• प्राधिकरण : ९८२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५७९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७४२ मे.वा.घन्टा
  • आयात : ५५३१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३२८९३ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५५७ मे.वा.
×

‘ग्रिन बैंकिङ’ पछ्याउँदै व्यवस्थापकीय टाकुरामा अग्लो मान्छे

२०७९ ब‌ैशाख १३

काठमाडौं । उपेन्द्रप्रसाद पौड्याल बैंकिङ तथा व्यवस्थापनको क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । उनले आफ्नो ३ दशकभन्दा बढी समय यो क्षेत्रमा खर्चिइसकेका छन् । सोल्टी होटेलबाट आफ्नो व्यावसायिक जीवन आरम्भ गरेका उनले केही वर्षअघि एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट स्वैच्छिक अवकास लिए ।

सुन्दा अचम्म लाग्न सक्छ, निजी क्षेत्रमा काम गर्ने व्यक्तिले पनि स्वैच्छिक अवकास लिन्छन् ? साँच्चै यो अचम्म मान्नुपर्ने कुरा नै बनेको छ, नेपालको बैंकिङ उद्योगमा । निश्चित उमेर पुगेपछि बैंकको जिम्मेवारीबाट अवकास लिएर सामाजिक विकासका अन्य आयामसँग जोडिनुपर्छ भन्ने उपेन्द्र पौड्यालको पुरानै योजना हो । जसलाई उनले व्यवहारमा उतारेका मात्र हुन् ।

त्यसो त उनी बैंकिङ उद्योगमा पुस्तान्तरण हुनुपर्छ भन्ने दरिलो विचार राख्ने र त्यो कार्यान्वयन गर्ने व्यक्ति पनि हुन् । के सरकारी सेवाका कर्मचारीले मात्र उमेरहदका कारण अवकास लिनुपर्ने हो ? यस्तो विधि, शासन र प्रणाली निजी क्षेत्रका संस्थानमा पनि लागू गर्दा के हुन्छ ? जीवनको उत्तरार्धसम्म संस्थामै टाँसिरहने प्रवृत्तिले संस्थाको परिमाणात्मक र गुणात्मक विकासको सवालमा के कति सुधार गर्न सक्ला ?

सधैं यी प्रश्नको उत्तर खोजिरहने उपेन्द्र पौड्याल जवाफ आफैं बन्न पुगे । सुशासनयुक्त बैंकिङ, चुस्त व्यवस्थापन र पारदर्शिता उनका गुरु मन्त्रै जस्तै हुन् । यो अवधारणालाई व्यवहारमा लागू नगरी बैंकिङ जगतले प्रभावकारी सेवा प्रदान गर्नै सक्दैन भन्नेमा उनी अडिग छन् । यही कारण, उनले एउटा सानो बैंकको परिधिभित्र आफूलाई खुम्चिन नदिएर व्यवसायको खुला आकाशमा उड्ने संकल्प गरे ।

यो सँगै उनले निजी क्षेत्र अर्थात् बैंकिङ जगतमा पुस्ता हस्तान्तरणको प्रारम्भ पनि गरे । जुन, कार्यरत र आउने पुस्ताका लागि समेत प्रेरणा बन्नेछ । पौड्यालले एनएमबी बैंकबाट अवकास लिएपछि त्यो जिम्मेवारी त्यहीँ कार्यरत वरिष्ठ अधिकृत सुनिल केसीलाई प्राप्त भयो । अहिले केसीले पौड्यालकै दाँजोमा नेतृत्व हाँकिरहेका छन् । यदि, पौड्यालले अवकासको निर्णय नगरेका भए केसीलाई त्यो जिम्मेवारी प्राप्त नहुन पनि सक्थ्यो र उनी त्यहाँबाट अर्को बैंकमा स्थानान्तरण हुन्थे होलान् ।

एनएमबीमा अनुभवी बैंकरले समय नहुँदै संस्था छोड्ने र जसका कारण बैंकको श्रीवृद्धिमा असर पुग्ने पाटोलाई पनि उपेन्द्र पौड्यालले हृदयंगम गरेको मान्नुपर्छ । बैंकिङ जगतमा इमान्दार, पारदर्शी र आफ्नो लक्ष्यमा अर्जुनदृष्टि राख्ने उनी त्यस्ता व्यक्ति हुन्, जसले “अब पुरानो ढर्राबाट बैंकिङ व्यवसाय चलाएर हामी विकासको उचाईमा पुग्न सक्दैनौं” भन्ने आत्मबोध गरेर रूपान्तरणको अभियान सुरु गरेका छन् ।

एनएमबीबाट अवकास लिएपछिका केही वर्ष उनी समाज र सांस्कृतिक रूपान्तरणका केही अभियानमा जोडिए । ‘आर्ट अफ लिभिङ’ जस्ता सांस्कृतिक गतिशीलतामा जोडिएर बाँच्ने कला सिक्दै सिकाउँदै र यसलाई जीवन तथा अर्थतन्त्रसँग जोडेर संस्थागत गर्दै आएको देखिन्छ । समाजमा पछाडि परेका, मानसिक र शारीरिकरूपमा असक्त व्यक्तिको जीवनस्तर सुधारको अभियानलाई समेत उनले निरन्तरता दिँदै आएका छन् ।

बजारमा प्रतिस्पर्धी हुने, नाफा कमाउने र आकारसँग तुलना गर्ने बैंकिङ आजको आवश्यकता होइन । ‘बैंकिङ व्यवसायले राज्यको समृद्धिसँग काँधमा काँध मिलाएर हिँड्नुपर्छ’ भन्ने उपेन्द्र पौड्याल पछिल्लो समय नबिल बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्न पुगेका छन् । केही समय सञ्चालकको भूमिकामा रहेका उनी गत वर्षदेखि अध्यक्षको जिम्मेवारीमा छन् । आफूले सोचेको बैंकिङ गर्ने उनको धोको सम्भवतः नबिलले पूरा गर्न सक्छ कि !

कतव्र्यबोध, जिम्मेवारीप्रति निष्ठावान र सुशासनका पर्यायावाची जस्तै मानिने उपेन्द्र पौड्याल व्यवस्थापकहरूको छाता संगठन नेपाल व्यवस्थापन संघ (म्यान) को नेतृत्वमा समेत पुगेका छन् । उनको अनुभव, निष्ठा र सधैं परिवर्तनको पक्षमा उभिएर युवा जमातलाई प्रोत्साहन गर्ने खुबी भएकै कारण म्यानले संस्थाको बागडोर जिम्मा लगाएको हुनुपर्छ ।

व्यवस्थापन हरेक संस्था, निकाय वा राष्ट्रको मुटु हो । यसको चुस्त व्यावसायिक विकासबिना सरकारी होस् निजी जगतले पारदर्शिता कायम गर्न सक्दैन । परिणामलाई नतिजामुखी बनाउन सकिँदैन । राज्य निर्माणका बहुआयामिकतामा खास योगदान पुर्याउन सम्भव हुँदैन । अतः उनी राज्य निर्माणका तहहरूमा सुशासन, व्यवस्थापन र जीवनोपयोगी बैंकिङका इँटा थप्ने अभियानमा जुटेका छन् ।

दक्षतायुक्त व्यवस्थापकीय लिकमा आर्थिक विकासको रेल दौडाउँदै अबको पुस्तालाई नवनिर्माणको जग खन्न प्रेरित गर्ने उनको परिकल्पना सम्भवतः नबिल बैंक र म्यानले पूरा गर्छ कि !

विश्व जलवायु परिवर्तनको असरले प्रभावित हुँदै गएको सन्दर्भमा उनको सोच अझ हरित बैंकिङतर्फ आकर्षित छ । जुन बैंकिङ क्षेत्रले राज्य निर्माणका तहमा हातेमालो गर्छ, हरित ऊर्जा विकासलाई प्रवद्र्धन गर्छ र जीवनस्तर सुधारका आयामहरूमा सधैं प्रयत्नशील रहन्छ त्यस्तो बैंकिङ आजको नेपालले खोजेको उनले अनुभूत गरेका छन् । यो पक्षलाई थोरै भए पनि व्यवहारमा उतार्नकै लागि उनी म्यानको नेतृत्वमा उक्लिएको हुन् ।

यही सन्दर्भमा म्यानले राज्यका संयन्त्रलाई सहयोग पुग्ने तथा आगामी आर्थिक वर्षको बजेट निर्माणमा सरकारलाई उघाउने उद्देश्यले मंगलबार (बैशाख १३ गते) एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो । अर्थ सचिव मधुकुमार मरासिनी लगायत देशका ठूलो औद्योगिक प्रतिष्ठानका अगुवाहरू सम्मिलित कार्यक्रममा निजि क्षेत्रले भोगेका समस्या र चुनौती तथा ती चुनौतीलाई आगामी बजेटमा सम्बोधन हुनुपर्ने विषय उठाइयो ।

सरकारले रूपान्तरणकारी आयामहरू र भविष्यमा दूरदर्शी प्रभाव पार्न सक्ने बजेट प्याकेज तथा कार्यक्रम ल्याउनुपर्नेमा विज्ञहरूले जोड दिए । यहाँ, निजी क्षेत्रको योगदानलाई सरकारको गतिशील अर्थतन्त्रसँग जोड्न उपेन्द्र पौड्यालले पुलको काम गर्ने प्रयास गरिरहेको देखिन्छ । पूर्वबजेट छलफलका आधारमा तयार पारिएको प्रतिवेदन केही दिनभित्र सरकारलाई हस्तान्तरण गर्ने म्यानको योजना छ ।

यो वर्षको बजेट प्राथमिकताका आधारमा विनियोजन हुनेमा पौड्याल विश्वस्त छन् । पर्यटन, ऊर्जा, सेवा, सूचना प्रविधि लगायत क्षेत्र प्रतिस्पर्धात्मकरूपमा विकास हुँदै आइरहेकोमा उनी खुसी छन् । तर, प्रतिस्पर्धी व्यवसायका लागि लागत मूल्यमा कमी ल्याउने नीतिगत व्यवस्थाको खाँचो रहेको उनको ठम्याई छ ।

हामी ‘कृषिप्रधान मुलुक’ भनिरहन्छौं । तर, देशका अधिकांश खेतियोग्य जमिन नष्ट हुँदै गएका छन् । बसाइँसराइको लहरले तराई तथा सहरका खेतीयोग्य जमिन सकिँदै गएका छन् । उता, जग्गा व्यवसायीको प्लटिङ गतिविधिले यसलाई सघाइरहेको छ । हामीसँग भू-उपयोग नीति छैन । गाउँघरका जमिन बाँझिँदै र बन्जर हुँदै गएका छन् । यसमा परिवर्तन ल्याउन सरकारले कृषिमा उचित प्रकारको अनुदान व्यवस्था गरोस् भन्छन्, पौड्याल ।

आगामी दिनमा सरकारको अभिभावकत्वमा निजी क्षेत्र (बैंकिङ, उद्योग, कलकारखाना) को व्यावसायिक आयतन फराकिलो पार्नुपर्ने रणनीतिक योजनामा देखिन्छन्, उनी । निजी क्षेत्रले पनि आफ्नो अनुहारमा लागेको दाग मेट्ने प्रयास गर्दै उत्तरदायी बन्ने कर्म छोड्न नहुने उनको अभिव्यक्ति रहँदै आएको छ । यो नै उनले चलाउँदै आएको ‘भ्यालु बेस बैंकिङ’ अभियानको आधार होला ।

अब आर्थिक समृद्धि भनेर मात्र हुँदैन । जीवनोपयोगी शिक्षा र त्यसले प्रदान गर्ने रोजगारका अवसरहरूको ढोका खुल्दै जानुपर्छ । आमाको गर्भबाट भुइँ नझर्दै ‘देशमा भविष्य छैन’ भन्दै अन्तर्राष्ट्रिय जगततिर हुइँकिने परिकल्पना गर्न छोडेर देशमै अवसरका पाइला पच्छ्याउन सक्ने र सिक्ने कलाको जागरण फैलाउनुपरेको छ । सायद, उपेन्द्र पौड्यालको हृदयमा यही भावना झंक्रित भइरहेको छ । दक्षतायुक्त व्यवस्थापकीय लिकमा आर्थिक विकासको रेल दौडाउँदै अबको पुस्तालाई नवनिर्माणको जग खन्न प्रेरित गर्ने उनको परिकल्पना सम्भवतः नबिल बैंक र म्यानले पूरा गर्छ कि !

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit