काठमाडौँ । नेपालका सबै घरधुरीले विद्युतीय इन्डक्सन चुलो प्रयोग गर्न थाले र खाना पकाउने समयमा एकैपटक चुलो सञ्चालन गरेमा थप ३ हजार मेगावाट विद्युत् आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा एइपिसीका उपकार्यकारी निर्देशक नारायणप्रसाद अधिकारीले उक्त अनुमान प्रस्तुत गरेका हुन् । उनका अनुसार यो अनुमान अनुसार देशभरका सबै घरधुरीले खाना पकाउने व्यस्त समयमा करिब दुई घण्टा इन्डक्सन चुलो प्रयोग गर्ने अवस्थालाई आधार मानेर गरिएको हो । अधिकारीले एकैपटक विद्युत्को मागमा ठूलो वृद्धि भएमा विद्यमान प्रसारण तथा वितरण संरचनामा ठूलो दबाब पर्ने बताए ।
उनका अनुसार विद्युत् प्रसारण लाइन विस्तार गरेर मात्र विद्युतीय चुलोको प्रयोग व्यापक बनाउन पर्याप्त हुँदैन । खाना पकाउने तथा तताउने काममा परम्परागत इन्धनको प्रयोग घटाएर स्वच्छ ऊर्जातर्फ स्थानान्तरण गर्न आवश्यक छ । यद्यपि, तत्कालै ठूलो संख्यामा घरधुरीले इन्डक्सन चुलो प्रयोग गर्न थालेमा त्यसबाट थपिने विद्युत् भार धान्न नेपालको विद्यमान विद्युत् संरचना पर्याप्त छैन ।
एइपिसीका अनुसार नेपालको कुल ऊर्जा खपतको ८० प्रतिशतभन्दा बढी उद्योगमा तताउने तथा पगाल्ने प्रक्रियामा प्रयोग हुने गरेको छ । उद्योगमा जीवाश्म इन्धन र कोइलाको प्रयोग घटाउँदै लैजानुका साथै घरायसी खाना पकाउन प्रयोग हुने परम्परागत इन्धनलाई विद्युत् तथा अन्य स्वच्छ ऊर्जाले विस्थापित गर्नु प्रमुख चुनौती रहेको अधिकारीले बताए ।
एइपिसीले विद्युतीय खाना पकाउने प्रविधिको प्रवर्द्धनका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गर्दै आएको छ तर, देशभर इन्डक्सन चुलोको प्रयोग व्यापक बनाउनुअघि विद्युत् प्रसारण तथा वितरण पूर्वाधारमा आवश्यक सुधार र विस्तार गर्नुपर्ने अधिकारीहरूको भनाइ छ ।
यसैबीच, सरकारले उपलब्ध गराएको सहयोगमा एइपिसीले तराई तथा दुर्गम क्षेत्रमा स्वच्छ खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्न थालेको छ । केन्द्रले अहिले तराईका १५० स्थानीय तहसँग समन्वय गरी करिब १० लाख घरधुरीमा स्वच्छ खाना पकाउने चुलो वितरण गर्ने तयारी गरिरहेको जनाएको छ ।