काठमाडौँ । भारतले नेपालको ऊर्जा क्षेत्रका पूर्वाधार आयोजना विकाससहितका कामका लागि का लागि २ खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहायताको प्याकेज उपलब्ध गराउने भएको छ । यस मध्ये १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र ५६ अर्ब रुपैयाँ अनुदान सहयाेग रहने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका अवसरमा शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार उक्त आर्थिक सहायता सम्बन्धी सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान भने विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजना विकासका लागि अनुदानस्वरूप उपलब्ध हुनेछ । ऊर्जा क्षेत्रका आयोजनामा प्रदान गरिने सहुलियतपूर्ण ऋण र अनुदान सहायताअन्तर्गतका विशिष्ट आयोजना तथा कार्यविधि भने दुवै देशबीचको आपसी परामर्शबाट टुङ्गो लगाइने उल्लेख गरिएको छ ।
ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण पत्र र दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन् । नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको स्वागत गर्दै निर्माणाधीन आयोजनाहरू शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
यसै अवसरमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा भर्चुअल शिलान्यास गरेका छन् ।
त्यस्तै, दुई देशबीच विद्युत् प्रसारण पूर्वाधार विस्तारका लागि दुई उच्च क्षमताका सीमापार प्रसारण लाइन निर्माण गर्ने विषयमा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् । इनरुवा–नयाँ पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम (जेभी) गठन गर्ने प्रक्रिया अघि बढाइएको छ । यी प्रसारण लाइन निर्माणले नेपाल र भारतबीच विद्युत् आदानप्रदान क्षमता विस्तार गर्न तथा नेपालको जलविद्युत् उत्पादनलाई भारतीय बजारसम्म पुर्याउन सहयोग गर्ने अपेक्षा छ ।
जलस्रोतको बहुउद्देश्यीय उपयोग र बाढी नियन्त्रणका विषयमा पनि दुवै देशबीच सहकार्य अघि बढाउने सहमति भएको छ । दुई प्रधानमन्त्रीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई निर्देशन दिएका छन् । साथै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर निर्माण कार्यलाई तीव्रता दिनुपर्नेमा पनि दुवै पक्ष सहमत भएका छन् । यी आयोजनाबाट जलविद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण र जलस्रोतको बहुउद्देश्यीय उपयोगमा लाभ लिन सकिने अपेक्षा गरिएको छ ।
यसैगरी, दुवै प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना नेपाललाई हस्तान्तरण गरिएको छ । यसले नेपालमा पेट्रोलियम पदार्थको ढुवानी तथा आपूर्ति प्रणालीलाई थप सहज बनाउने अपेक्षा छ ।
भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य शीघ्र सुरु गर्ने विषयमा पनि दुवै पक्षले जोड दिएका छन् । झापामा निर्माण हुने पेट्रोलियम टर्मिनलको भर्चुअल माध्यमबाट शिलान्यास गरिएको छ । साथै, भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्न सकिने सम्भावनाबारे अध्ययन तथा छलफल अघि बढाउने सहमति भएको छ ।
नेपालको ऊर्जा तथा पेट्रोलियम आपूर्ति पूर्वाधार विस्तारसँगै पारवहन सुविधामा पनि भारतले नयाँ विकल्प उपलब्ध गराउने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) मार्फत नयाँ मार्ग उपलब्ध गराउने घोषणा गरेका छन् । आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच उपलब्ध गराइने भएको छ ।
ऊर्जा क्षेत्रसहित आर्थिक तथा विकास साझेदारीलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिकोणसमेत अवलम्बन गरेका छन् । यसले ऊर्जा तथा जलस्रोत, पूर्वाधार, सम्पर्क सञ्जाल, आर्थिक साझेदारीलगायतका परम्परागत सहकार्यका क्षेत्रलाई थप सुदृढ बनाउने उल्लेख छ । जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, डिजिटल सेवा, नवप्रवर्तन र अन्तरिक्ष प्रविधिजस्ता नयाँ क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रका आयोजना विकासका लागि ठूलो परिमाणमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धतासँगै जलविद्युत् आयोजना निर्माण, सीमापार प्रसारण पूर्वाधार विस्तार, जलस्रोतको बहुउद्देश्यीय उपयोग र पेट्रोलियम आपूर्ति प्रणाली सुधारका विषयमा सहमति भएको हो । दुवै देशले साेमबार (२०८३ मङ्सिर ७) मा नयाँ दिल्लीमा जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा यी विषय समेटिएका छन् ।