काठमाडौँ । भाेटेकाेसीकाे विनाशकारी बाढीका कारण रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनास्थलमा फसेर सम्पर्कविहीन बनेका ६० जना कर्मचारी तथा कामदार मध्ये १८ जनाको उद्धार गरिएको छ । बाँकी ४२ जनाको उद्धारका लागि प्रयास जारी रहेको बताइएको छ ।
बाढीबाट रसुवा र नुवाकोटका कुल ११ वटा जलविद्युत् आयोजनामा कार्यरत कुल ९३४ जना अझै सम्पर्कविहीन रहेकाे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले जानकारी दिएको छ । तीमध्ये रसुवाका ७ आयोजनामा ७३० र नुवाकोटका ६ आयोजनामा २०४ जना सम्पर्कविहीन छन् ।
इपानका अनुसार रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा सबैभन्दा बढी ५७६ जना सम्पर्कविहीन छन् । यस आयोजनाबाट हालसम्म २५४ जनाको मात्र उद्धार हुन सकेको जनाइएको छ । यस्तै, सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोसी आयोजनाका ४ जना, २० मेगावाटको लाङटाङ खोला आयोजनाका ४२ जना, २२ मेगावाटको चिलिमे आयोजनाका ८ जना र ५ मेगावाटको मैलुङ खोला आयोजनाका ७ जना तत्काल उद्धारको प्रतीक्षामा रहेको इपानले जनाएकाे छ ।
नुवाकोटतर्फ सञ्चालनमा रहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए आयोजनाका ४२ जना र निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी आयोजनाका १५८ जना सम्पर्कविहीन रहेको जनाइएको छ । मध्य त्रिशूली गंगा आयोजनाका २ जना तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका १ जना सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रका लाङटाङ खोला, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ए तथा चिलिमे जलविद्युत् आयोजनामा तत्काल उद्धारको आवश्यकता देखिएकाले हेलिकोप्टरको व्यवस्था गरी उद्धार कार्यलाई तीव्रता दिने पहल भइरहेको सम्बन्धित विवरणमा जनाइएको छ।