काठमाडौँ । नेपालको विद्युत् क्षेत्रमा खुला पहुँच (ओपन एक्सेस) कार्यान्वयनको विषयमा बहस तथा छलफल गर्ने उद्देश्यले इलेक्ट्रिकल इन्जिनियर्स वेलफेयर एसोसिएसन (इइए) नेपालले वेबिनार कार्यक्रम आयोजना गर्ने भएको छ । एसोसिएसनले आफ्नो वेबिनार सिरिजको तेस्रो सिजनअन्तर्गत पहिलो एपिसोडमा ‘नेपालमा खुला पहुँचको कार्यान्वयन’ विषयलाई प्राथमिकतामा राखेको छ ।
नेपालको विद्युत् उत्पादन क्षमता बढ्दै गएको र विद्युत् व्यापारको दायरा विस्तार हुँदै गएको अवस्थामा खुला पहुँचको कार्यान्वयनलाई महत्त्वपूर्ण विषयका रूपमा हेरिएको छ । विद्युत् प्रसारण तथा वितरण पूर्वाधारको प्रभावकारी उपयोग, विद्युत् बजारको विकास र प्रतिस्पर्धात्मक वातावरण निर्माणसँग जोडिएको यस विषयमा विज्ञ तथा सरोकारवालाबीच छलफल गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको इइए नेपालले जनाएको छ ।
विद्युत् तथा ऊर्जा क्षेत्रमा कार्यरत इन्जिनियर, प्राविधिक, विद्यार्थी, अनुसन्धानकर्ता र सरोकारवालाको ज्ञान तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एसोसिएसनले वेबिनार सिरिजको तेस्रो सिजन सञ्चालन गर्न लागेको हो। यसअघि सम्पन्न दुई सिजनको अनुभव र सहभागितालाई आधार बनाएर तेस्रो सिजनलाई थप व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउने एसोसिएसनको लक्ष्य छ ।
इइए नेपालका अध्यक्ष इन्जिनियर शिवनारायण गोशलीले वेबिनार सिरिज सिजन ३ लाई संस्थाको व्यावसायिक तथा संस्थागत उद्देश्यसँग जोडिएको पहलका रूपमा लिएका छन् । उनका अनुसार यस सिजनमा नेपालको विद्युत् तथा ऊर्जा क्षेत्रका समसामयिक प्राविधिक, व्यवस्थापकीय र नीतिगत विषयलाई प्राथमिकता दिइनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका विज्ञलाई एउटै मञ्चमा ल्याएर उनीहरूको ज्ञान, अनुभव र नवीन अभ्यासबारे छलफल गरिनेछ ।
एसोसिएसनका कोषाध्यक्ष इन्जिनियर बिसम बिनोद खनालले यस सिजनमा कार्यक्रमको गुणस्तर, विज्ञहरूको सहभागिता, प्रविधिको प्रभावकारी प्रयोग र देशभरका सहभागीको पहुँचमा विशेष ध्यान दिइने बताए । कार्यक्रमका प्रस्तुति, छलफल र सहभागीका सुझाव अभिलेखीकरण गरेर भविष्यमा अध्ययन, अनुसन्धान तथा नीतिगत छलफलमा समेत उपयोग गर्ने योजना रहेको उनले जानकारी दिए ।
तेस्रो सिजनमा खुला पहुँचसँगै नेपालको विद्युत् तथा ऊर्जा क्षेत्रका अन्य समसामयिक विषयमा समेत निरन्तर बहस र ज्ञान आदानप्रदान गरिने एसोसिएसनले जनाएको छ । यसबाट विद्युत् क्षेत्रका जनशक्तिको व्यावसायिक क्षमता अभिवृद्धि हुनुका साथै क्षेत्रको विकास र नीतिगत सुधारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।