काठमाडौं । नेपाल–श्रीलंका चेम्बर अफ कमर्सको २०औं वार्षिक साधारणसभाले ऊर्जा उद्यमी नरेन्द्रबल्लभ पन्तको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । मंगलबार राजधानीमा सम्पन्न साधारणसभाले उक्त पदमा निर्विरोध चयन गरेको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्षसमेत रहेका पन्त आगामी चार वर्षे कार्यकालका लागि नेतृत्वको जिम्मेवारीमा पुगेका छन् । नवगठित कार्यसमितिको मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा प्रदिपलाल श्रेष्ठ तथा उपाध्यक्षमा चंकी क्षेत्री र सुदेश उपाध्याय निर्वाचित भएका छन् ।
यसैगरी, महासचिवमा शिवांगी शाह, कोषाध्यक्षमा अभिषेक अग्रवाल तथा सचिवमा मनिश राजभण्डारी र सुनिता सिंह चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा राजेश शाक्य, धिरज कार्की, सुमन श्रेष्ठ, रञ्जन खड्का, रश्मी जोशी, सुधिर अग्रवाल, विवेक झा, सुमेध शाक्य, रिकेन महर्जन, नवराज बजगाईँ, मीना महर्जन, अमुल अग्रवाल, लक्ष्मण न्यौपाने, सञ्जय कुमार सिंघानियाँ, कुमार दाहाल र प्रविण बान्का निर्वाचित भएका छन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पन्तले आफ्नो चार वर्षे कार्यकालमा नेपाल र श्रीलंकाबीचको ऐतिहासिक सम्बन्धलाई ठोस आर्थिक तथा व्यावसायिक विकाससँग जोड्ने स्पष्ट कार्ययोजना प्रस्तुत गरे । द्विपक्षीय लगानी प्रवर्द्धन आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै उनले भने, 'नेपालको लगानी श्रीलंकामा लैजाने र श्रीलंकाको नेपालमा भित्र्याउने वातावरण बनाउनेछौं ।'
ऊर्जा क्षेत्रमा श्रीलंकाको एउटा कम्पनी नेपाल आइसकेको छ भने थप जलविद्युत् आयोजनामा पनि उनी इच्छुक देखिएको पन्तको भनाइ छ । व्यापार घाटा कम गर्न र निर्यात प्रवर्द्धन गर्न ठोस कदम चाल्ने बताउँदै आगामी जनवरीमा एक व्यावसायिक प्रतिनिधिमण्डल श्रीलंका भ्रमणमा जान लागेको उनले जानकारी दिए ।
'श्रीलंका चेम्बर अफ कमर्ससँगको सहकार्यमा 'एक्सपो' आयोजना गर्ने योजना छ । मेरो नेतृत्वमा श्रीलंकाको प्रसिद्ध दालचिनी तथा मसलाजन्य (स्पाइसेस) व्यवसायमा सहकार्य गर्दै नेपालका मौलिक हस्तकला तथा मिथिलाका उत्पादनलाई श्रीलंकाली बजारमा पठाउने लक्ष्य राखेका छौं,' उनले भने ।
सोही अवसरमा नेपालका लागि श्रीलंकाली राजदूत रुवन्थी डेल्पिटियाले दुई देशबीचको पुरानो र मित्रवत सम्बन्धको स्मरण गर्दै आगामी दिनमा आर्थिक तथा सांस्कृतिक साझेदारीमार्फत यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिइन् ।
यस्तै, संस्थाका मानार्थ सदस्य श्रेष्ठले दुई देशबीच व्यापारिक सम्बन्ध विस्तारको ठूलो सम्भावना रहेको औंल्याउँदै नेपालले श्रीलंकाबाट बहुमूल्य पत्थर, समुद्री सामग्री र नरिवलजन्य उत्पादन आयात गर्न सक्ने बताए । उनले नेपालबाट हस्तकला, जडीबुटी, चिया र गार्मेन्ट लगायत वस्तुको निर्यात बढाउन सकिने धारणा राखे ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रसमेत रहेका दुवै मुलुकले आपसी सहकार्यमार्फत आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको भनाइ थियो ।