काठमाडौँ । विद्युत् विकास विभागले हालसम्म ११ हजार २०२ मेगावाटका २९९ वटा विद्युत् आयोजनाको उत्पादन अनुमतिपत्र जारी गरेको छ । यस्तो अनुमतिपत्र लिने आयोजनाहरूमा जलविद्युत्, सौर्य विद्युत् र सह-उत्पादन (को-जेनेरेसन) का रूपमा विद्युत् उत्पादन गर्ने आयोजनाहरू रहेका छन् ।
यी मध्ये १ मेगावाटभन्दा ठूला २६३ वटा जलविद्युत् आयोजना रहेका छन् । जसको कुल जडित क्षमता ११ हजार ९७ मेगावाट रहेको छ । त्यस्तै, १ मेगावाटभन्दा साना २३ वटा जलविद्युत् आयोजना छन् । जसको क्षमता १७.६३८ मेगावाट रहेको छ । यसरी सानाठूला गरी कुल २८६ आयोजनाले ११ हजार ११५ मेगावाट जलविद्युत् उत्पादनका लागि अनुमतिपत्र लिएको विभागको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै विभागका तथ्याङ्क अनुसार सौर्य ऊर्जा क्षेत्रका ८४.४ मेगावाटका १२ आयोजनाले उत्पादन अनुमतिपत्र लिएका छन् । नेपालमा हालसम्म सञ्चालनमा आएका २५ सौर्य विद्युत् केन्द्रहरूको कुल जडित क्षमता १४१.७४ मेगावाट पुगेको छ । पछिल्लो समय सौर्य विद्युत् आयोजना विकासको क्रम बढ्दै गएको देखिएको छ ।
विभागको तथ्याङ्क अनुसार सह–उत्पादनमा आधारित एउटा आयोजनाले ३ मेगावाट विद्युत्को उत्पादन अनुमतिपत्र लिएको छ । नेपालमा खास गरी केही चिनी उद्योगहरूले उखुको खोइला (बगास) बाट ब्वायलर चलाएर बाफबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोडेका छन् ।
विभागको तथ्याङ्क अनुसार हालसम्म वायु ऊर्जा र बायोमास क्षेत्रका कुनै पनि विद्युत् आयोजनाले उत्पादन अनुमतिपत्र लिएको देखिँदैन ।