काठमाडौँ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माथिल्लो माई जलविद्युत् केन्द्रको उत्पादन बन्द भएको छ । केन्द्रको विद्युत् उत्पादन संरचनामा समस्या आएका कारण उत्पादन स्थगन गर्नुपरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार ९.९८ मेगावाटको केन्द्रको ‘एक्सपान्सन जोइन्ट’मा अत्यधिक पानी चुहावट भएपछि मर्मत सम्भारका लागि उत्पादन रोक्नुपरेको हो । उक्त एक्सपान्सन जोइन्टको मर्मत गर्न सुरुङ नै पूर्ण रूपमा खाली गर्नुपर्ने बाध्यता आइपरेको थियो ।
सोही कारण जेठ १५ गते दिउँसो ३ बजेदेखि नै विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको कम्पनीका अपरेसन म्यानेजर भोलानाथ उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
कम्पनीले उक्त प्राविधिक समस्यालाई सम्बोधन गर्न एक्सपान्सन जोइन्टको मर्मत सम्भार कार्य हाल जारी रहेको र मर्मत सकिनासाथ विद्युत् उत्पादन पुनः सुचारु गरिने स्पष्ट पारेको छ ।