काठमाडौँ । नेपाली काँग्रेसको जारी १५औँ महाधिवेशनमा देशको ऊर्जा विकास, नीति निर्माण र प्राविधिक क्षेत्रमा विशिष्ट पहिचान बनाएका विज्ञ तथा इन्जिनियरहरूले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मुलुकको आर्थिक समृद्धिको मुख्य आधार मानिने जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका प्रा.डा. गोविन्दराज पोखरेल, डा. मुकेशराज काफ्ले, इन्जिनियर द्वय निर्मला लामा (चन्द) र रोहित पौडेल केन्द्रीय समितिमा पुग्न प्रतिस्पर्धामा उत्रिएका हुन् । विज्ञता, पेसागत दक्षता र राजनीतिक अनुभवलाई जोड्दै पार्टीको नीति निर्माण तहमा योगदान पुर्याउने उद्देश्यका साथ उनीहरूले उम्मेदवारी दिएका छन् ।
प्रा.डा. गोविन्दराज पोखरेल
योजना, पुनर्निर्माण र ऊर्जा नीतिका अनुभवी पोखरेल नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आबद्ध नेता हुन् । प्यूठानको ऐरावती गाउँपालिका (घुइवाङ) स्थायी ठेगाना भएका उनी २०२३ साल माघमा रस्पुरकोटमा जन्मिएका हुन् । ग्रामीण ऊर्जा प्रविधि तथा सीप विस्तारमा स्नातकोत्तर र ऊर्जा अर्थतन्त्र तथा नीति विषयमा विद्यावारिधि गरेका उनलाई ऊर्जा र विकास नीतिका प्रणेता पनि मानिन्छ ।
उनी २०६२ देखि २०७० सालसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक, पूर्वप्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा १६ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र २०७२ को विनाशकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) जस्ता उच्च कार्यकारी जिम्मेवारीमा सफलतापूर्वक काम गरिसकेका व्यक्ति हुन् ।
२०७४ सालदेखि सक्रिय राजनीतिमा संलग्न रही प्यूठानबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पोखरेल यस महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका छन् । उनी काँग्रेसलाई समस्या सुन्ने मात्र नभई समाधान सिर्जना गर्ने र हरेक गाउँलाई उद्यमको केन्द्र बनाउने नीतिगत ढाँचामा ढाल्नुपर्ने विचार राख्छन् ।
डा. मुकेशराज काफ्ले
जलविद्युत् इन्जिनियरिङ र व्यवस्थापनका पोख्त नेता महोत्तरी खयरमाराका स्थायीबासी काफ्ले जलविद्युत् इन्जिनियरिङमा विद्यावारिधि गरेका विज्ञ हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व-कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालिसकेका उनी देशको ऊर्जा व्यवस्थापन र जलविद्युत् विकासका क्षेत्रमा चर्चित छन् ।
२०५० को दशकदेखि नै प्राविधिक विद्यार्थी राजनीति र पेसागत राजनीतिमा सक्रिय उनी नेपाली काँग्रेस निकट इन्जिनियरको संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’ (सिडेन) का संस्थापक सदस्य तथा पूर्व नेतृत्वकर्ता हुन् । नेपाली काँग्रेसका तर्फबाट २०८२ को प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं. १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले १५औँ महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
ऊर्जा तथा जलविद्युत् क्षेत्रमा निरन्तर विचार तथा लेखहरू प्रकाशन गर्दै आएका उनले समृद्ध, सुखी र न्यायपूर्ण नेपाल निर्माणका लागि पेसागत दक्षतालाई राजनीतिमा जोड्नुपर्नेमा जोड दिएका छन् ।
निर्मला लामा (चन्द)
जलविद्युत् प्रवर्द्धन र महिला नेतृत्वको प्रतिनिधित्व नेपालका जलविद्युत् प्रवर्द्धक तथा विज्ञहरूको छाता संस्था 'नेपाल हाइड्रोपावर एसासिएसन' (एनएचए) को महासचिवमा कार्यरत इन्जिनियर लामा लामो समयदेखि जलविद्युत् विकास, दिगो ऊर्जा र ऊर्जा क्षेत्रमा महिला सहभागिता अभिवृद्धिमा क्रियाशील छन् । विभिन्न निजी तथा सामुदायिक जलविद्युत् आयोजनामा प्रवर्द्धक तथा सञ्चालकका रूपमा संलग्न उनी ऊर्जा क्षेत्रको नीतिमार्फत व्यवसायीकरण र सुधारका लागि लगातार आवाज उठाउँदै आएकी उद्यमी हुन् ।
नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहेकी लामाले १५औँ महाधिवेशनमा पेसागत (महिला) कोटाबाट केन्द्रीय कार्यसमितिको सदस्य पदमा उम्मेदवारी दिएकी छन् । 'राजनीतिबिना दिगो विकास सम्भव छैन' भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएकी उनले जलविद्युत्, प्राविधिक तथा पेसागत क्षेत्रका महिलाहरूको तर्फबाट पार्टीको नीति निर्माण तहमा प्रभावकारी प्रतिनिधित्व गराउने लक्ष्य राखेकी छन् ।
रोहित पौडेल
खोटाङमा जन्मिएका इन्जिनियर पौडेलले विद्यार्थी जीवनदेखि नै आफ्नो अध्ययन र व्यावसायिक यात्रा काठमाडौंलाई केन्द्र बनाएर अघि बढाएका हुन् । विद्यार्थी अवस्थादेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय उनले सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउँदै आएका छन् ।
ऊर्जा तथा जलविद्युत् क्षेत्रप्रति विशेष रुचि राख्ने पौडेलले अध्ययनपछिको व्यावसायिक यात्रामा विभिन्न कम्पनीमा रहेर यस क्षेत्रको विकाससँग सम्बन्धित काममा अनुभव हासिल गरेका छन् । जलविद्युत् विकास, ऊर्जा क्षेत्रका अवसर तथा चुनौती र यस क्षेत्रको समग्र विकास प्रक्रिया नजिकबाट बुझेर अध्ययन गरेका छन् ।
ऊर्जा क्षेत्रमै सक्रिय रहँदै आएका उनी करिब दुई वर्ष नेपाल विद्युत् प्राधिकरणको सञ्चालकको जिम्मेवारीमा रहे । त्यहाँ रहँदा उनले विद्युत् उत्पादन, प्रसारण, वितरण तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित नीतिगत र संस्थागत विषयमा अनुभव हासिल गरेका थिए ।
विद्यार्थी राजनीतिबाट सार्वजनिक भूमिकातर्फ प्रवेश गर्दै ऊर्जा तथा जलविद्युत् विकासको व्यावसायिक क्षेत्रमा सक्रिय पौडेलको यात्रा युवा पुस्ताका लागि समेत चासोको विषय बनेको छ । ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका, लगानी विस्तार र जलविद्युत् विकासलाई थप प्रभावकारी बनाउने विषयमा उनको अनुभव र सक्रियता महत्त्वपूर्ण देखिन्छ ।
अपेक्षा
नेपालको ऊर्जा क्षेत्रको नीति निर्माण, पूर्वाधार विकास र जलविद्युत् प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएका यी विज्ञहरूको उपस्थितिले नेपाली काँग्रेसको १५औँ महाधिवेशनको चुनावी प्रतिस्पर्धालाई तीव्र बनाएको छ । उनीहरूको उम्मेदवारीले पार्टीलाई पारम्परिक राजनीतिबाट माथि उठाएर विकास, उद्यमशीलता र नीतिगत स्पष्टतातर्फ लैजान मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।