विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । निजी क्षेत्रले निर्माण गर्न लागेको अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना २८५ मेगावाटको माथिल्लो तमोरमा लगानी व्यवस्थापन गरिएको छ । कुल ५५ अर्ब रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको आयोजनामा सरकारी र निजी गरी करिब एक दर्जन बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने टुंगो लागेको छ ।

लगानीका लागि नेतृत्वकर्ता एभरेष्ट बैंक लिमिटेड र आयोजना विकासकर्ता तमोर इनर्जी प्रालीबीच बिहीबार (जेठ २४ गते) एक भव्य कार्यक्रममा लगानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्रवर्द्धक कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगाना र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरे ।

आयोजनामा लगानी नेतृत्वकर्ता एभरेष्ट बैंक तथा सह–नेतृत्वकर्ता हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) सहित कृषि विकास बैंक,  राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी–सनराइज बैक, नेपाल एसबीआई बैक र गरिमा विकास बैकले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो सँगै लगानीका लागि अन्य वित्तीय संस्थासमेत जोडिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार हाल ५५ अर्ब १५ करोड रुपैयाँ लागत प्रक्षेपण गरिएको आयोजनामा ७० प्रतिशत ऋण (३८ अर्ब ६० करोड रुपैयाँ) र ३० प्रतिशत स्वपुँजी (१६ अर्ब ५५ करोड रुपैयाँ) लगानी हुनेछ । कुल लगानी अनुमानका आधारमा आयोजनाको प्रतिमेगावाट लागत करिब १९.३५ करोड रुपैयाँ हुन आउँछ । माथिल्लो तमोरमा सुपर मादीबाट हुने आम्दानीमार्फत ३ अर्ब १५ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने कम्पनीले निर्णय गरेको छ ।

जलविद्युत्मा लगानी सुरु गरेको दिन सम्झिँदै कम्पनीका अध्यक्ष ढुंगानाले भने, ‘२१ वर्ष अघि १ मेगावाटको आयोजना निर्माण गरेर दुई दशकमै यति ठूलो आयोजना बनाउन सक्ने अवस्थामा पुग्नु गौरवको विषय हो ।’ यसको पछाडि सरकारको सहयोग एवम् तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यको मुख्य भूमिका रहेको उनले बताए ।

‘बैंक वित्तीय संस्थाको आड–भरोसाकै कारण यति ठूलो आयोजनामा लगानी जुटाउन सम्भव भयो,’ उनले भने, ‘स्वदेशी पुँजी, प्रविधि र जनशक्तिबाटै बनाउन सकिने क्षमता विकास हुनु महत्त्वपूर्ण पक्ष हो । अब, स्थानीयवासीको साथ र सहयोगबाट समयभित्रै आयोजना पूरा गर्न सकिनेमा हामी ढुक्क छौँ ।’

यसैगरी, सम्झौताका क्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले आयोजनामा लगानी गर्न अन्य थप बैंकहरू जोडिने विषयमा छलफल भइरहेको बताए । ‘अब ठूला आयोजनामा लगानी गर्न नेपाली बैंकहरू पनि सक्षम भइसकेका छन्,’ उनले भने, ‘यो कामले आगामी दिनमा अझ ठूला आयोजनामा लगानी गर्न हामीलाई हौसला मिल्ने छ ।’

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री द्वय नारायणकाजी श्रेष्ठ र रघुवीर महासेठ, सांसद योगेश भट्टराई लगायतले तोकिएको समय र लागतभित्रै आयोजना पूरा गर्न सरकारको साथ रहने बताएका थिए ।

सोही क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले यति ठूलो आयोजना स्वदेशी लगानीमा, स्वदेशी निजी क्षेत्रले बनाउने हिम्मत गर्नु देशकै लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताए । ‘नयाँ विद्युत् विधेयकमा स्वदेशी निजी क्षेत्रलाई १०० मेगावाटसम्म सीमित गर्न खोजिएको छ, अब ५०० मेगावाटसम्मका आयोजना हामीले नै बनाउन सक्छौँ,’ उनले भने, ‘सो व्यवस्था गरेरमात्र विधेयक संसदबाट पास गर्नुपर्छ ।’

फक्ताङलुङ गाउँपालिकामा निर्माण हुने भूमिगत विद्युत्‌गृहबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनबाट १५ किलोमिटर टाढा निर्मित नेपाल विद्युत् प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनमा जोडिने छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाले सुक्खायामको पिकिङ समयमा प्रतियुनिट १०.५५ रुपैयाँ (आंशिक जलाशय भएको हुँदा) र औसत प्रतियुनिट ६.२७ रुपैयाँ बिजुलीको बिक्री मूल्य पाउने छ ।

माथिल्लो तमोरको प्रवर्द्धक समूहले सुरुमा पर्वत जिल्लमा १ मेगावाटको पाती खोला निर्माण गरेको थियो । त्यसपछि, पाँचथरमा १४.९० मेगावाटको हेवा खोला ‘ए’, कास्कीमा ४४ मेगावाटको सुपर मादी निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यस्तै, ३७.५ मेगावाटको तमोर–५ र २१ मेगावाटको पालुनखोला निर्माणाधीन अवस्थामा छन् ।

निजी क्षेत्र (साहास ऊर्जा लिमिटेड) ले यसअघि सोलुखुम्बुमा ८६ मेगावाटको सोलु–दूधकोसी) निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ भने स्पार्क हाइड्रोले प्रवर्द्धन गरेको १२८ मेवावाटको तमोर-मेवा निर्माणाधीन छ। यही समूहले गोरखामा ३४० मेगावाटको बूढीगण्डकी आंशिक–जलाशय आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।

कुन बैंकको कति लगानी ?

एभरेष्ट बैंक : ५ अर्ब रुपैयाँ (१२.९५%)

एचआइडिसिएल : ४ अर्ब रुपैयाँ (१०.३६%)

कृषि विकास बैंक : ४ अर्ब रुपैयाँ (१०.३६%)

राष्ट्रिय वाणिज्य बैंक : ३ अर्ब रुपैयाँ (७.७७%)

प्रभु बैंक : ३ अर्ब रुपैयाँ (७.७७%)

लक्ष्मी सनराइज बैंक : २ अर्ब रुपैयाँ (५.१८%)

नेपाल एसबिआई बैंक : १ अर्ब रुपैयाँ (२.५९%)

गरिमा विकास बैंक : १ अर्ब रुपैयाँ (२.५९%), 

कामना सेवा विकास बैंक : १ अर्ब रुपैयाँ (२.५९%)

आयोजनाको थप विवरण

आयोजना : माथिल्लो तमोर (२८५ मेगावाट)

आयोजनाको प्रकृति : आंशिक–जलाशय (दैनिक ६ घन्टा पानी सञ्चय गर्न सकिने)

प्रवर्द्धक कम्पनी : तमोर इनर्जी प्रा.लि.

आयोजना निर्माणस्थल : ताप्लेजुङ जिल्ला (फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका)

विद्युत् खरिद सम्झौता (पिपिए) : २०७९ कात्तिक

पानीको उपयोग : ८ लाख घनमिटर

मुख्य सुरुङ : ८.७ किलोमिटर

ग्रस हेड : ४५० मिटर

टर्बाइन : ५७ मेगावाटका ५ वटा पेल्टन टर्बाइन

वार्षिक ऊर्जा उत्पादन : १६५५ गिगावाट घन्टा (१ अर्ब ६५ करोड युनिट)

सुख्खायामको ऊर्जा : ४४६ गिगावाट घन्टा (४४ करोड ६० लाख युनिट)

आयोजना सम्पन्न गर्ने लक्ष्य : २०८५ साल, जेठ १९ गते 

विद्युत् उत्पादन सुरु भएको पहिलो वर्षको आम्दानी : १० अर्ब १२ करोड रुपैयाँ

मूल्यवृद्धिपछि ९औँ वर्षमा हुने आम्दानी : १२ अर्ब ५५ करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३