काठमाडौँ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आफ्नो प्राथमिक सेयर (आईपीओ) मंसिर १८ गते देखि निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ६४ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसका लागि आवेदन दिने अन्तिम मिति छिटोमा मंसिर २३ गते तोकेको छ ।
इच्छुक आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
कम्पनीका अनुसार, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि ४ लाख २२ हजार ५०० कित्ता, कम्पनीका कर्मचारीहरूका लागि १ लाख २६ हजार ७५० कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ११ हजार २५० कित्ता सेयर छुट्याइएको छ । यी हिस्साहरू छुट्याएपछि बाँकी रहेको ३४ लाख ६४ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।
कम्पनीको जारी पुँजी १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यसमध्ये ३५ प्रतिशत, अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यसमध्ये १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता सेयर दोलखा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि सुरक्षित गरिएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ९० लाख रुपैयाँ रहेको छ । प्रस्तावित आईपीओ निष्कासनबाट कम्पनीले करिब ५९ करोड २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।
इक्रा नेपालले हिम पर्वत हाइड्रोपावरको क्रेडिट रेटिङलाई ’बीबी’ बाट स्तरोन्नति गरी ’बीबी+’ कायम गरेको छ, जसले कम्पनीको वित्तीय साखमा सुधार आएको संकेत गर्दछ । सन् २०१४ मा स्थापना भई सन् २०२१ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको ’हिम पर्वत हाइड्रोपावर’ ले दोलखा जिल्लामा ’रन–अफ–रिभर’ प्रकृतिका दुई जलविद्युत आयोजनाहरू सञ्चालन गरिरहेको छ । यी आयोजनाहरूमा ५.५ मेगावाट क्षमताको ’साँघु खोला–१ जलविद्युत् आयोजना’ र २० मेगावाट क्षमताको ’साँघु खोला जलविद्युत् आयोजना’ समावेश छन्, जसको कुल जडित क्षमता २५.५ मेगावाट रहेको छ।
दुवै आयोजनाहरूले सन् २०२५ मा व्यावसायिक उत्पादन सुरु गरेका हुन् तथा यिनको समग्र विद्युत् उत्पादन कार्यसम्पादन करिब ८४ प्रतिशत रहेको छ । करिब ४ अर्ब ९४ करोड रुपैयाँको कुल लागतमा निर्माण गरिएका यी आयोजनाहरूबाट वार्षिक रूपमा करिब १५० गिगावाट–आवर विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ ।