विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । प्राकृतिक तथा सौन्दर्यको दृष्टिले चीनको तिब्बत विश्वकै छानो मानिन्छ । विशेष भौगोलिक वनावट र संस्कृति भएकाले पछिल्ला दशकमा तिब्बत संसारका लागि चासो एवं आकर्षण गन्तब्य बन्दैछ । योसँगै आध्यात्मिक जगतमा तिब्बती अध्यात्मको अभ्यास विश्वमा परिचित छ ।

यसैलाई आधार मानेर चीनको यो प्रान्तले पर्यटनलाई राष्ट्रिय आम्दानीको स्रोतको रूपमा विकास गर्दैछ । पर्यटनको बाटो समातेर स्थानीय उत्पादनबाट हुने आम्दानी हरेक किसानमा पुर्याउने तिब्बती प्रशासनको रणनीति ज्यादै प्रशंसनीय देखिन्छ ।

गत भदौ अन्तिम साता (सेप्टेम्बर दोस्रो साता) ल्हासा हुँदै मानसरोवर र त्यहाँबाट कैलाशसम्म जाने अवसर जुर्यो । दुई हप्ता लामो यात्रामा केवल घुम्नमात्र नभई पर्यटन विकास अनुभव गर्दै नजिकबाट नियाल्न पाइयो ।

नेपाल पनि विश्वको आकर्षक पर्यटकीय गन्तब्य मानिन्छ । तर, दस लाख पर्यटक भित्र्याउने योजना सपना जस्तै भएको छ । देशको पर्यटन क्षेत्रमा केही योगदान पुग्ने अपेक्षाले मेरो यात्रा अनुभव समेट्ने प्रयास गरेको छु । तिब्बतको पर्यटन विकास नेपालका लागि पनि ग्रहणयोग्य हुन सक्छन् ।

फराकिला सडक

विकासको पहिलो खुड्किलो सडक हो । तिब्बतले यसैलाई आत्मसाथ गरेको देखियो । ४ हजारदेखि ५ हजार ५ सय मिटर उचाईसम्म मोटरबाटो निर्माण भएको छ । त्यहाँ भौगोलिक तथा प्राकृतिक अवरोध मान्छेकै प्रयासले छिचोल्न सकिन्छ भन्ने गतिलो उदाहरण देख्न सकिन्छ ।

पहाडी तथा हिमाली पठारमा फराकिला चार लेन सडक निर्माण गरेर तिब्बतले विकासको उचाई चुमेको भान हुन्छ । कम भौगोलिक क्षति पुग्ने गरी किनारमा ढुंगा प्रयोग गरी उठाएर फराकिलो बाटो निर्माण गरेको देखियो ।

तिब्बत तथा स्थानीय प्रशासनले सडक निर्माणमा आवश्यक सामग्रीको प्रयोग बिनासम्झौता गर्दाे रहेछ । योसँगै राजमार्गमा आवश्यक हरेक संकेत तथा सुरक्षा उपाय अपनाएको देखियो । फराकिलो र गुणस्तरीय सडक निर्माण गर्न कुनै कसर बाँकी राखेको पाइएन । नेपालमा जस्तो हरेक निकाय वा पक्षसँग सम्झौता गर्नुपर्ने जरुरी त्यहाँ रहेनछ ।

सांस्कृतिक संरक्षण

समाजलाई जीवन्त राख्न आफ्नो पहिचान एवं मौलिक संस्कृति संरक्षित हुन आवश्यक छ । यो मर्म तिब्बती प्रशासनले राम्रोसँग बुझेको देखियो । पूर्वाधार निर्माण गर्दा कम वातावरणीय असर पर्ने उपाय अपनाइँदो रहेछ । साथै, असर पर्न गए त्यसको उचित क्षतिपूर्तिको व्यवस्था हुँदो रहेछ ।

तिब्बती संस्कृतिलाई गौरवपूर्ण तरिकाले पर्यटकसमक्ष राख्ने र आफ्नो पहिचान मूल्यवान हो भन्ने सन्देश दिन कुनै तिब्बती चुक्दा रहेनछन् । मृत्युपछि मृतकको शरीर गिद्धलाई ख्वाउने संस्कृतिमा समेत पर्यटकको ध्यान खिच्दा रहेछन् ।

तिब्बतका पुराना गुम्बा बडो जतनले संरक्षण गरिएको रहेछ । ती गुम्बामा विश्वका विभिन्न देशबाट ध्यान गर्नकै लागि हजारौं पर्यटक आउँदा रहेछन् । यो आध्यात्मिक शान्तिको खोजमा निस्कनेको तिर्खा मेट्ने उचित थलो पनि रहेछ । हरेक गुम्बाहरू मर्मत गरी संरक्षण गरिएको छ ।

अझ उच्च हिमाली भेगका एकान्तमा रहेका गुम्बा नयाँ तथा आधुनिक प्रविधि प्रयोग गरी पुनर्निर्माण गरिएको छ । यसो गर्दा सांस्कृतिक भाव जोगाएर मर्मत गरिने रहेछ ।

तिब्बतका विभिन्न क्षेत्रमा सरकारले आवास क्षेत्र निर्माण गरेको रहेछ । दर्जनौं ठाउँमा आवास निर्माण भइरहेको छ । त्यहाँ आधुनिक सामान, उपकरण र प्रविधि प्रयोग गरिए पनि तिब्बती आवास निर्माणको शैली जस्ताको तस्तै राखिने रहेछ । पुराना तिब्बती बस्तीको झल्को दिने गरी आवास निर्माण गरिएको छ ।

बस्तीका घरको दूरी फराकिलो बनाइने रहेछ । ती आवासका हरेक घरमा अनिवार्य शौचालय निर्माण गरिएको छ । विद्यालय, खेल मैदान र जिम सेन्टरसमेत निर्माण गरेर पर्यटकलाई लोभ्याइएको छ । मान्छेलाई संस्कृति जोगाउन र त्यसप्रति गौरव गर्न प्रोत्साहन गर्ने तिब्बती परम्परा लोभलाग्दो देखिन्थ्यो ।

फुर्तिला गाइड र पर्यटन व्यवसायी

तिब्बतीहरू निकै कमले अंग्रेजी भाषा बोल्दा रहेछन् । तर, पछिल्ला दिनमा अमेरिका वेलायत जस्ता देशमा अध्ययन गरेर फर्केका तिब्बतीको संख्या बढ्दो छ । उनीहरू पर्यटन व्यवसायमा संलग्न हुन थालेकाले पर्यटकका लागि सहज हुन थालेको छ । गाइडलाई तालिम दिएर पर्यटकलाई कस्ता जानकारी उपलब्ध गराउने, उनीहरूको जिज्ञासा कसरी समाधान गर्ने भन्ने सिकाइँदो रहेछ ।

यही सिकाइले त्यहाँका नकारात्मक विषयमा पनि गाइडले अत्यन्त कुशल ढंगले पर्यटकलाई व्याख्या गर्दा रहेछन् । पर्यटकले के कस्ता विषयमा जान्न चाहन्छन् । र, त्यसलाई कसरी सूसुचित गर्ने भन्नेमा गाइड चलाख हुने रहेछन् । तिब्बती गाइडले पर्यटकलाई त्यहाँ के गर्न हुने र नहुने भन्ने बुझाउने रहेछन् । वातावरण संरक्षणमा थालिएका प्रयासबाट पर्यटकलाई पर्ने असुविधाप्रति सचेत गराइँदो रहेछ ।

पर्यटकलाई सत्कार

पर्यटकलाई सक्दो सुविधा दिनुपर्छ । यही भावअनुसार व्यवसाय चलाउनुपर्छ भन्नेमा व्यवसायी सचेत रहेको देखियो । हरेक होटलका वेटर, कुक र अन्य कर्मचारीलाई बिहान काम सुरु हुनुअघि मौखिक प्रशिक्षण (ओरेन्टेसन ट्रेनिङ) दिइँदो रहेछ । पाहुनाप्रति गर्ने व्यवहार, उनीहरूको सामान रक्षा गर्ने र कोठा सफा गर्दा पाहुनाको सामान छुन नहुने प्रशिक्षण दिइने रहेछ ।

पर्यटकलाई तिब्बती खाना खान प्रोत्साहन गरिन्छ । खाना बनाउने र सेवा दिने व्यवस्था गरिने रहेछ । तर, तिब्बती खानाको प्रचार गर्न उनीहरू चुकेको देखियो । पर्यटक तिब्बती मरमसला राखेका खानेकुरा खान पर्यटकले रुचाउँदा रहेछन् । स्थानीय उत्पादन बढी हुने हुँदा यसमा पर्यटक पनि लोभिने रहेछन् ।

रोजगारीको अवसर

पर्यटन उद्योगले धेरै तिब्बतीको जीवनमा सुधार ल्याएको छ । दुर्गम गाउँमा बस्नेले घोडाको सेवा, भरियाको काम गरेर राम्रो आम्दानी गर्ने रहेछन् । आफनो क्षमता अनुसार पर्यटनसँग सम्बन्धित काम गरेर आर्थिक हैसियत सुधारेका छन् ।

हिमाली भेगमा भ्रमण गर्ने पर्यटकलाई घोडा सेवा दिन दुर्गम क्षेत्रमा बस्नेले काम गर्दा रहेछन् । यसमा महिला पुरुष समानरूपमा सक्रिय हुन्छन् । कतिपय क्षेत्रमा लक्षित व्यक्तिलाई सम्बन्धित काममा लगाउनुपर्ने नियम छ । निश्चित क्षेत्रमा प्रवेश गर्ने पर्यटकका लागि त्यसै क्षेत्रका बासिन्दाले सेवा गर्न पाउने रहेछन् । त्यहाँका बासिन्दा यसबाट लाभान्वित भएको देखियो ।

ठूला ठूला होटल

तिब्बत प्रशासनले विभिन्न पर्यटकीय क्षेत्रमा अग्ला–अग्ला भवनसहित होटल खोलेको छ । केही ठाउँमा खोल्दै छ । सरकारले भवन निर्माणपछि होटल संचालन गर्न निजी व्यवसायीलाई भाडामा दिँदो रहेछ ।

५ हजार मिटर उचाईसम्म ठूला होटल निर्माण भइरहेका छन् । चिसो हावा चल्ने ठाउँमा पनि पर्यटकले गुणस्तरीय सेवा लिन पाउँदा रहेछन् । पैसा तिरेपछि पर्यटकले सेवामा आफ्नो पैसा गुमेछ भनी पछुताउनु पर्दैन ।

तिब्बतमा वर्षेनी औसत १ करोड ५० लाख पर्यटक आउँदा रहेछन् । यसमध्ये ९० प्रतिशत चिनियाँ हुँदा रहेछन् । आन्तरिक पर्यटन विस्तारमा उतिकै जोड दिइएको छ । कूल आउने पर्यटकमध्ये तीस लाख पर्यटक हवाई माध्यमबाट आउने रहेछन् । बाँकी रेल यात्राबाट आउँदा रहेछन् ।

होटलका कोठा ठूला र फराकिला बनाइएको छ । फराकिला भर्याङ र खुला ठाउँ देख्दा पर्यटक हर्षित हुन्छन् । होटलका हरेक तलामा फायर फाइटिङ सिस्टम तयारी अवस्थामा राखिने रहेछ ।

सरसफाई

तिब्बतलाई प्रदुषणरहित बनाउन प्रयास गरेको देखियो । प्लाष्टिकजन्य पदार्थ जथाभावी नफालुन भनी ठाउँ ठाउँमा फोहोर फाल्ने कन्टेनर राखिएको छ । तर, कतिपयले बाटो वरपर फाल्ने वस्तु कम्तिमा वर्षमा एक पटक संकलन गर्न कर्मचारी खटाइन्छ । सडक पुगेका ठाउँमा फोहर संकलन गर्न गाडी प्रयोग गरिन्छ ।

उच्च हिमाली भेगका कतिपय डाँडाँमा त्यहाँ पुग्नेले चिनोस्वरूप आफ्ना कुनै न कुनै वस्त्र छोडेमा राम्रो हुने मान्यता रहेछ । यस्ता ठाउँमा मान्छेले आफ्ना लुगा वा कपाल, धागो, टोपी लगायत सामान छोड्दा रहेछन् । ती सामान वर्षाैसम्म जस्ताको तस्तै रहेको देखियो । चिसो मौसमले पनि वर्षौंसम्म ती सामान दुरुस्तै हुँदा रहेछन् ।

राम्रो प्रयास हुँदा–हुँदै तिब्बतमा केही चुनौती भने देखियो । वियरका बोतल जथाभावी फाल्ने र कतिपय फुट्ने हुँदा त्यसले केही प्रदुषण बढाएको छ । त्यसैगरी, रेड बुलजस्ता इनर्जी ड्रिङ्सका बट्टा पनि प्रदुषणका कारण बन्दैछन् । मानसरोवर र त्यस्तै प्राकृतिक तालमा स्याम्पु, साबुन प्रयोग गर्न बन्देछ रहेछ ।

(लेखक दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक  तथा नेपाल ज्याेतिष परिषद्का केन्द्रीय पार्षद् हुन्। सम्पर्क नम्बर ९८४१५२७५१०)

प्रतिक्रिया दिनुहोस

ज्योतिष दिवाकर पन्त

डेढ दशकदेखि पत्रकारितामा सक्रिय दिवाकर पन्त विकास पत्रकारितामा दख्खल राख्छन् । ऊर्जा, पर्यटन तथा अन्य पूर्वाधारसँग सम्बन्धित क्षेत्रमा कलम चलाउँदै आएका उनले लामाे समय टेलिभिजन पत्रकारितामा संलग्न रहे । पछिल्लाे समय ज्याेतिष विज्ञानसमेत अध्ययन गरेर उनी यसमा अभ्यस्तरत छन् ।

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit