विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

लिस्वन । युरोपियन युनियनमा आवद्ध पोर्चुगलले कोइलामा आधारित थर्मल प्लान्टबाट विद्युत उत्पादन बन्द गरेको छ । पोर्चुगल जलवायु परिवर्तनको असर न्युनिकरण गर्न कार्बन उत्सर्जन घटाउने उद्देश्यले थर्मल प्लान्टका लागि कोइलाको उपयोग शून्यमा झार्ने निर्णयमा पुगेको हो ।

अन्तिम पटक राजधानी लिस्वनदेखि १५० किलोमिटरको दुरीमा अवस्थित ६२८ मेगावाटको पेगो थर्मल प्लान्टको उत्पादन बन्द गरेसँगै पोर्चुगल विद्युत उत्पादन गर्न कोइलाको उपयोग बन्द गर्ने युरोपियन युनियनमा आवद्ध चौंथो देश बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूले जनाएका छन् । यो थर्मल प्लान्ट सन् १९८७ देखि निर्माण सुरु भई सन् १९९५ मा सम्पन्न भई सञ्चालनमा आएको थियो ।

पोर्चुगलअघि युरोपियन युनियनमा आवद्ध बेल्जियम, अष्ट्रिया र स्वीडेनले कोइलामा आधारित थर्मल प्यान्टबाट विद्युत उत्पादन बन्द गरेका थिए । पोर्चुगलले प्रतिबद्धता जनाएको भन्दा १० दिन अगाडि नै कोइलामा आधारित थर्मल प्लान्टहरू बन्द गरेको समाचारमा जनाइएको छ ।

पोर्चुगलभर १० वटा थर्मल प्लान्ट निर्माण भएकामा ३ वटा कोइलामा आधारित थिए । ३ मध्ये १३३० मेगावाटका २ थर्मल प्लान्ट यसअघि नै बन्द भइसकेका छन् । पोर्चुगलले पेट्रोलियम इन्धनमा आधारित ३ वटा थर्मल प्लान्ट पनि बन्द गरिसकेको छ । अहिले प्राकृतिक ग्यासबाट चल्ने ४ वटा थर्मल प्लान्टमात्रै सञ्चालनमा छन् । १७ वटा जलविद्युत आयोजना सञ्चालनमा छन् ।

पोर्चुगलले जलविद्युतसहित, वायु र सौर्य ऊर्जाका स्रोतबाट नवीकरणीय ऊर्जा उत्पादन गर्दै आएको छ । कूल जडित क्षमताको २८ प्रतिशत हिस्सा जलविद्युतको रहेको छ । २४ प्रतिशत हिस्सा वायु ऊर्जाको छ भने २.२ प्रतिशत हिस्सा सौर्य विद्युतको रहेको छ ।

प्रतिबद्धता जनाइसकेपछि तत्कालै कोइलाको उपयोग बन्द गर्ने निर्णय कार्यन्वयनमा पुग्ने राष्ट्रको उदाहरणकोरूपमा पोर्चुगललाई लिन युरोप बियोन्ड कोलका अभियान निर्देशक कथ्रिन गुटमनले बताए । उनले एक पटक प्रतिबद्धता जनाइसकेपछि कोइलामा आधारित थर्मल प्लान्ट बन्द गर्ने अभियानलाई पनि गति दिइएकाले नै पोर्चुगलले यो सफलता पाएको बताए । 

उनले नवीकरणीय ऊर्जाको उपयोगमा बढेपछि कोइलाको खपत शून्यमा झार्न सहज हुने बताए । पोर्चुगल आफैंले कोइला, पेट्रोलियम पदार्थ, ग्यास उत्पादन गर्दैन । कोइला, ग्यास र तेल आयातमा अन्य राष्ट्रमाथि निर्भर हुनु परेकाले पनि पोर्चुगलले दशकअघिदेखि नवीकरणीय ऊर्जा उत्पादनमा लगानी बढाउँदै लगेको छ ।

उनले कोइला प्रतिस्थापन गर्ने निहुँमा पेट्रोलियम पदार्थ र अस्थिर बायोमासको उपयोग बढाउने गल्ती गर्न नहुने चुनौती युरोपियन मुलुकलाई रहेको बताए । अधिक कार्बन उत्सर्जन गर्ने कोइलामा आधारित थर्मल प्लान्ट बन्द गर्ने अभियान युरोपभर चलिरहेको छ । सन् २०३० भित्र युरोपभर कोइलामा आधारित थर्मल प्लान्ट बन्द गरिसक्ने लक्ष्य राखिएको छ ।

हालै स्कटल्याण्डमा सम्पन्न जलवायु परिवर्तन सम्मेलनमा अधिक कार्बन उत्सर्जन गर्ने इन्डोनेसिया, भियतनाम, पोल्याण्ड, दक्षिण कोरिया, युक्रेनसहितका ३२ देशले कोइलामाथिको निर्भरता शून्यमा झार्ने प्रतिबद्धता जनाएका छन् । कूल ४७ राष्ट्रले ‘ग्लोबल कोल टु क्लिन पावर ट्रान्जिसन स्टेटमेन्ट’ को समर्थन जनाएका छन् । साथै, नवीकरणीय ऊर्जा उत्पादनलाई पनि तिब्रता दिई ऊर्जा दक्षताको उपायमा जाने प्रतिबद्धता पनि जनाएका छन् ।

कोइलामा आधारित थर्मल प्लान्ट कार्बन उत्सर्जनको सबैभन्दा ठूलो स्रोत बन्दै गएको विश्वभरका प्लान्ट बन्द गर्नुपर्ने चुनौती बढेको छ । कोइला प्लान्टबाट चीन र भारतले सबैभन्दा बढी कार्बन उत्सर्जन गर्दै आएका छन् । यी दुई देशले पनि कार्बन उत्सर्जन कम गर्न कोइलामा आधारित थर्मल प्लान्टबाट हुने विद्युत उत्पादन क्रमशः घटाउँदै लैजाने र नवीकरणीय ऊर्जा उत्पादनमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit