विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ८, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

दोलखा । निर्माणाधीन तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको अडिट (पहुँच) सुरुङ–२ निर्माणको काम स्थानीयवासीले अवरुद्ध पारेका छन् । गौरीशङ्कर संरक्षण क्षेत्रको एउटा पत्रले ९ महिनासम्म बन्द आयोजनाको काम सुचारु भएको केही समयपछि नै आयोजना प्रभावित क्षेत्रका स्थानीयको अवरोध सुरु भएको हो ।

आफूहरूसँग भएको डेढ वर्षअघिको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले आयोजनाको काम बन्द गराएका हुन् । अवरोधमा उत्रिनेहरूमा स्थानीय राजनीतिक दलका नेतादेखि शिक्षकसम्म रहेका छन् ।

स्थानीयले सहमतिका सबै बुँदा तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । आफूहरूको माग बेवास्ता गर्दै आयोजना निर्माण अघि बढाए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

सहमति कार्यान्वयन नभएसम्म अडिट–२ को निर्माण कार्य अघि बढ्न नदिने स्थानीयको अडान छ । यसका कारण अडिट २ बाट सुरु भएको आयोजनाको सुरुङ निर्माण कार्य २ दिनदेखि ठप्प भएको छ । काम ठप्प भएपछि सुरुङभित्र काम गर्ने उपकरण र मजदुर बेरोजगार भएका छन् ।

आयोजना पक्षले भने स्थानीयका माग बेवास्ता गरिएको भन्ने आरोप अस्वीकार गरेको छ । तामाकोसी जलविद्युत् कम्पनीका प्रबन्ध–सञ्चालक रामकुमार यादवले सहमतिमा उल्लेख भएका विषय क्रमशः सम्बोधन हुँदै गएको बताए ।

उनका अनुसार आयोजनाले स्थानीयका जायज मागलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको छ । विशेषगरी रोजगारीका विषयमा सीप, क्षमता र आवश्यकताअनुसार स्थानीयलाई प्राथमिकता दिइएको यादवले बताए ।

‘स्थानीयलाई रोजगारी दिने विषयमा हामीले सीप र क्षमता हेरेर प्राथमिकता दिँदै आएका छौँ,’ यादवले भने, ‘सहमतिमा भएका मागहरू पनि क्रमशः सम्बोधन हुँदै गएका छन् ।’ 

उनले स्थानीयसँग छलफल र समन्वयबाटै समस्या समाधान गर्न आयोजना तयार रहेको बताए । सहमति कार्यान्वयनका विषयमा पटक–पटक छलफल भएको र आवश्यक विषयमा स्थलगत निरीक्षणसमेत गर्ने गरी आयोजना पक्षले प्रक्रिया अघि बढाएको उनको भनाइ छ । आयोजनाको आधिकारिक भनाइअनुसार पनि साउन २५ गते सम्बन्धित पक्षबीच विस्तृत छलफल भएको र सहमतिका प्रत्येक बुँदा अध्ययन तथा कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

उक्त सहमति अनुसार साउन २६ गते स्थलगत निरीक्षण गर्ने तयारी भए पनि शिक्षक अमृत आचार्यसहित पीडित पक्षका प्रतिनिधि उपस्थित नभएको र सम्पर्क गर्ने प्रयास गर्दा उनीहरू उपलब्ध नभएको आयोजनाको दाबी छ ।

‘अहिले हाम्रा आयोजनाका आधिकारिक व्यक्तिहरू साइटमै हुनुहुन्छ, वार्ता गरेर सहमतिका बुँदा समीक्षा गर्न सकिन्छ तर कामै बन्द गर्नु उचित भएन,’ उनले भने, ‘विद्यालयका शिक्षक नै आन्दोलनको अगुवा बनेर काम बन्द गराउन आएकोमा भने अचम्म लाग्यो ।’ 

स्थानीयका अनुसार सहमतिमा उल्लेख भएका विषय कार्यान्वयन गर्न पटक–पटक आयोजनाको ध्यानाकर्षण गराउँदा पनि अपेक्षित रूपमा काम अघि बढ्न सकेको थिएन । सहमति कार्यान्वयनका लागि समयसीमा तोकेर अल्टिमेटम दिइएको भए पनि माग सम्बोधन नभएपछि अडिट–२ को काम बन्द गराइएको विगु गाउँपालिका– २ का रामशरण ठकुरीको भनाइ छ ।

पटकपटक आयोजनाको काम रोकिँदो निर्माणको समय तालिका प्रभावित हुने र यसले आयोजनाको लागत र समग्र प्रगतिमा समेत असर पुर्‍याउने यादवको भनाइ छ । 

आयोजना व्यवस्थापनका अनुसार अडिट–२ को काम रोकिँदा अहिले नै निर्माण प्रगति प्रभावित हुन थालेको छ । राष्ट्रिय महत्त्वको जलविद्युत् आयोजना लामो समय अवरुद्ध हुँदा निर्माण अवधि लम्बिनुका साथै लागत बढ्ने र समग्र आयोजना प्रभावित हुने जोखिम रहेको आयोजनाले जनाएको छ । 

आयोजना पक्षले स्थानीयका जायज मागको सम्मान गर्दै सहमति कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

अडिट–२ बाट प्रभावित विगु गाउँपालिका–२ मौर, औराट तथा गौरीशंकर गाउँपालिका–८ खारेका स्थानीयसँग आयोजना पक्ष र स्थानीय संघर्ष समितिबीच १४ बुँदे सहमति भएको थियो । उक्त सहमति अनुसार प्रभावित स्थानीयलाई रोजगारीमा प्राथमिकता, पारिश्रमिक तथा सेवा सुविधा, सामाजिक विकास कार्यक्रम, विशेष सेयर, मोटरेबल पुल तथा सडक निर्माण, तटबन्ध, धार्मिक स्थल संरक्षण, वातावरण तथा बस्ती क्षतिपूर्ति, जग्गा भाडा, पार्किङ व्यवस्थापन, विस्थापित घरधुरीका सदस्यलाई रोजगारी र खानेपानी व्यवस्थालगायत विषय समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३