काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग मन्त्रालयमा कार्यरत ३ जना सचिवले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरेका छन् । ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्रले मन्त्री खड्कासँग सम्झाैता गरेका हुन् ।
कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यसपटक सम्झौतामा उल्लेखभन्दा बढी उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।
‘बजेट र स्रोत सुनिश्चित भइसकेका आयोजना ढिलाइ नगरी अघि बढाउनुपर्छ । सचिव र आयोजना प्रमुखले अझ सक्रिय भूमिका खेल्नुपर्ने समय आएको छ,’ मन्त्री खड्काले भने । उनले अनलाइन प्रणालीमार्फत नियमित रिपोर्टिङ गर्ने व्यवस्था मिलाउने र प्रत्येक हप्तामा प्रगति मूल्याङ्कन गर्ने योजना पनि अघि सारेका छन् ।
मन्त्री खड्काले अन्तरमन्त्रालय तथा मन्त्रालयभित्रका विभागीय समन्वयलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै समयमै काम सम्पन्न गर्न प्रतिबद्ध हुन निर्देशन दिएका छन् । ‘देश बनाउने जिम्मा हामी सबैको हो । क्षमताको पूर्ण सदुपयोग गर्दै परिणाम निकाल्नुपर्छ,’ उनको भनाइ थियो ।
यसअघि साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऊर्जा मन्त्री खड्काले चालू वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका थिए ।
मूल्याङ्कन प्रतिबद्धतामूलक हुने भएकाले कामको प्रत्यक्ष परिणाम देखिनेगरी अघि बढ्नुपर्ने अवस्था रहेको सिँचाइ सचिव सरिता दवाडीले बताइन् । उनले शतप्रतिशत लक्ष्य हासिल गर्ने दृढता व्यक्त गरिन् । त्यस्तै, सचिव दिनानाथ मिश्रले पनि सम्झौतामा उल्लेखित लक्ष्य कार्यान्वयन गर्दै संस्थाको उद्देश्य पूरा गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखा प्रमुख र विभागीय महानिर्देशकहरूले समेत आफ्ना–आफ्ना माथिल्ला निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।