काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखा समितिले सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गर्नुको आधार र निर्णय प्रक्रियासँग सम्बन्धित कागजात ७ दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासँग छलफल गरेपछि आवश्यक कागजात माग गरेको हो । समितिका सभापति भरत खड्काले माग गरिएका कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिँदै प्राप्त विवरणको अध्ययनपछि थप छलफल अघि बढाइने बताए ।
आयोजनाको बाँध, विद्युत्गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा ६ वटा कम्पनीले सहभागिता जनाएका थिए । तीमध्ये प्राविधिक मूल्याङ्कनबाट तीनवटा कम्पनी छनोट भएका थिए । तर, उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला विभागले बोलपत्र प्रक्रिया नै रद्द गरेपछि यस विषयमा प्रश्न उठेको हो ।
तराईका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले अघि बढाइएको आयोजनाको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगिसकेको थियो । यस्तो अवस्थामा बोलपत्र रद्द गरिनुको कारण र निर्णय प्रक्रियाबारे संसदीय समितिमा प्रश्न उठेको छ ।
मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले एक वर्षअघि ठेक्का रद्द गर्नुको कारण र त्यसका लागि जिम्मेवार पक्षको पहिचान गर्न अध्ययन आवश्यक रहेको बताए ।
त्यस्तै, अर्का सांसद गणेशसिंह ठगुन्नाले निर्माणका लागि बोलपत्र आह्वान भइसकेको र सुरुङको ब्रेकथ्रु (आरपार छेड्ने काम) समेत सम्पन्न भइसकेको आयोजनामा पछि कुन विधि र प्रक्रिया परिवर्तन गरेर कार्यान्वयन गरियो भन्ने प्रश्न उठाए ।
यता, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरे । सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनअनुसार १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल संरचना खरिद गर्दा ‘रेटेड पोइन्ट क्राइटेरिया’मा आधारित मूल्याङ्कन विधि अपनाउनुपर्ने भएकाले पुरानो प्रक्रिया रद्द गरिएको उनको भनाइ थियो ।
करिब ६ वर्षअघि सुरु भएको सुनकोसी–मरिन आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु दुई वर्षअघि नै भइसकेको छ । तर, बाँध, विद्युत्गृह तथा अन्य सम्बन्धित संरचनाको निर्माण कार्य भने लामो समयदेखि अघि बढ्न सकेको छैन ।
आयोजनाको मुख्य उद्देश्य बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा सिँचाइ सुविधा पुर्याउनुका साथै २८ मेगावाट विद्युत् उत्पादन गर्नु हो ।