विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

लुम्बिनी । मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा वातावरणमैत्रीं विद्युतीय बस र ट्याक्सी भित्रिएको दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । विश्व सम्पदास्थल लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका बस र ट्याक्सी समयमै सञ्चालन हुन नसक्दा बिग्रने जोखिम बढेको छ ।

लुम्बिनीस्थित विद्युतीय चार्जिङ स्टेसनमा पार्किङ गरी राखिएका बिजुली बस र ट्याक्सी । चीनबाट दुई लटमा गरेर ५ बस र १४ ट्याक्सी भ्यान यहाँ आइपुगेका छन्। तस्बिर : मनोज पौडेल/कान्तिपुर

तीनवटा बसको पहिलो खेप गत मंसिर ९ मै लुम्बिनी आइपुगेको हो । त्यसपछि बाँकी दुई बस र १४ ट्याक्सी पुस ६ मा यहाँ आइपुगेका हुन् । ठुल्ठूला लरीमा ल्याइएका बस र ट्याक्सीलाई विद्युतीय चार्जिङ स्टेसनको पार्किङमा राखिएको छ । ‘सवारी साधन प्राविधिक रूपमा ठीक छ/छैन भनेर जाँचपास गर्नुपर्छ,’ लुम्बिनी विकास कोषका एक अधिकृतले भने, ‘जसले पायो उसले गरेर मान्य हुँदैन ।’

पर्यटन मन्त्रालयअन्तर्गत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका मेकानिकल र इलेक्ट्रिकल इन्जिनियर दुई साता लगाएर परीक्षण गरी शनिबार फर्किएका छन् । त्यसको रिपोर्ट एक सातापछि आउने बताइएको छ । यता बस कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी नटुंगिएकाले सञ्चालनमा समस्या भइरहेको बताइन्छ । ‘धेरै छलफल गर्‍यौं,’ कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘कोष आफैं सञ्चालन गर्न सक्ने अवस्थामा छैन ।’ त्यही भएर कोषले टेन्डर आह्वान गरी बस र ट्याक्सी सञ्चालन गर्ने निर्णयमा पुगेको उनले बताए ।

सूचना निकानेर प्रक्रिया पूरा गरी सम्झौता गर्नुपर्छ । चीनबाट आयात गरिएका बस र ट्याक्सी जहाज र लरीमा आउँदै डेढ महिना बढी लाग्यो । यहाँ थन्किएको दुई महिना हुन थाल्यो । अझ दुई महिनासम्म त्यत्तिकै राख्दा बिग्रने जोखिम बढेको छ । नचलाएर राख्दा बिग्रने, पाटपुर्जामा समस्या आउने र टुटफुट हुने जोखिम बढेको प्राविधिकहरूको भनाइ छ ।

जति नचलायो, उति समस्या थपिँदै जाने अवस्था हुन सक्छ । दुई महिना हुँदा पनि पर्यटन मन्त्रालयले कोषलाई हस्तान्तरण गरेको छैन । प्राविधिक रूपमा परीक्षण भइरहेकाले समय लागेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । एसियाली विकास बैंक (एडीबी) ले पनि लुम्बिनी आएर परीक्षण गरिरहेको छ ।

एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी भित्रिएका हुन् । नेपाल सरकारले साढे ३ करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको छ । विश्वलाई लुम्बिनीसँग जोड्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन लैजान यी बस र ट्याक्सी प्रयोग गरिनेछ ।

त्यस्तै लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र ट्याक्सी ल्याइएका हुन् । बस र ट्याक्सी अत्याधुनिक छन् । ठूलो बसमा १९ सिट छन् । उभिँदा ३५ जनासम्म अटाउँछन् । सानो भ्यान पाँचसिटे हो । पूर्ण वातानुकूलित बस अपांगमैत्री छ । स्वचालित ढोका छन् । आनन्ददायी सिट छन् । कार्डले स्टार्ट हुन्छ । आवाजरहित छ । एक पटक फुल चार्ज गरे चार सय किमिसम्म गुड्छ । आपतकालीन ठुल्ठूला ढोका छन् । बस रोक्न सिटसिटमा बेल बटम छन् । थिच्नासाथ चालकनिरको बत्ती बल्छ । ‘लुम्बिनीका लागि ल्याइएका बस काठमाडौं लगेर उद्घाटन गर्दा यहाँ आउलान् भन्ने लागेको थिएन,’ लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘तर ढिलै भए पनि आए ।’

लुम्बिनीलाई वातावरण प्रदूषणरहित बनाउन यहाँ बिजुली बस सञ्चालनको योजना बनाइएको हो । ‘यहाँ ठुल्ठूला उद्योग हुँदा दिनानुदिन प्रदूषण बढ्दो छ,’ लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले भने, ‘यसले पर्यटकलाई राम्रो सन्देश जान सकेको थिएन ।’ त्यही भएर वातावरणीय समस्यालाई बढी संवेदनशील मान्ने विदेशी पर्यटकलाई लुम्बिनीबारे सकारात्मक सन्देश जाओस् भनेर ड्रिम योजना सञ्चालन गर्न लागिएको हो । यसले लुम्बिनी सफा र स्वच्छ भएको सन्देश विश्वभरि फैलिने उनले बताए ।

उद्घाटन गरिएको दुई वर्षपछि लुम्बिनीमा बिजुली बस सञ्चालनका लागि भित्रिएका हुन् । लुम्बिनीमा आएका बिजुली बस भैरहवा भन्सार कार्यालयबाट जबर्जस्ती काठमाडौं लगेर प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ कात्तिक ६ मा पुल्चोकबाट चढी सिंहदरबार पुगेर बिजुली बसको शुभारम्भ गरेका थिए ।

त्यतिखेर बसमा पर्यटन मन्त्रालयले १७ वटा कैफियत देखाएपछि ठेक्का बदर भएको थियो । त्यसपछि अहिले फेरि बीबाईडी कम्पनीले चीनबाट आयात गरेर नयाँ बस र ट्याक्सी पठाएको हो । बिजुली बसको मुख देख्न पाउँदा खुसी लागेको पर्यटन व्यवसायी विष्णु बस्नेतले बताए । ‘अब यसलाई चलाउन ढिलो गर्नु हुँदैन,’ उनले भने, ‘प्राविधिक रूपमा समस्या आउँदै जान्छ ।’

चार्जिङ स्टेसन तयार

बस र भ्यान चार्जिङ गर्ने स्टेसनको काम पनि पूरा भएको छ । पावरहाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यहाँ ३३ वटा गाडी चार्जर स्ट्यान्ड राखिएको छ । यिनमा तीन वटा क्विक चार्जर छन् । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका दुई वटा मिनीबस एकै पटक क्विक चार्ज गर्न मिल्छ । क्विक चार्जबाट फुल चार्ज हुन आधा घण्टा समय लाग्छ । बाँकी ३० वटा सामान्य चार्जर हुन् । यसबाट एक घण्टामा फुल चार्ज हुन्छ ।

३० वटा जिप र कारका लागि हो । स्टेसनबाट एकै पटकमा १३ सवारी साधन चार्ज गर्न सकिने जापानको इसाका इलेक्ट्रिक कम्पनीका नेपाली साझेदार चिरञ्जीवी थापाले बताए । त्यहीँ इलेक्ट्रिक रिक्सा (टुकटुक) चार्ज हुने ७५ वटा प्वाइन्ट पनि राखिनेछ । तीन वर्षभित्र लुम्बिनीमा पेट्रोलियम पदार्थले चल्ने सवारी साधन विस्थापित गर्ने योजनाअनुसार १३ करोड लागतमा चार्जिङ स्टेसन बनाइएको हो ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit