विद्युत आपूर्त : प्राधिकरण :४९५२ मे.वा.घन्टा / निजी क्षेत्र :४५७५ मे.वा.घन्टा / आयात : १४८१९ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग :२४३४६ मे.वा.घन्टा/ उच्च माग :१२८७ मेगावाट
×

कुस्मा, दाना सबस्टेसन तथा प्रसारण लाइन सञ्चालनमा, उज्यालो मुलुक निर्माणको ‘रोडम्याप’

२०७७ माघ २२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (माघ २२ गते) कालीगण्डकी २२० केभी डबल सर्किट प्रसारण लाइन पहिलो खण्डको उद्घाटन गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट भर्चुअलरूपमा उद्घाटन गरेका प्रधानमन्त्री ओलीले यसलाई देशले विकास निर्माणमा फड्को मारेको भनेका छन् ।

यस कोरिडोरको पहिलो खण्ड दाना–कुस्मा ४० किलोमिटर, दोस्रो खण्ड कुस्मा–न्यू बुटवल ८७ किलोमिटर र तेस्रो खण्ड न्यू बुटवल–बर्दघाट २० किलोमिटर निर्माण हुनेछ । अहिले पहिलो खण्ड पूरा भई सञ्चालनमा आएको छ । दोस्रो खण्डको निर्माण करिब ६० प्रतिशत पूरा भएको र तेस्रो खण्ड निर्माण चरणमा रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

पहिलो खण्डको उद्घाटन प्रधानमन्त्रीले सिंहदरबारबाट गरे पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत राजनीतिक दलका नेता उपस्थित थिए । यस्तै, प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, मनोज सिलवाल, दीर्घायूकुमार श्रेष्ठ लगायत पदाधिकारी पुगेका थिए ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री, ऊर्जा मन्त्री, प्रादेशिक मन्त्री तथा प्राधिकरणका उच्चपदाधिकारीले महत्त्वपूर्ण वक्तव्य राखेका थिए । उनीहरूको भनाइ ऊर्जा खबरले जस्ताको त्यस्तै समेट्ने प्रयास गरेको छ ।

‘समृद्ध मुलुक निर्माणकाे राेडम्याप बन्दैछ’

केपी शर्मा ओली, प्रधानमन्त्री

कालीगण्डकी र यसका सहायक नदीहरूबाट उत्पादित विद्युत् प्रवाह गर्न यो प्रसारण लाइन तथा सबस्टेसन निर्माण गरिएको हो । माघ १९ गते देशकै ठूलो ४०० केभी ढल्केबर स्वचालित सबस्टेसन उद्घाटन गरियो । आज यो प्रसारण लाइन र सबस्टेसन उद्घाटन हुनु ज्यादै खुसीको कुरा हो ।

विगत वर्षमा आन्तरिक विद्युत् उत्पादन थपिँदै आएको हुँदा २०७३ सालको दशैं तिहारदेखि नै अँध्यारोको सापना गर्नु परेन । म पहिलो पटक प्रधानमन्त्री हुँदा देशमा १८ घन्टासम्मको लोडसेडिङ थियो । लोडसेडिङ अन्त्य हुन्छ भन्दा मजाकमा उडाइएको थियो । तर, यो सम्भव भई छाड्यो ।

अब बर्खामा मागभन्दा बढी विद्युत् उत्पादन गर्न सक्ने अवस्था बनेको छ । तर, हिउँदमा अझै पनि भारतबाट आयात गर्नुपनेृ अवस्था छ । बर्खामा भने निर्यात गर्न सक्ने अवस्था बनेको छ । भारत र बंगलादेशसँग विद्युत् बिक्री गर्ने सम्बन्धमा कुराकानी भइरहेको छ ।

विम्स्टेक बैठकमा पनि ग्रिड कनेक्सनका सम्बन्धमा कुरा गरेका छौं । विद्युत् प्रवाहका लागि प्रसारण लाइन र सबस्टेसन अपरिहार्य हुन् । यो सँगै विकास निर्माणमा नेपालले ठूलो फड्को मारिरहेको छ ।

आधुनिक मुलुक निर्माणमा फड्को मारिँदै

टोपबहादुर रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

२०७२ सालमा म ऊर्जा मन्त्री हुँदा सुरु भएको संरचनाको आज उद्घाटन गर्न पाउँदा मलाई ज्यादै खुसी लागेको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणले समृद्धिको मार्ग प्रशस्त गरेको छ । जसले बत्ति बाल्नमात्र नभई आधुनिक मुलुक निर्माणका लागि बलियो जग बसालेको छ ।

तत्कालीन समयमा तयार गरिएको ९९ बुँदे गुरुयोजना कार्यान्वयनका क्रममा नै देशबाट लोडसेडिङ अन्त्य भएको हो । विद्युत् उत्पादन बढाउन टेक एन्ड पे (लिउ र तिर) प्रावधानको विद्युत् खरिद सम्झौता (पिपिए) लाई टेक अर पे (लिय या तिर) मा रूपान्तरण गरिएको थियो । यसरी नै ऊर्जा क्षेत्रका विद्युतीय संरचना निर्माणलाई तीव्रता दिइनेछ ।

निजी जलविद्युत् प्रवद्र्धकलाई ९९ बुँदे कार्ययोजनाले प्रोत्साहित गरेकै कारण आज विद्युत् उत्पादन थपिएको पक्षलाई नकार्न मिल्दैन । आउने २० वर्षमा ४२ हजार मेगावाट विद्युत् हामी उत्पादन गर्दैछौं । यसका लागि पनि संरचना बन्दै जानेछन् ।

तत्कालीन समयमा सौर्य विद्युत् उत्पादनलाई पनि प्रवद्र्धन गरिएको हो । यसैको प्रतिफल आज यसबाट उत्पादन थपिने क्रम बढिरहेको छ । अब खपत बढाउनुपर्नेमा ध्यान दिनुपर्ने बेला आएको छ । आन्तरिक उत्पादन बढ्दै गएकाले निर्यात गर्नुपर्ने बेला आएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट उत्पादन सुरु भएपछि निर्यात सुरु हुनेछ । यही कारण पनि आन्तरिक खपत र बाह्य बजारमा बेच्न पनि प्रसारण लाइनका संरचना तीव्र गतिमा अगाडि बढाउनुपर्ने देखिएको छ ।

चीनसँग विद्युत् व्यापार गर्न पनि अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम अगाडि बढिरहेको छ । आन्तरिक खपत र विद्युत् निर्यात गरेर सरकारले देशलाई आर्थिक समृद्धितर्फ लैजाने योजना बनाएको छ । अब अर्धजलाशय र जशालय आयोजना निर्माणमा ध्यान दिनुपर्नेछ ।

धौलागिरी बेसिनमा ८३० मेगावट थपिँदैछ
विकास लम्साल
उद्योग, पर्यटन तथा वातावरण मन्त्री, गण्डकी प्रदेश

बर्खामा निर्यात र हिउँदमा विद्युत् आयात गर्न विद्युतीय संरचना आवश्यक छन् । सबस्टेसन तथा प्रसारण लाइन निर्माण हुनुले धौलागिरी बेसिनका लागि ठूलो आधार तयार भएको छ । अब विद्युत् नभएर अँध्यारोमा बस्नुपर्ने अवस्था छैन ।

कालीगण्डकी कोरिडोर प्रसारण लाइन धौलागिरीका लागि ठूलो उपलब्धि हो । कालीगण्डकीमा पनि जलाशय आयोजनाको अध्ययन भइरहेको छ । यहाँ उत्पादन हुने विद्युत् यहीँ खपत हुने गरी १० वटा उद्योग खोलिँदैछ । धौलागिरीका नदी बेसिनबाट ८ सय ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ । यसले सिंगो मुलुकको आर्थिक समृद्धिको ढोका खोल्नेछ ।

गुणस्तरीय विद्युत् प्रवाहको सुनिश्चितता

हितेन्द्रदेव शाक्य
कामु कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

यी सबस्टेसन र प्रसारण लाइनले कालीगण्डकी र यसका सहायक नदी बेसिनमा उत्पादन हुने बिजुली प्रवाह गर्नेछन् । दाना–कुस्मा सञ्चालनमा आइसकेको छ । कालीगण्डकी कोरिडोरको दोस्रो खण्ड कुस्मा–न्यू बुटवल निर्माण नहुँदासम्म यस क्षेत्रको बिजुली १३२ केभी लाइनबाट कास्कीको लेखनाथ सबस्टेसनमा पुग्नेछ ।

कालीगण्डकी कोरिडोर २२० केभी डबल सर्किट भएकोले यसले १२ सय मेगावाटसम्म विद्युत् बोक्न सक्छ । तर, हामीले प्रणालीको सुरक्षाका लागि ७ सय मेगावाटभन्दा बढी प्रवाह गर्न दिँदैनौं । समस्यै पर्दा ८ सय मेगावाटसम्ममा जान सकिन्छ । तत्कालका लागि निजी क्षेत्रले त्यस भेगमा उत्पादन गरेको विद्युत् भरपर्दो तरिकाले ग्रिडमा जोड्न सकिन्छ ।

अब निजी क्षेत्रका समस्या सधैंका लागि अन्त्य

मनोज सिलवाल
उपकार्यकारी निर्देशक, आयोजना व्यवस्थापन निर्देशनालय (प्राधिकरण)

प्रसारण लाइन निर्माणमा धेरै समस्या देखिने र देखिइरहेका छन् । तर, यस क्षेत्रमा काम गर्दा म्याग्दी र पवर्त जिल्लाबासीले निकै सहयोग गर्नुभयो । मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनमा दुई वटा टावरमा विवाद देखिँदा काम रोकियो । तर, यहाँ यो हुन पाएन । प्रसारण लाइन तथा सबस्टेसन पूरा भएको छ ।

दाना–कुस्मा प्रसारण लाइनमा ५ मेगावाटको घलेम्दी, १३.६ मेगावाटको थापा खोला र ४२ मेगावाटको मिस्ट्री खोलाको विद्युत् पूर्णरूपमा खपत हुनेछ । अब यस क्षेत्रका बासिन्दालाई निरन्तर गुणस्तरीय विद्युत् प्रवाह गर्न सकिने भएको छ । साथै, यस क्षेत्रमा उत्पादित विद्युत् यिनै प्रसारण लाइनमार्फत देशका विभिन्न ठाउँमा प्रसारण तथा वितरण गर्न सकिनेछ ।

कालीगण्डकी कोरिडोरबाट विद्युत् न्यू बुटवलसम्म पुर्याएपछि पूर्व–पश्चिम वितरण गर्न सकिन्छ । न्यू बुटवल एउटा हब हुन्छ । यहाँबाट भारतसँगको प्रसारण लाइन जोडिन्छ । र, बढी भएको विद्युत् दोस्रो अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत निर्यात गर्न सकिनेछ ।

प्रतिक्रिया