विद्युत अपडेट

  • प्राधिकरण : ७०५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३३६३७ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १००९६ मे.वा.घन्टा
  • ट्रिपिङ : ७७३ मे.वा.घन्टा
  • ऊर्जा माग : ५००२६ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २६०४ मे.वा.
२०८३ मङ्सिर १०, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने बायोग्यास प्लान्ट पुनःस्थापना गरी परीक्षण सञ्चालनमा ल्याइएको छ । काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीचको सहकार्यमा पुनर्निर्माण सम्पन्न भएको प्लान्ट बिहीबार परीक्षण सञ्चालनसहित महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

काठमाडौँ जलवायु कार्य सप्ताहको अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पुनःस्थापित प्लान्टको परीक्षण सञ्चालन तथा हस्तान्तरण कार्यको शुभारम्भ गरेका हुन् । युरोपियन युनियनको सहयोगमा सन् २०१७ मा स्थापना भएको उक्त प्लान्ट लामो समयदेखि बन्द अवस्थामा थियो । यसको पुनःस्थापना र दिगो सञ्चालनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र महानगरपालिकाबीच गत साउन १८ गते समझदारी भएको थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले फोहोरबाट ऊर्जा उत्पादनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा विषयका रूपमा लिनुपर्ने बताए । फोहोर व्यवस्थापन, नदी तथा जलस्रोत संरक्षण र स्वच्छ वातावरण निर्माणमा संघ, प्रदेश र स्थानीय सरकारसँगै नागरिकको समेत साझा जिम्मेवारी रहेको उनको भनाइ थियो ।

उनले आगामी दिनमा यस प्लान्टबाट बायोग्याससँगै विद्युत् उत्पादनसमेत गर्न सकिने सम्भावना रहेको बताए । यस्ता परियोजनाको सुरुवात र विस्तार स्थानीय तहबाटै हुनुपर्ने उल्लेख गर्दै उनले यस क्षेत्रका नीतिगत समस्यालाई मन्त्रालयले सम्बोधन गर्ने बताए । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकले ऐनको रूप लिएपछि यस्ता परियोजनाले थप प्राथमिकता पाउने उनको विश्वास थियो ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्धारित समयमै परियोजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग यस्ता परियोजनामा सहकार्य गर्न महानगरपालिका इच्छुक रहेको बताइन् । फोहोरबाट ऊर्जा उत्पादन, वितरण तथा उपयोगमा देखिएका नीतिगत समस्या समाधान गर्न मन्त्रालयलाई आग्रह गर्दै उनले प्लान्टलाई दिगो रूपमा सञ्चालन गर्न सबै सरोकारवालासँग सहकार्य गरिने बताइन् । साथै, यसलाई अध्ययनस्थलका रूपमा विकास गर्ने महानगरपालिकाको योजना रहेको उनको भनाइ थियो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले परियोजनाको पुनर्निर्माण निर्धारित समयमै सम्पन्न गरी हस्तान्तरण गरिएको बताए । उनले यस कार्यमा सहयोग गर्ने काठमाडौँ महानगरपालिका, विश्व बैंक तथा प्लान्टको आपूर्तिकर्ता एवं जडानकर्ता कम्पनी जिओन वेस्ट म्यानेजर प्रालिलगायतलाई धन्यवाद दिए । फोहोरबाट ऊर्जा उत्पादन गर्ने यस्ता परियोजनाले चक्रीय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने भएकाले थप विस्तार आवश्यक रहेको उनले बताए ।

नेपालस्थित विश्व बैंककी अपरेसन म्यानेजर रिता कुमारी ढकालले पुनःस्थापित प्लान्टले विगतका अनुभव र सिकाइलाई व्यवहारमा उतार्न सहयोग पुगेको बताइन् । उनले यस्ता परियोजनाको निर्माण तथा सञ्चालनमा सार्वजनिक–निजी साझेदारी अवधारणालाई जोड दिनुपर्ने बताउँदै निजी क्षेत्रले निर्माण तथा सञ्चालन र सार्वजनिक क्षेत्रले अनुगमन गर्ने व्यवस्था भए परियोजना दिगो बन्न सक्ने धारणा राखिन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तथा वातावरण संयोजक बालकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालय, महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विकास साझेदार, निजी क्षेत्र तथा वातावरणविद्हरूको उपस्थिति थियो ।

विश्व बैंकको सहयोगमा सन् २०१४ देखि सुरु भएको नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत नगरपालिकाको फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना र ठूला क्षमताका व्यावसायिक बायोग्यास प्लान्ट निर्माणमा सहयोग हुँदै आएको छ । हाल यो कार्यक्रम विश्व बैंककै मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत सञ्चालनमा छ । यस कार्यक्रमबाट सातवटा नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना कार्यान्वयन भएका छन् भने २० भन्दा बढी ठूला क्षमताका व्यावसायिक बायोग्यास परियोजनालाई सहयोग उपलब्ध गराइएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशभर नगरपालिकाको फोहोरबाट ऊर्जा उत्पादन तथा व्यावसायिक बायोग्यासको सम्भाव्यता अध्ययनसमेत गरेको छ । केन्द्रले ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव हरित जलवायु कोषमा पेस गरेको छ, जुन स्वीकृतिको प्रक्रियामा रहेको छ । यसैगरी, पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत फोहोरबाट ऊर्जा उत्पादनमा आधारित कार्बन परियोजना विकासको कामसमेत अघि बढाइएको केन्द्रले जनाएको छ ।

सहरी क्षेत्रमा चुनौतीका रूपमा रहेको कुहिने फोहोर व्यवस्थापन गर्न यस्ता प्लान्टले सहयोग पुर्‍याउनुका साथै बायोग्यास र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्रको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३