काठमाडौँ । सरकारले आगामी ५ वर्षभित्र १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी प्रस्तावित लक्ष्य अघि सारेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको एक कार्यदलले वातावरणमैत्री आर्थिक गतिविधि र युवा रोजगारीलाई जोड्दै आर्थिक रूपान्तरण गर्ने उद्देश्यसहित ‘नेपाल हरित रोजगारी मिसन’ प्रस्ताव गरेको हो ।
विशेषगरी युवाका लागि मर्यादित र दिगो रोजगारीका अवसर विस्तारमा ध्यान केन्द्रित गरी सरकारले यस्ताे लक्ष्य प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । प्रस्तावित मिसनले आफ्नो रणनीतिको केन्द्रमा हरित सीप विकासलाई राखेको छ । हरित अर्थतन्त्रभित्र उदाउँदै गरेका क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रमा रोजगारी प्राप्त गर्न आवश्यक सीप युवालाई प्रदान गर्ने यसको उद्देश्य छ ।
मन्त्रालयका अनुसार यो पहलले वातावरणमैत्री लगानीलाई रोजगारी सिर्जनासँग जोड्नेछ । यसका प्राथमिकताका क्षेत्रमा फोहोरको पुनःप्रशोधन र पुनःउपयोग (रिसाइक्लिङ तथा अपसाइक्लिङ), स्वच्छ ऊर्जा र जलवायुमैत्री कृषि रहेका छन् ।
नेपालमा हरित अर्थतन्त्रको विकासका प्रयासले गति लिइरहेका बेला यो पहल अघि सारिएको हो । यसैक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले हाल पोखरा महानगरपालिकामा ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना’ परियोजना सञ्चालन गरिरहेको छ ।
यस परियोजनाले परम्परागत ‘प्रयोग गर र फाल’ मोडलको विकल्पका रूपमा रिसाइक्लिङ तथा अपसाइक्लिङ उद्यमलाई सहयोग गर्दै हरित अर्थतन्त्रको प्रवर्द्धन गरिरहेको छ । यसको उद्देश्य हरित रोजगारी सिर्जना गर्नुका साथै प्रदूषण र ठोस फोहोरबाट पर्ने वातावरणीय असर न्यूनीकरण गर्नु हो ।
हरित रोजगारी मिसनमार्फत सरकारले हरित अर्थतन्त्रतर्फ नेपालको रूपान्तरणलाई युवाका लागि रोजगारी, सीप विकास र दिगो आर्थिक वृद्धिको प्रमुख आधार बनाउने अपेक्षा गरेको छ ।