काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरण आयोजन व्यवस्थापन निर्देशनालयले बुटवल–लमही ४०० केभी प्रसारण लाइन निर्माणलाई तीव्रता दिन एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आयोजनाको वातावरणीय अध्ययन, वनको जग्गा उपयोग तथा रुख कटान सहजीकरणका लागि उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा आयोजनाको वर्तमान अवस्था, वातावरणीय अध्ययन (आइइई), वन क्षेत्र प्रयोग अनुमति तथा रुख कटान प्रक्रियासम्बन्धी कानुनी तथा प्राविधिक पक्षहरूबारे विस्तृत प्रस्तुति गरिएको थियो । आयोजनाको उद्देश्य र अन्तर्क्रियाको औचित्यबारे प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका उप–कार्यकारी निर्देशक दुर्गानन्द बडियैतले प्रकाश पारेका थिए । आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले प्रसारण लाइनको प्रगति, मार्ग परिवर्तन गरिएका संवेदनशील क्षेत्रहरू तथा आगामी कार्यतालिकाबारे आफ्नो प्रस्तुतीमार्फत जानकारी गराएका थिए ।
निर्देशनालयका अनुसार उक्त प्रसारण लाइन करिब १६० किलोमिटर लम्बाइको हुनेछ । यसले नवलपरासी पश्चिमको नयाँ बुटवल सबस्टेसनदेखि दाङको लमहीसम्म जोड्ने छ । प्रसारण लाइन रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची लगायत जिल्लाबाट भएर जाने छ । आयोजना एडिबीको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हो ।
कार्यक्रममा एडिबीका प्रतिनिधिहरूले ‘सेफगार्ड’ नीतिअनुसार वातावरणीय तथा सामाजिक सुरक्षाका मापदण्डहरूबारे प्रकाश पारेका थिए । साथै, पूर्व स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन (आइइई) मा केही संवेदनशील क्षेत्रहरू (पुरातात्त्विक स्थल, गिद्ध वासस्थान र आहार केन्द्र) समेटिएको कारण मार्ग परिमार्जन गरी पुनः अध्ययन भइरहेको जानकारी दिइयो ।
प्राधिकरणले आयोजनाको कार्यान्वयनलाई तीव्रता दिन वन क्षेत्र उपयोग र रुख कटान अनुमतिलाई द्रुत प्रक्रियामार्फत अघि बढाउन सरोकारवालाबीच साझा समझदारी आवश्यक रहेकोमा जोड दिएको थियो । आयोजनाको निर्माणअघि नै ‘साइट’ हस्तान्तरण सुनिश्चित गर्ने रणनीति पनि प्रस्तुत गरिएको थियो । यसले निर्माण अवधिमा ढिलाइ र लागत वृद्धि न्यून गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा सहभागी वन अधिकारीहरूले कानुनी प्रक्रिया पालना गर्दै वातावरणीय सन्तुलन कायम राख्नुपर्नेमा जोड दिएका थिए । छलफल सत्रमा उठेका सुझावहरूलाई समेट्दै आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता निर्देशनालयले जनाएको छ ।
नेपालको ऊर्जा आत्मनिर्भरता तथा विद्युत् निर्यात विस्तार गर्ने लक्ष्यसहित अघि बढाइएको पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइन नेटवर्क विस्तारमा यो आयोजना महत्त्वपूर्ण रहेको प्राधिकरणका उप–प्रबन्धक विश्वरञ्जन मिश्रले बताए ।
कपिलवस्तुस्थित चन्द्रौटामा आयोजित कार्यक्रममा संघीय तथा प्रदेशस्तरीय वन तथा वातावरण मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालयका प्रमुखहरू, एसियाली विकास बैंकका प्रतिनिधि तथा प्राधिकरणका पदाधिकारीहरूको सहभागिता थियो ।