काठमाडौँ । राष्ट्रिय गौरव एवं प्राथमिकता प्राप्त भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण गरिने भएको छ । आयोजनाबाट उत्पादन हुने करिब ४६.८ मेगावाट विद्युत् कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा प्रवाह गर्न करिब १.७ किलोमिटर लम्बाइको, सिङ्गल कन्डक्टरसहित मल्टि-सर्किट टावर प्रयोग हुने गरी प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको हाे ।
जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका अनुसार प्रस्तावित लाइन निर्माणका क्रममा जम्मा ९ वटा टावरहरू खडा गरिनेछन् । तीमध्ये ३ वटा टावर बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा र बाँकी ६ वटा टावर सोही निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छ । प्रसारण लाइनको क्षेत्राधिकार कुल १८ मिटर रहनेछ, जस अन्तर्गत प्रसारण लाइनको केन्द्रबिन्दुबाट दायाँ र बायाँतर्फ समान रूपमा ९–९ मिटर क्षेत्र समेटिनेछ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयारीका लागि आयोजना प्रभावित क्षेत्रका रूपमा सुर्खेतको भेरीगङ्गा नगरपालिका– ५ र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीय तहहरू निर्धारण गरिएको छ ।
भेरीगङ्गा नगरपालिकास्थित चिप्ले क्षेत्रबाट बग्ने भेरी नदीको पानीलाई डाइभर्सन गरी हात्तीखाल क्षेत्रमा बग्ने बबई नदीमा खसाली कृषि प्रयोजनका लागि सिँचाइ सुविधा उपलब्ध गराउने र करिब ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने उद्देश्यका साथ यो बहुउद्देश्यीय आयोजना निर्माण भइरहेको छ ।
प्रसारण लाइन आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाताका रूपमा नियुक्त गरिएको छ ।
प्रसारण लाइन आयोजनाले प्रभाव क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा पर्न सक्ने प्रभावहरू यकिन गर्न सरोकारवालाहरूसँग ७ दिनभित्र लिखित राय सुझाव माग गर्दै आयोजनाले मंगलबार सूचना जरी गरेकाे छ ।