काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन ऐतिहासिक र मुख्य योगदान पुर्याएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (माघ, फागुन, चैत्र) को प्रारम्भिक राष्ट्रिय लेखा अनुमान अनुसार अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान ऐतिहासिक स्तरमा बढेको पाइएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुकको समग्र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आधारभूत मूल्यमा ३.५१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ, जसमा विद्युत् उत्पादन तथा वितरण क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने जनाइएको छ ।
अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणहरूमध्ये १६ वटा क्षेत्रमा धनात्मक वृद्धिदर देखिँदा विद्युत्, ग्याससहित ऊर्जा क्षेत्रकाे उत्पादनको वृद्धिदर सबैभन्दा उच्च अर्थात् २४.८८ प्रतिशत कायम भएको छ । ऊर्जा क्षेत्रको यो उत्साहजनक वृद्धिले नै संकुचनतर्फ जान सक्ने अन्य क्षेत्रहरूलाई ढाडस दिँदै समग्र राष्ट्रिय अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन ऊर्जा स्तम्भका रूपमा काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मुलुकको आर्थिक परिदृश्य र क्षेत्रगत योगदानलाई हेर्दा ऊर्जा क्षेत्रको बलियो उपस्थितिलाई वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलापले १०.२७ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रले ७.८३ प्रतिशतको वृद्धिदरका साथ पछ्याएका छन् । राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने यस अवधिमा १.५८ प्रतिशतमा सीमित हुने अनुमान छ । धान बालीको उत्पादनमा ह्रास आए पनि पशुपन्छी, तरकारी तथा फलफूल र वन पैदावारमा भएको सामान्य सुधारले कृषि क्षेत्रलाई ऋणात्मक हुनबाट जोगाएको देखिन्छ ।
यस्तै, अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशतको वृद्धि हुनुमा स्वदेशी उत्पादन र व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धि नै मुख्य कारक रहेको छ ।
अर्कोतर्फ, सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन क्षेत्रमा क्रमशः १.५९ प्रतिशत र ०.५४ प्रतिशतको ऋणात्मक वृद्धि मापन गरिएको छ । निर्माण सामग्रीको आयात र केही वस्तुहरूको घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र आर्थिक वृद्धिदर सामान्य अवस्थामा खुम्चिए पनि ऊर्जा क्षेत्रको अभूतपूर्व योगदानले देशको कुल उत्पादनको साख जोगाउन मद्दत गरेको विश्लेषण गरिएको छ ।