काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा आएको अविरल बाढी तथा पहिरोका कारण प्रभावित परिवारलाई तत्काल राहत र आधारभूत ऊर्जा सेवामा पहुँच पुर्याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विशेष प्रक्रियामार्फत नवीकरणीय ऊर्जा सामग्री खरिद गर्ने भएको छ ।
केन्द्रले उक्त सेवाका लागि आज (बिहीबार) बोलपत्र आह्वानसमेत गरेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ बमोजिम विशेष परिस्थितिमा खरिद गर्ने व्यवस्था र प्रचलित सार्वजनिक खरिद नियमावली अनुसार सामग्री आपूर्ति गर्न योग्य तथा इच्छुक आपूर्तिकर्ता, उत्पादक र फर्मबाट दररेट माग गरेको जनाइएको छ ।
प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल ऊर्जा तथा खाना पकाउने सुविधा उपलब्ध गराउन विभिन्न नवीकरणीय ऊर्जा प्रविधि खरिद गर्ने योजना छ । केन्द्रका अनुसार २० वाट पिक (20 Wp) सौर्य घरायसी प्रणाली ५०० थानऽ २ किलोवाट पिक (2 kWp) संस्थागत सौर्य फोटोभोल्टाइक प्रणाली ५० सेट, सुधारिएको धातुको सुधारिएको चुलो २,००० थान खरिद गरिने छ ।
उक्त कार्यका लागि इच्छुक व्यवसायी वा उत्पादकहरूले नियमानुसार प्रस्ताव पेश गर्न सक्नेछन् । सामग्री आपूर्तिकर्ताले आफूले तत्काल उपलब्ध गराउन सक्ने परिमाण खुलाएर दरभाउ पेस गर्नुपर्ने उल्लेख छ । बाढी प्रभावित क्षेत्रमा शीघ्र राहत पुर्याउनुपर्ने भएकाले खरिद गरिएका प्रविधिहरू केन्द्रको कार्यालयमा यथाशीघ्र बुझाउनसमेत आह्वान गरिएको छ ।