काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले असार मसान्तसम्म खपत भएको विद्युत्को महसुलमा ग्राहकले तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम आगामी भदौ महिनाको बिलमा समायोजन गरिने जानकारी गराएको छ । प्राधिकरणले सोमबार सूचना जारी गरी यसबारे स्पष्ट पारेको हो ।
आर्थिक ऐन २०८३ ले गरेको कर सम्बन्धी संशोधन अनुसार २०८३ साउन १ गतेदेखि विद्युत् सेवा मूल्य अभिवृद्धि करमा दर्ता भई प्राधिकरणले कर बिजक जारी गर्न थालेको थियो । असार महिनाको विद्युत् खपतको बिलिङ साउनमा गर्दा भ्याट आकर्षित हुने/नहुने विषयमा अन्योल उत्पन्न भएपछि प्राधिकरणले आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयसँग स्पष्टताका लागि अनुरोध गरेको थियो ।
यसै सन्दर्भमा आन्तरिक राजस्व विभागको सोमबार जारी गरेको सूचना अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची-१ समूह २ (आधारभूत आवश्यकताका वस्तुहरू) अन्तर्गत २०८३ साउन १ गतेभन्दा अगाडिसम्मको विद्युत् खपतमा भ्याट छुट हुने सूचीमा रहेकाले असार ३२ गतेसम्मको विद्युत् उपभोगमा भ्याट नलाग्ने निर्णय भएको जनाएको छ ।
प्राधिकरणका अनुसार साउन महिनाको बिलमा भ्याट जोडिएर आएको र ग्राहकले भुक्तानीसमेत गरिसकेको भए उक्त भ्याट रकमलाई अग्रिम भुक्तानीको रूपमा कायम गरी २०८३ भदौ महिनाको बिलमा समायोजन गरिने छ ।