काठमाडौँ । रसुवाको उत्तरी सीमा क्षेत्र गोसाइँकुण्ड गाउँपालिका स्थित १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना मर्मतका लागि स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको दुरावस्था मुख्य चुनौती बनेको छ । उक्त सडक खण्डमा निरन्तर पहिरो तथा ठूला ढुङ्गा खसिरहेकोले आयोजना मर्मतका लागि चाहिने ठूला उपकरण, निर्माण सामग्री तथा इन्धन लैजान समेत समस्या भएको हो ।
गत असार २४ गते ल्हेन्दे खोला हुँदा भोटेकोसीमा आएको बाढी तथा पहिरोबाट उक्त सडक खण्ड तथा आयोजनामा ठूलो क्षति पुगेको थियो । त्यसयता उक्त सडक खण्डमा निरन्तर माथिबाट ठूला ढुङ्गासहितको पहिरो खसिरहने तथा कहिले पहिरोमा परेर सडक नै बग्ने गरेको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सत्यराम ज्याख्वाले ऊर्जा खबरलाई बताए ।
‘जलविद्युत् केन्द्रको मर्मतका लागि ठूला मेसिन चलाउन आवश्यक डिजेल समेत मान्छेले बोकेर लानुपर्ने अवस्था बनेको छ,’ उनले भने, ‘केही दिनअघिकै कुरा हो – सडक खुल्यो भनेर ट्याङ्करमा डिजेल लिएर गइयो तर त्यो मर्मतस्थलमा पुर्याउन ३ दिन लाग्यो ।’ पहिरोका कारण सडकको अवस्था अस्थिर हुँदा उक्त विद्युत् केन्द्रको यात्रा नै जोखिमपूर्ण भएको भनाइ छ । ‘दुई साताअघि मात्रै (असोज ५ गते) स्याफ्रुबेसी नजिकै सडकमा खसेको पहिरो पन्छाउने क्रममा रोकिराखिएको हाम्रो कम्पनीको बा. १० च ४२०७ नम्बरको टाटा हाइलक्स गाडीमा ठूलो ढुङ्गा खसेर लाग्दा ठूलै क्षति भएको छ,’ उनले भने, ‘साथीहरू गाडीबाट ओर्लिएर बाहिर बसेकोले मानवीय दुर्घटना भने टर्यो ।’
उनका अनुसार हाल सोही सडक खण्डको स्याफ्रुबेसी र टिमुरेको बीचमा पर्ने कुलुङ खोला पुल जोखिममा परेकोले सडक विभागले ठूलो सवारी सञ्चालनमा रोक लगाउँदा जलविद्युत् केन्द्रको मर्मतका लागि ठूला मेसिन लैजान सकिएको छैन । पुलको जग नै खोलाको कटानले जोखिममा परेको छ । ‘कुलुङ खोलामा रहेको उक्त पुल भत्कियो भने त झन् यो सडक लामो समय अवरुद्ध हुनसक्ने देखिन्छ,’ उनले भने, ‘त्यसो हुँदा पुलको जग सुरक्षित गरी जोगाउनेतर्फ सडक विभागको ध्यान जानुपर्ने देखिन्छ ।’
सडकमा बग्ने पहिरो पन्छाएर सडक खुलाउन सडक विभागका ३ ओटा र कम्पनीको एउटा मेसिन सडकमा निरन्तर लागिरहेको भए पनि सडक निर्वाध सुचारु गर्न नसकिएको उनको भनाइ छ ।
बाँधका दुवै ढोका दशैँपछिसम्म खोल्ने लक्ष्य
जलविद्युत केन्द्र निर्माण गर्ने पुराना ठेकेदार कम्पनीहरूले २ वर्षको ‘डिफेक्ट लायबलिटी परियड’ पूरा गरेर उनीहरू जलविद्युत् केन्द्रस्थलबाट करिब बाहिरिइसकेको जस्तै अवस्था छ । भारतीय र चिनियाँ ठेकेदार कम्पनीका सामान्य कर्मचारी बसिरहेको भए पनि गत असार २४ गतेको बाढी पहिरोपछि उनीहरू पनि फर्किसकेकोले उनीहरूबाट काम गराउन नसकिएको सिइओ ज्याख्वाको भनाइ छ ।
अहिले कम्पनी आफैँले उपकरणहरू भाडामा ल्याएर ज्यालाका जनशक्ति परिचालन गरी पुरिएका संरचना सफा गर्ने काम गरिरहेको छ । ‘बाँध क्षेत्रको सफाइ गरी एउटा ढोका खोलिसकेका छौँ, अर्को ढोका भने खोलामै पर्ने भएकोले त्यहाँ ‘कफर ड्याम’ बनाएर मात्र खोल्ने छौँ ।’
उनका अनुसार दशैँपछिसम्म दुवै ढोका खोलिसक्ने लक्ष्य राखिएको छ । बाँधमा बाढीले ठूल्ठूला ढुङ्गा ल्याएको र ती ढुङ्गा फुटाउँदै बाँध क्षेत्रका संरचना खोल्नुपर्ने भएकोले पर्खालको तल जगसम्म खोलेर क्षतिको मूल्याङ्कन अझै गर्न सकिएको छैन ।
टेलरेस सफा गर्न २ महिना लाग्ने
केन्द्रको विद्युत्गृहतर्फ असार २४ को बाढीको पानी तथा लेदो टेलरेसमा समेत पसेको थियो । विद्युत्गृहतर्फ जाने पुललाई कम्पनीले सुरक्षित बनाएको भए पनि टेलरेसमा जाने बाटो हालसम्म खोल्न नसकिएको सिइओ ज्याख्वाले बताए । ‘टेलरेसमा जाने बाटो सबै बाढीले बगाएको छ भने ठूल्ठूला ढुङ्गा थुपारिदिएको छ,’ उनले भने, ‘बाटोतिर नै खोला गएको भएर जति माटो हाले पनि बगाउने अवस्था रहेकोले बाटो खोल्न सकिएको छैन, वर्षा अलि कम भयो भने यो बाटो खोल्न सकिन्छ कि भन्ने आश गरेका छौँ ।’ टेलरेसमा जाने बाटो खुलेपछि पनि त्यहाँ जमेका ढुङ्गा, माटोलगायतका फोहर फाल्न करिब २ महिना लाग्न सक्ने छ ।
कम्पनीले विद्युत्गृहभित्र क्षति भएका तथा फेर्नुपर्ने उपकरण ल्याउनका लागि सूची बनाइसकिएको छ । उक्त सामान विद्युत् केन्द्रमा पुगिसकेपछि भरसक मर्मतको काम ठेकेदार कम्पनीबाट गराउन खोजिएको र सम्भव नभए अर्को उपाय अपनाउने सोच बनाएको छ ।
साढे ३ अर्बको क्षति
ल्हेन्दे खोला हुँदै भोटेकोसीमा गत असार २४ गते आएको बाढीले आयोजनाको बाँध संरचना, आवास क्षति, टेलरेस र सडक, सवारी साधन तथा ठूला मेसिन तथा अन्य सामग्री गरी झण्डै साढे ३ अर्ब क्षति पुग्ने अध्ययनबाट देखिएको छ । यस मध्ये करिब १ अर्ब ७४ करोड रुपैयाँ बिमाको रकमबाट पूर्ति हुने देखिएको छ ।
जलविद्युत् केन्द्रका सबै संरचना पहिलाकै अवस्थामा ल्याउन एक वर्षभन्दा बढी लाग्न सक्ने देखिएको छ । यद्यपि, आगामी पुससम्ममा पानी फर्काएर विद्युत् उत्पादन भने सुचारु गर्ने हिसाबले काम भइरहेको उनले बताए ।



