ।

बिना सूचना छिनछिनमा झ्याप–झ्याप विद्युत लाइन काटिने गरेको छ । वितरण प्रणालीकाे समस्याकै कारण बिहीबार पनि देशभरमा ३७०० मेगावाट घन्टा विद्युत नेपाल विद्युत प्राधिकरणकाे प्रणालीबाट बिच्छेद भएकाे देखिन्छ ।

विद्युत प्राधिकरणले समस्याग्रस्त लाइनको मर्मत गरेर आपूर्ति नियमित गर्ने गरेता पनि यो समस्या दैनिक जसो दोहोरिँदै आएको छ । कुनै बेला केहीबेरमै आपूर्ति सुचारु हुने भए पनि कहिले काहीं घन्टौंसम्म विद्युत सेवा अवरुद्ध भइरहन्छ । एकै पटकमा दर्जनौं स्थानको विद्युत आपूर्ति अवरुद्ध हुन्छ । 

यो समस्या अहिलेको मात्रै होइन । लोडसेडिङ अन्त्यपछि पनि उपभोक्ताले निरन्तररूपमा यस्तो समस्या झेल्दै आएका छन् । ललितपुर,इमाडाेल निवासी प्रतिमा थापाले विद्युत आपूर्ति अनियमित हुँदा छाेरा छाेरीकाे विद्यालयकाे अनलाइन कक्षा प्रभावित हुने गरेकाे गुनासाे गरिन् । ‘खै किन हो जुन सुकै बेला बत्ती गइरहन्छ,’ उनले भनिन्,‘यसरी बत्ती जाँदा नानीहरूको अनलाइन कक्षा प्रभावित हुँदा उनीरूलाई पढाईमा समस्या भइरहेको छ ।’

काठमाडाैं, काँडाघारीकी राधा बुढाथाेकीकाे गुनासाे पनि थापाकाे जस्तै छ । उनी भन्छिन्, ‘हामीलाई बढी बिजुली चाहिने भनेको बिहान र साँझको समयमा हो । केही दिन भयो झ्याप–झ्याप बत्ती गइरहेको छ । नो लाइनमा फोन गर्यो, मर्मत हुँदैछ भन्छन् । बत्ती कुर्दा कुर्दै अरु काममा पनि प्रभाव पर्छ ।’

यससम्बन्धमा विद्युत प्राधिकरणसँग बुझ्दा चैत–बैशाखमा आउने हावाहुरी, असिना पानी र चट्याङ् परेका बेलाबाहेक अन्य समयमा विद्युत आपूर्ति नियमित नै रहेको जवाफ आउने गरेको छ । प्राधिकरणका अनुसार हावाहुरीसहितको वर्षाले वितरण प्रणालीमा आउने गड्बडीका कारण विद्युत आपूर्ति अनियमित हुन्छ ।

गत साताको हावाहुरीसहितको वर्षाका कारण विद्युतीय संरचनामा क्षति पुगेकाले मात्रै उक्त समयमा आपूर्ति अनियमित भएको प्राधिकरण कुलेश्वर  वितरण केन्द्र प्रमुख बाबुराम सुवेदीले बताए । ‘हाम्रो वितरण प्रणाली हावाहुरीबाट जोखिने खालको छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘हावाहुरी र वर्षाका कारण समस्या आइहाले मर्मत गरेर आपूर्ति सुचारु गर्नुको विकल्प छैन ।’ विद्युत वितरण प्रणाली भूमिगत भएपछि मात्रै आपूर्तिमा अहिले देखिएको समस्या समाधान हुने उनले बताए ।

हिउँदमा उत्पादन कम र माग बढी हुँदा वितरण प्रणालीले धान्न नसक्दा तथा चैत–बैशाखमा हावाहुरी, वर्षा र चट्याङ पर्ने कारणले संरचनामा क्षति पुग्दा हरेक वर्ष यस्तो समस्या आइरहन्छ ।

उपत्यका बाहिरकाे बत्ती काटिने समस्या अझै विकराल छ । विराटनगर, धरान, भरतपुर, बुटवल, नेपालगन्ज, पाेखरा, धनगढी जस्ता मुख्य सहरदेखि गाउँसम्मकै उपभाेक्ताले जथाभावी बत्ती काटिने समस्या झेलिरहेका छन् ।

बिग्रिएकाे लाइन मर्मत गरेर आपूर्ति सुचारु गर्न घन्टाैं लाग्छ । प्राधिकरणको प्रसारण तथा वितरण संरचना दशकौं पुरानो छ । यिनै संचना मर्मतरसंभार गरेर काम चलाइरहेको छ । वर्षेनी माग बढे पनि पुराना संरचना भएका कारण मागअनुसार लोड लिन नसक्दा जथाभावी बत्ती काटिने गरेको छ ।

वितरण प्रणालीका संरचना २०औं वर्ष पुराना भएकाले हावाहुरी र पानी झरीमा बत्ती काटिने समस्या आउने गरेको प्राधिकरण बुटवल प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए । ‘विद्युतका पोल कोही दायाँ झुकेका छन्, कोही बायाँ झुकेका छन् । विद्युतको पोलमा टेलिफोन, इन्टरनेट, केबल टिभीको तार झुन्ड्याएकाले पनि हावाहुरी आउँदा यी पोल ढल्छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘यही कारण हो हावाहुरी चल्दा, पानी झरी पर्दा बत्ती जाने ।’

उनले वितरण लाइनको पनि आयु हुने हुँदा पुराना, होचा पोल नयाँ र अग्ला पोलले प्रतिस्थापन गरेर सुधार गर्न आवश्यक रहेको बताए । वितरण लाइनको छेउमा लगाइने रुख विरुवाले तार छुने, चुँड्याउने समस्याले  गर्दा समेत आपूर्ति अनियमित भइरहेको उनको भनाइ छ ।

आपूर्ति नियमित ट्रान्सफर्मर थपेर ओभर लोडेड सबस्टेसन तथा वितरण लाइनको स्तरोन्नति गरी सञ्चालन गरिएको छ । तर, यो तत्कालका लागि आपूर्ति व्यवस्थापन गर्ने उपाय मात्रै हो । अहिले दैनिक जसो नियमित वर्षा भइरेकाले बत्ती काटिने क्रम पनि नियमित छ ।

के कारणले छिन–छिनमा काटिन्छ त बत्ती ?
जलविद्युतगृहदेखि १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको ग्रिडसम्म आउने विद्युत देशभरका वितरण केन्द्रको सबस्टेसनमा ३३ केभी लाइनबाट पुर्याइन्छ । ग्रिडबाट सबस्टेसनमा आइपुगेको विद्युत ११ केभीको अर्को वितरण लाइनबाट उपभोक्ताको घरसम्म पुग्छ ।

विद्युतगृहदेखि ग्रिड, सबस्टेसन र उपभोक्ताको घर–घर पुग्ने प्रसारण तथा वितरण लाइनमा खराबी आउँदा आपूर्तिमा समस्या आउने गरेकोे छ । विद्युतगृहदेखि वितरण लाइनसम्म कुनै एक संरचनामा प्राविधिक समस्या आए उपभोक्ताको घरमा बत्ती काटिन्छ । यस्तो समस्या देशभरी नै छ । 

कमजोर संरचनाकै कारण हावा–हुरी चल्दा, वर्षा हुँदा र आकाश गड्याङ–गुडुङ गर्दा प्रसारण तथा वितरण लाइन चुँडिने, ट्रान्सफर्मर जल्ने तथा पड्किने, रुख ढलेर पोल र तारमा लाग्दा विद्युत आपूर्ति बन्द हुँदा उपभोक्ताले सास्ती खेप्नु परिरहेको छ ।

रुखको हाँगा–बिँगाले विद्युतीय तारमा छुने, फ्युज बिग्रिने, पिन, डिस्क इन्सुलेटर फुट्ने तथा पन्चर हुने समस्याले पनि लाइन काटिने गरेको छ । यही कारण प्रसारण तथा वितरण प्रणालीले लोड नलिएपछि बेला–बेलामा जलविद्युतगृह बन्द गर्नुपर्ने अवस्था आउने गरेको प्राधिकरणले जनाएको छ ।

तत्कालका लागि गड्बडी भएको लाइन मर्मत गरेर आपूर्ति सुचारु गर्ने गरेको छ । संरचना नथपिँदासम्म यसरी नै आपूर्ति नियमित गर्नु बाहेकको विकल्प पनि छैन ।

अहिलेको वितरण प्रणालीको समस्या समाधानका लागि उपत्यकामा भूमिगत वितरण लाइन निर्माणको काम सुरु गरिएको छ । तर, भूमिगत वितरण लाइन निर्माणमा पनि अनेक समस्या आइरहेका छन् । यही कारण अहिलेको वितरण प्रणालीको समस्या तत्काल समाधान हुने देखिँदैन । यो समस्या समाधान नहुन्जेल विद्युत आपूर्ति अनियमित हुने क्रम दशकौंसम्म पनि रहिरहनसक्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit