काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय भवन, पक्की पुल र आवास भवनको बुधबार शिलान्यास गरिएको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले शिलान्यास गरेका हुन् ।
वर्षौंदेखि निर्माणको चर्चा भइरहेको १२०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढ्न सकेको छैन । बुधबार शिलान्यास भएपछि परियोजना अघि बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै सभामुख डोल प्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना अब निर्माणको चरणमा प्रवेश गरिसकेको बताएका छन् । धादिङमा आज बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गर्दै आयोजना बन्छ कि बन्दैन भन्ने लामो समयदेखिको अन्यौल अन्त्य भएको सभामुख जनाएका हुन् ।
सभामुख अर्यालले बूढीगण्डकीलाई विद्युत् उत्पादनमा मात्र सीमित नराखी बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाका रूपमा विकास गरिने स्पष्ट पारे । यसले धादिङ, गोरखा र चितवनको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पु¥याउनुका साथै रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, स्थानीय उत्पादनको बजारीकरण र विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
आयोजना कार्यान्वयनका लागि आवश्यक कानुनी तथा संस्थागत संरचना निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै उनले बूढीगण्डकी विकास प्राधिकरणसम्बन्धी विधेयकको अन्तिम मस्यौदा तयार भइरहेको र संसद्को अधिवेशन सुरु भएको दुई साताभित्र सदनमा पेस गर्ने लक्ष्य रहेको बताए । आयोजना निर्माणका क्रममा प्रभावित नागरिकको मुआब्जा, पुनस्र्थापना, बस्ती विकास तथा सम्पदा संरक्षणका विषय न्यायोचित ढङ्गले सम्बोधन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
सभामुख अर्यालका अनुसार आयोजनाको अनुमानित लागत साढे चार खर्ब रुपैयाँभन्दा बढी रहेको छ । प्रारम्भिक कामका लागि डेढ अर्ब रुपैयाँ विनियोजन भइसकेको र थप डेढ अर्ब रुपैयाँ उपलब्ध गराउन सरकार तयार रहेको जानकारी दिएका छन् । निर्माण कार्यलाई निर्धारित समयभन्दा अगाडि सम्पन्न गर्नुपर्नेमा जोड दिँदैे नियमित रूपमा प्रगति समीक्षा गरी सम्बन्धित निकायलाई जवाफदेही बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी आयोजनालाई जलविद्युत् उत्पादनमा मात्र सीमित नराखी पर्यटन, औद्योगिक विकास, वातावरण संरक्षण र व्यवस्थित बस्ती विकाससमेत समेटिएको बहुआयामिक राष्ट्रिय गौरवको परियोजनाका रूपमा अघि बढाउनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा विकास समितिलाई कम्पनीमा रूपान्तरण गरी आयोजना निर्माणलाई गति दिने प्रयास गरिएको स्मरण गर्दै भट्टराईले प्रभावकारी कार्यान्वयनका लागि अधिकारसम्पन्न प्राधिकरण र छुट्टै ऐन आवश्यक रहेको धारणा व्यक्त गरे । प्रभावित क्षेत्रका नागरिकको सहजताका लागि बेनीघाट–आरुघाट–लार्केसम्मको सडक स्तरोन्नति गर्न पनि उनले सरकारको ध्यानाकर्षण गरे ।
त्यसैगरी, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बूढीगण्डकी आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री लम्सालले आयोजनाले माग गरेअनुसार आवश्यक आर्थिक स्रोत उपलब्ध गराउने वातावरण सरकारले बनाउने उल्लेख गर्दै आयोजना सफलतापूर्वक निर्धारित समयभित्रै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको ऊर्जा सुरक्षा, पूर्वाधार विकास तथा आर्थिक समृद्धिका दृष्टिले महत्वपूर्ण राष्ट्रिय आयोजना हो । यसको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकार, जनप्रतिनिधि, स्थानीय नागरिक र सम्बन्धित सबै पक्षबीच समन्वय, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो ।
कार्यक्रममा बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरूण रजौरियाले १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको प्रगति तथा तयारीबारे जानकारी दिएका थिए ।
गोरखाको गण्डकी गाउँपालिका–८, सिउरेनीटारमा स्थायी कार्यालय भवन, आवास भवन र पक्की पुलको शिलान्यास भएसँगै आयोजनाको मुख्य भौतिक निर्माण कार्य सन् २०२८ जनवरीदेखि सुरु गर्ने लक्ष्य लिइएको छ ।
गोरखा र धादिङमा फैलिने यस आयोजनाको लगानी ढाँचा स्वीकृत भइसके पनि विद्युत् उत्पादनको अनुमतिपत्र लिने प्रक्रिया अझै बाँकी छ ।