काठमाडौँ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ कुनौटामा निर्माणको चरणमा रहेको दरखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा भएको छ । ६.५ मेगावाटको आयोजनामा ऋण लगानी गर्न प्रवर्द्धक दरखोला हाइड्रोपावर प्रालि र एनएमबि बैंकबीच सम्झौता भएको हो ।
बैंकको प्रधान कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रमका बिच बैंकका दिगो ऊर्जा बैंकिङ प्रमुख दिनेश दुलाल तथा दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमप्रसाद भण्डारी र सञ्चालक बलभद्र ढकालले हस्ताक्षर गरेका छन् ।
करिब १३० करोड रुपैयाँ कुल लागत अनुमान गरिएको आयोजनामा सम्झौता अनुसार एनएमबि बैंकले ७० प्रतिशत अर्थात् ९१ करोड रुपैयाँ ऋण लगानी गर्नेछ । बाँकी ३० प्रतिशत अर्थात् ३९ करोड रुपैयाँ आन्तरिक स्वपुँजी (इक्विटी) बाट जुटाइने छ ।
कार्यक्रममा बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) सुदेस उपाध्याय, आयोजनाका सञ्चालक कलिराम प्रजा, प्राविधिक परामर्शदाता सुवासचन्द्र बराल र वित्तीय परामर्शदाता नारायणप्रसाद पौडेललगायतको उपस्थिति थियो ।
आयोजनाका प्रमुख उपेन्द्र घिमिरेले परियोजनाको प्राविधिक, वातावरणीय तथा पर्यावरणीय पक्षका साथै स्थानीय र अनुभवी इन्जिनियरहरूको लगानी सुनिश्चिततालाई हेरेर बैंकले ऋण लगानी गरेको बताए ।
प्रवर्द्धक कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक व्यक्तिगत जग्गा खरिदको कार्य सम्पन्न भइसकेको र सरकारी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको छ । अनुभवी निर्माण व्यवसायी (ठेकेदार) छनोट गरी आयोजनाको काम अघि बढिसकेको छ भने निर्माण सम्पन्न भएलगत्तै सर्वसाधारणका लागि सेयर (आइपिओ) निष्कासन गर्ने कम्पनीको लक्ष्य छ ।
क्यू ४२.४२ को डिजाइन डिस्चार्जमा निर्माण हुने यस आयोजनाका लागि १२ मिटर चौडाइको बाँध बनाइने छ । जहाँबाट १.४४ घनमिटर प्रतिसेकेन्ड पानी २ वटा ढोकाबाट छिराएर ३० मिटरको बालुवा थिगार्ने पोखरी (डिसेन्डिङ बेसिन) मा छानिने छ । उक्त पानीलाई ४.५ किलोमिटर लामो पाइपलाइनमार्फत ५४८ मिटरको हेडबाट २ वटा टर्बाइनमा खसालेर प्रतिमिनेट ७०० पटक घुम्ने टर्बाइनबाट ६.५ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।
आयोजनाबाट वार्षिक ३६ गिगावाट घन्टा ऊर्जा उत्पादन हुने प्राविधिक अध्ययनले देखाएको छ । उत्पादित विद्युत्लाई करिब ७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा जोडिने योजना छ ।
स्थानीय स्तरमा कुनै सामाजिक समस्या नआउने गरी आयोजनाको निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको कम्पनीले जनाएको छ ।